प्रादेशिक अस्पतालमा बेथिति : सरकारी काम, कहिले जाला घाम
जनकपुर । मानिसको ज्यान बचाउने पेसा अँगालेका चिकित्सकको धर्म नै बिरामीको सेवा हो । आर्थिक अभावमा पिल्सिएका, गरिब, दिन–दुःखीको उपचार गरेर सेवा गर्नु सरकारी चिकित्सकको कर्तव्य पनि हो ।
अझ आर्थिक लाभ लिएर भए पनि मान्छेको ज्यान बचाउँदा त चिकित्सक खुशी हुन्छन् नै, त्योभन्दा कयौं गुणा खुशी हुन्छन् बाँच्ने मान्छे । उनीहरुले त झन् चिकित्सकलाई त ‘जीवित भगवान’ नै ठान्छन् ।
तर यी सबै सन्दर्भहरु अचेल आदर्शमा मात्र सिमित हुन थालेका छन् । यसको ताजा उदाहरण प्रदेश नम्बर २ को अस्थायी मुकाम जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा हेरे हुन्छ ।
उपचारका लागि दैनिक ३–४ सय बिरामी आउने अस्पतालमा चिकित्सक भने हुँदैनन् । अस्पताल छ, चिकित्सकको दरबन्दी छ, छात्रबृत्ति करारमा चिकित्सक छन् तर बिरामीले चिकित्सक फेला पार्न सक्दैनन् ।
प्रायः अन्तरंग (ओपिडी) कक्ष बिरामीहरुले भरिभराउ हुन्छ । तर एक–दुई चिकित्सक बाहेक अन्य कुनै पनि विशेषज्ञ चिकित्सकहरुको अत्तोपत्तो हुँदैन । गत बुधबार झण्डै सवा ११ बजे ओपिडी कक्षको १७ नम्बर कोठामा फिजिसियन चिकित्सकहरु कोही पनि आईसकेका थिएनन् । चिकित्सकहरु कुलदीप पण्डित, सिद्धिदात्री झा, रामेश्वर महासेठ, महेश महासेठ र रामदेव चौधरी लगायतको ड्युटी रहे पनि कोही उपस्थित थिएनन् ।
बिहान ८ बजेदेखि पुर्जी कटाएर लाईन लागेका बिरामीहरु ११ बजेसम्म चिकित्सकको पखाईमा थिए । तर समयमै चिकित्सक नआउँदा कतिपय बिरामी फर्किएर नीजि क्लिनिकमा जान बाध्य भए भने कतिपय बिरामी चिकित्सक कुरेर बसिरहन बाध्य भए ।
अस्पतालमा चिकित्सकको दरवन्दी नभएको हैन । स्वास्थ्य विभागका अनुसार प्रादेशिक अस्पतालमा केहि एकआध दरवन्दी बाहेक अन्य चिकित्सकको दरवन्दी पुरा छ । तथापि अस्पतालमा डाक्टर फेला पार्नु भनेको मन्दिरमा भगवान फेला पार्नुजस्तै भएको सेवाग्राही बताउँछन् ।
चेकजाँचका लागि आएकी महोत्तरीको गौशाला नगरपालिका–१ निवासी सृजना सिंहले भनिन्, ‘सरकारी काम, कसरी जाला घाम भन्ने उखान जनकपुर प्रादेशिक अस्पतालमा लागू भएको छ ।’ उनले भनिन्, ‘८ बजेदेखि नै बिरामीको लाइन छ, तर अस्पतालमा कतै डाक्टर फेला पर्दैनन्, बिरामी आउँछन्, भएका नर्सले उनीहरुलाई हेरे भने हेरे, नत्र उनीहरु निजी अस्पताल नै जान बाध्य हुन्छन् ।’
सरसफाइ, सेवाग्राहीका लागि सुविधाजस्ता विषयमा अस्पताल प्रशासनले ध्यान नदिने, चिकित्सकहरु ड्युटीमा नभेटिने परिस्थिति एकातिर छ भने अर्कोतिर ईन्टर्नमा आउने विद्यार्थीसँगसमेत रकम लिने गरिएको छ ।
गरिव दीन–दुःखीको उपचारमा बसेर अस्पतालका डाक्टरलाई केही फाईदा नहुने तर निजी क्लिनिक र प्राइभेट अस्पतालमा थप आम्दानी हुने साथै सरकारी अस्पतालमा हाजिर गरेर टाप कस्न पाईने भएकाले अस्पतालमा डाक्टरको अभाव हुने गरेको स्थानीय सुशील कर्णको भनाइ छ । उनले भने, ‘अस्पतालमा पुगेका विरामीले डाक्टर खै भनेर सोधेमा नर्सहरुले उल्टै थर्काउँछन्, तपाईलाई उपचार गर्नुछ कि डाक्टर खोज्नुछ भनेर गाली गर्छन् ।’
इन्टर्न विद्यार्थीको भरमा ल्याव तथा सिएम, एचएको भरमा प्रादेशिक अस्पताल चल्दा पनि विकास समिति र प्रदेश मन्त्रालय बेखबर भएको धनुषा मिथिला नगरपालिका–८ का विश्वास बलम्पाकीले बताए । उनले भने, ‘सरकारी अस्पतालमा समस्या धेरै छ, हल कसरी गर्न भन्ने सोच कसैमा छैन, जसलाई समस्या परेको छ, उसले बोल्ने ठाउँ छैन जसले समस्या समाधान गर्नुपर्ने हो, उसलाई वास्तै छैन, अनि समस्याको हल कसरी होस् ?’
महोत्तरीको बर्दिबासस्थित जनसेवा रारा प्राविधिक कलेजबाट सिएमए अध्ययन गरेर प्रादेशिक अस्पतालमा ईन्टर्न गर्न आएका कविकुमार महतोले शुल्क तिरेरमात्र ईन्टर्न गर्न दिने अन्यथा राखिएको गुनासोसमेत गरे । उनले भने, ‘मेडिकल सुपरिटेण्डेन्ट नागेन्द्र यादव र बिकास समिति अध्यक्ष संजय सिंहले म र मेरा साथीहरुलाई हप्ता दिनसम्म थन्क्याएर राखे, अन्तिममा अस्पतालका लागि पैसा दिने कलेज र विद्यार्थीलाई मात्र दिइने भन्दै हामीलाई ईन्टर्न गर्न दिएनन् ।’
प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष संजय सिंहले समेत अस्पतालले सम्झौताका गरेको तथा रकम दिने विद्यार्थीलाई मात्र ईन्टर्नका लागि लिईने स्विकार गरे । उनले भने, ‘अस्पतालका लागि जसले तोकेको रकम दिन्छ, उसले मात्र इन्टर्न गर्न पाउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकारको सम्पत्ति कति छ ?
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
-
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव