शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

अब सधैं फहराइरहने छ नेपाली झण्डा ‘ताज जुमिरा लेक टावर’ मा

आइतबार, २० पुस २०७६, १६ : ४५
आइतबार, २० पुस २०७६

काठमाडौं– जब कुनै नेपाली देशको सीमा नाघेर परदेश जान्छ, ऊ व्यक्ति मात्रैमा सीमित रहँदैन, ऊसँग देशको पहिचान पनि जोडिएको हुन्छ । संयुक्त अरब इमिरेट्स (यूएई)को शानदार पाँचतारे होटल ‘ताज जुमिरा लेक टावर्स’मा फहराइरहेको चन्द्र र सूर्य अंकित नेपाली राष्ट्रिय झण्डा यसको उदाहरण हो ।

नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैरआवासीय छोराहरूले हाँकिरहेको सीजी कर्प ग्लोबलले यूएईमा पाँचतारे होटल स्थापनामात्रै गरेनन्, त्यहाँ नेपालको राष्ट्रिय झण्डा पनि फहराए । 

विश्वका ख्यातिप्राप्त मिडियाहरूले भनेका छन्, “ताज जुमिरा लेक टावर्समा लोभलाग्दो राष्ट्रिय गौरव प्रदर्शन भइरहेको छ, जसको प्रतिनिधित्व रातो रंगमा सजिएको चन्द्र र सूर्यअंकित नेपालको राष्ट्रिय झण्डाले गरिरहेको छ । विश्वभरका मानिसको गन्तव्य रहने यस होटलमा यो झण्डा सधैं फहराइरहनेछ ।”

होटल उद्घाटनको माहोल विल्कुलै फरक थियो । यस होटलमा शुरुमा यूएईको झण्डा फहराइयो । भारतीय प्रख्यात ब्राण्ड ताजले आफ्नो देशको गौरवका लागि भारतीय झण्डा फहरायो । त्यतिबेला नेपाली अर्बपति विनोद चौधरीको मनमा गढ्यो– त्यसो भए यो होटलमा नेपाली राष्ट्रिय झण्डा किन नफहराउने ? जबकि यसका मुख्य लगानीकर्ता नेपाली छोरा हुन् । विश्वव्यापी होटल विस्तार गरिरहेका उनका छोरा राहुल चौधरीको निमन्त्रणा स्वीकार गरी विनोद होटल उद्घाटनका विशिष्ठ पाहुना बनेका थिए ।

विनोदको चाहना पूरा हुन कत्ति पनि समय लागेन । होटलको उद्घाटन नेपाली झण्डा फहराएरै भयो । र, विश्वमा नेपालको पहिचान सगरमाथा, गौतम बुद्ध वा वीर गोर्खाका कारण मात्रै होइन वर्ल्डक्लास कर्पोरेटबाट पनि हुन सक्छ भन्ने सन्देश दिन सम्भव भयो ।

दुबईको ‘ताज जुमिरा लेक टावर्स’ विश्वको एकमात्र त्यस्तो पाँचतारे होटल हो, जसमा नेपालको राष्ट्रिय झण्डा फहराउँछ । सीजी कर्प ग्लोबल भन्छ, “अब सीजी हस्पिटालिटीले विश्वका जुनकुनै मुलुकमा स्थापना गर्ने होटलमा चन्द्र र सूर्य अंकित झण्डा फहराउनेछ ।”

यसको घोषणा विनोद स्वयंले पोखरा पुगेर गरेका थिए । नेपाल साहित्य महोत्सवको आठौं शृंखलामा वक्ता बनेका विनोदले यस्तो उद्घोष गरेका थिए । दुबई बाहेक कजाकस्तानमा स्थापित वाईवाईको प्लान्टमा पनि उनले नेपालको झण्डा फहराइसकेका छन् ।

“नेपाललाई विश्व बजारमा स्थापित गर्ने हाम्रो प्रयासलाई यसले ठूलो आडभरोसा दिन्छ । कुनै पनि समृद्ध मुलुकको आलिशान होटलमा नेपालको झन्डा फहराएको देख्दा नेपालीको मन गर्वले कसरी फुल्छ, मैले त्यो अनुभूत गरेको छु,” विनोद भन्छन्, “विश्वभर खुल्ने हाम्रा होटलमा यस्ता दृश्य अब सधैं देखिनेछन् ।”

ताज जुमिरा लेक टावर्स’मा लगानी गरेसँगै सीजी हस्पिटालिटीले मध्यपूर्व, युरोप र अफ्रिकी बजारलाई केन्द्रमा राखेर लगानी अगाडि अगाडि बढाएको छ । 

“यो होटल शताब्दी पुरानो भारतीय पुरातात्विक महत्व र त्यसको विरासतलाई समकालीन विश्वव्यापी सेवा र सुविधासँग जोड्ने सेतु हो,” सीजी कर्प ग्लोबलले भनेको छ, “सीजी हस्पिटालिटीले यूएईमा विलासी होटल स्थापनामात्रै गरेको छैन, व्यावसायिक मूल्य र मान्यतालाई पनि उत्तिकै मजबुत खम्बाका रूपमा ठड्याएको छ । यो होटलले यो क्षेत्रको ‘बिजनेस लग्जरी’लाई नयाँ उचाइमा पु¥याउनेछ ।”

सीजी ‘सीजी कर्प ग्लोबल’ले विश्वका २० मुलुकमा आफ्नो व्यावसायिक उपस्थिति जनाइसकेको छ । पुस्तौंदेखिको साखलाई विश्वभर स्थापित गर्न समूहले आक्रामक बजार विस्तार गरिरहेको छ । चौधरी ग्रुपलाई ‘फोब्र्स’ले नेपालको एकमात्र अर्ब डलरको कम्पनी भनेर सूचीकृत गरेको छ ।

सन् २००१ मा सीजी कर्प ग्लोबलले श्रीलंकाको ताज समुद्र र माल्दिभ्सका अन्य दुई ताज होटलमा लगानी गरेपछि सीजी हस्पिटालिटीको विधिवत् यात्रा शुरु भएको हो । 

पिताको व्यावसायिक विरासतलाई कायम राख्दै छोरा राहुल चौधरीले सन् २००६ देखि सीजी कर्प ग्लोबल र सीजी हस्पिटालिटीको जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै आएका छन् ।

सीजी कर्प ग्लोबलले १३ वर्षको अवधिमा हस्पिटालिटी क्षेत्रको विस्तार ११ मुलुकमा ४,३०० प्रतिशतले बृद्धि गरेको छ । उसले विश्वका ११ मुलुक र ८७ गन्तव्यमा १३० होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ । 

तिनमा ६,५०७ कोठा उपलब्ध छन् । राहुलले यि सबै  होटलको व्यवस्थापन हेर्छन् । सीजी कर्प ग्लोबल निकट भविष्यमै २०० होटल सञ्चालनको लक्ष्य भेटाउने योजना कार्यान्वयनमा प्रतिवद्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप