काँग्रेसका राष्ट्रिय सभा उम्मेदवार, जसलाई पदाधिकारी नै चिन्दैनन्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीमा ‘गुमनाम’ व्यक्तिलाई राष्ट्रिय सभा निर्वाचनको मैदानमा उतारेको छ ।
शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको संस्थापन पक्षीय पदाधिकारी बैठकले राष्ट्रियसभा निर्वाचनका लागि १६ जना उम्मेदवार चयन गरेको थियो । जसमा संस्थापनबाट १० र इतरबाट ५ जना उम्मेदवारले टिकट पाएका थिए ।
उम्मेदवार चयनका लागि पार्टी पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्न बिहीबारको केन्द्रीय कार्यसमिति बैठक र उम्मेदवार छनोटका लागि शनिबार बसेको पदाधिकारी बैठकमा इतर पक्षको उपस्थिति थिएन । यद्यपि पार्टीका उम्मेदवारलाई सहयोग गर्ने इतर पक्षले बताएको छ ।
काँग्रेसले प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा (पाँचथर), महिलामा मिना पुलामी मगर (सुनसरी) र अन्यमा राजेन्द्र घिमिरे (झापा)लाई उम्मेदवार बनाएको छ । विश्वकर्मा र घिमिरे संस्थापन निकट हुन् । पुलामी मगर इतर पक्षमा पनि डा. शेखर कोइरला समर्थक मानिन्छन् ।
यता प्रदेश २ बाट महिलामा नगिना यादव (महोत्तरी) र अल्पसंख्यक र अपाङ्गताको कोटामा भोला पन्जियार (धनुषा)ले टिकट पाएका छन् । उनीहरु दुबै जना संस्थापन पक्षमा उपसभापति विमलेन्द्र निधि समर्थक मानिन्छन् । यस्तै काँग्रेस र समाजवादीबीच प्रदेश २ मा हुने राष्ट्रियसभा निर्वाचनको ४ पदमा एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ । सोही अनुसार काँग्रेसले दुई पदमा उम्मेदवार खडा गरेको छ ।
काँग्रेसले प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा (चितवन) उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) लाई चयन गरेको छ । उनीहरु दुवै संस्थापन पक्ष निकट हुन् ।
यस्तै गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी (स्याङ्जा)र महिलामा विमला गौचन (म्याग्दी) चुनावी मैदान देखिएका छन् । रेग्मी संस्थापन निकट हुन् भने गौचन संस्थापन इतर मानिन्छन् ।
काँग्रेसले प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे (अर्घाखाँची), महिलामा गिरिजा न्यौपाने (दाङ) र अल्पसंख्यक र अपाङ्गता कोटामा मेराज हलवाई (बाँके) उम्मेदवार बनाइएको छ ।
पाण्डे नेपाली जनसम्पर्क समिति भारतका सभापति र पार्टीका आमन्त्रित केन्द्रीय सदस्य हुन् । उनी संस्थापन निकट मान्छिन् । न्यौपाने र हलवाई संस्थापन इतर निकट हुन् ।
कर्णाली प्रदेशमा महिलाबाट सावित्री पौडेल (सुर्खेत) र अन्यबाट डिल्लीराम पाठक (सुर्खेत) लाई उम्मेदवार बनाइएको छ । उनीहरु दुबै संस्थापन निकट हुन् ।
कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये दुबै जना सुर्खेतबाट नै चयन गरिएको छ । त्यो पनि उनीहरु एउटै निर्वाचन क्षेत्रका हुन् ।
यता काँग्रेस सुदूरपश्चिम प्रदेशमा महिलाबाट तुलसी देवकोटा (कैलाली) र अन्यबाट प्रताप ठगुन्ना (बैतडी)लाई उम्मेदवार बनाइएको छ । देवकोटा संस्थापन निकट हुन् भने ठगुन्ना इतर निकट मान्छिन् ।
काँग्रेसका राष्ट्रियसभा उम्मेदवार निर्वाचित हुने सम्भावना कम छ । तर, काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिएको देखिन्छ । किनभने राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । जसमा काँग्रेसको उपस्थिति कमजोर देखिन्छ ।
नेपालको संविधानको धारा ८६ (राष्ट्रिय सभाको गठन र सदस्यहरूको पदावधि) मा गोलाप्रथाबाट सदस्यको पदावधि तोकिने व्यवस्था छ । धारा ८६ उपधारा ३ मा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिने उल्लेख छ । सोही अनुसार स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभाका ५९ जना सदस्यले ०७५ असार ४ गते गोला थुतेका थिए ।
गोलाप्रथा अनुसार दुई वर्षमात्र कार्यकाल हुनेमा १९ जना सदस्य थिए । सोही अनुसार सत्तारुढ नेकपाका ८, काँग्रेसका ७ , राजपाका २ र समाजवादीका १ सदस्यको कार्यकाल फागुन २० गते समाप्त हुँदैछ । जसका लागि निर्वाचन हुन लागेको हो । यस्तै राष्ट्रपतिबाट मनोनित युवराज खतिवडाको पनि फागुन २० मै कार्यकाल सकिँदैछ ।
यसअघि एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणालीबाट मतदान भएको थियो ।
यतिबेला बहुमतीय निर्वाचन प्रणालीका आधारमा उम्मेदवार निर्वाचित हुनेछन् । साथै प्रदेशगत रूपमा प्रत्येक समूहबाट एक– एक जना मात्रै चुनिने भएकाले बहुमत ल्याउने उम्मेदवारले चुनाव जित्नेछन् । काँग्रेसको कुनै प्रदेशमा पनि बुहमत छैन । काँग्रेसले समाजवादीसँग तालमेल गरिएको प्रदेश २ मा पनि नेकपा–राजपा गठबन्धनको बुहमत छ ।
नेकपा– काँग्रेसको मतान्तर
प्रदेश १ मा ९३ जना प्रदेश सांसद छन् भने २ सय ७४ स्थानीय तहका प्रमुख र उपप्रमुख छन् । जसमा नेकपाका ६६ जना सांसद र १ सय ७० प्रमुख– उपप्रमुख छन् । काँग्रेसका प्रदेशसभा सदस्य २१ र ९६ जना स्थानीय तहका प्रमुख–उपप्रमुख छन् ।
प्रदेशसभामा समाजवादी ३, राप्रपा १, संघीय लोकतान्त्रिक मञ्च १ र स्वतन्त्र १ छन् । राप्रपा र समाजवादीका ४–४ जना मतदाता छन् । प्रदेश १ मा नेकपा र काँग्रेस बाहेकका उम्मेदवार छैनन् । यद्यपि नेकपाबाहेकका मतदाताले काँग्रेस उम्मेदवारलाई मतदान गरेपनि विजयी हुने सम्भावना छैन । उक्त प्रदेशबाट महिला १, दलित १ र अन्यबाट १ जनाका लागि चुनाव हुँदैछ ।
प्रदेश २ मा नेकपा–राजपा गठबन्धन र काँग्रेस–समाजवादी पार्टीबीचको गठबन्धन चुनावी मैदानमा छ । प्रदेश २ मा पनि नेकपा र राजपाबीचको गठबन्धनसँग बहुमत छ ।
प्रदेशसभाका १ सय ७ सदस्यमध्ये राजपाका २५ र नेकपाका ३२ जोड्दा ५७ मत एक ठाउँमा भएको छ । स्थानीय तहका कुल २ सय ७२ प्रमुख–उपप्रमुख मध्ये नेकपाका ८३ र राजपाका ५४ जोड्दा १ सय ३७ पुग्छ ।
यता काँग्रेसका १९, समाजवादीका ३० प्रदेश सांसद छन् । स्थानीय तहमा काँग्रेसका ८१, समाजवादीका ५२, जनता दलका २ जना प्रमुख–उपप्रमुख छन् । महिला, अल्पसंख्यक, अन्य र दलित समूह गरी ४ जना पदमा निर्वाचन हुन लागेको हो । यहाँ पनि तत्कालको अंकगणितमा नेकपा– राजपाको पल्लाभारी देखिन्छ ।
प्रदेश ३ मा प्रदेशसभाका १ सय १० सिटमा ८० जना नेकपाका छन् । स्थानीय तहका २ सय ३८ मध्ये १ सय ६६ नेकपाका प्रमुख–उपप्रमुख छन् । प्रदेशसभामा काँग्रेसका २२, राप्रपाका १, साझा १, विवेकशील २, समाजवादीका १, नेमकिपाका २, राप्रपा (सयुक्त) का १ जना छन् ।
स्थानीय तहमा काँग्रेसका ६७, राप्रपा २, नेमकिपा २ र समाजवादीको १ जना प्रमुख–उपप्रमुख छन् । प्रदेश ३ मा १ जना महिला र १ जना अन्य समूहका गरी दुई पदका लागि चुनाव हुन लागेको छ । उक्त प्रदेशमा पनि नेकपाको प्रष्ट बहुमत देखिन्छ ।
गण्डकी प्रदेश सभाका ६० सदस्यमध्ये ३९ जना नेकपाका छन् । स्थानीय तहका १ सय ७० मध्ये ८२ जना मतदाता नेकपाका छन् ।
प्रदेशसभामा काँग्रेसका १५, समाजवादीका २, राष्ट्रिय जनमोर्चाका ३ र स्वतन्त्र १ जना छन् । स्थानीय तहमा कँंग्रेस ८१, राप्रपा २, जनमोर्चा ३ र स्वतन्त्र २ जना छन् ।
स्थानीय तहमा काँग्रेस–नेकपाको मत बराबरी देखिए पनि प्रदेशसभा सदस्य र स्थानीय तहको मतभार ३० ले फरक रहेकाले नेकपा सहज बहुमतमा छ । राष्ट्रिय सभामा रिक्त हुने महिला र अन्य समूहबाट १–१ जनाका लागि चुनाव हुँदैछ ।
प्रदेश ५ मा कुल ८७ प्रदेशसभा सदस्यमध्ये नेकपाका ६१ जना छन् । स्थानीय तहका २ सय १८ प्रमुख–उप्रमुखमध्ये नेकपाका १ सय ३१ जना छन् । यता प्रदेशसभामा काँग्रेसका १९, समाजवादीका ५, राजपाका १ र जनमोर्चाका १ जना छन् ।
स्थानीय तहमा काँग्रेसका ६४, समाजवादीका १२, जनमोर्चाका ४, स्वतन्त्र ३, राप्रपाका २, फोरम (लोकतान्त्रिक) का २ जना प्रमुख– उपप्रमुख छन् । प्रदेश ५ मा महिला, अल्पसंख्यक र अन्य समूहबाट १–१ जनाका लागि निर्वाचन हुँदैछ । यता पनि नेकपाको सहज बहुमत देखिन्छ ।
कर्णाली प्रदेश सभाका कुल ४० सदस्यमध्ये ३३ जना नेकपाका छन् । प्रदेशसभामा काँग्रेसका ६ र राप्रपाका १ जना छन् । स्थानीय तहका १ सय ५८ जना प्रमुख–उपप्रमुखमध्ये नेकपाका १ सय १० र काँग्रेसका ४० जना छन् । राप्रपाका २ र स्वतन्त्रका ६ जना छन् ।
यहाँ महिला र अन्य समूहबाट १–१ जनाका लागि चुनाव हुँदैछ । यहाँ नेकपाको भारी बहुमत देखिएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका ५३ मध्ये ३९ सदस्य नेकपाका छन् । स्थानीय तहका कुल १ सय ७६ प्रमुख–उपप्रमुख कमध्ये १ सय २ जना नेकपाका छन् । प्रदेशसभामा काँग्रेसका १२ र राजपाका २ जना सदस्य छन् ।
स्थानीय तहमा काँग्रेसका ७४ प्रमुख–उपप्रमुख रहेका छन् । यहाँ महिला र अन्य समूहबाट १–१ सिटका लागि हुन लागेको चुनावमा नेकपाले सहजै बहुमत ल्याउने देखिन्छ ।
पदाधिकारीले ‘नचिनेका’लाई टिकट
यो अंकगणितबारे जानकार काँग्रेस नेताहरुले पराजय ‘निश्चित’ जस्तै देखेपछि पार्टीमा ‘गुमनाम’ व्यक्तिलाई अघि सारेको देखिन्छ । यतिसम्म कि केही उम्मेदवारबारे पार्टी पदाधिकारीसमेत अनविज्ञ रहेको पाइयो ।
एक जना काँग्रेस पदाधिकारीले भने, ‘४– ५ लाख कार्यकर्ताबाट उम्मेदवार छनोट गरिएको हुन्छ । सबै उम्मेदवारबारे जानकारी हुँदैन । यति थाहा छ उहाँहरु काँग्रेसी हो ।’
निर्वाचन जित्ने अवस्थामा काँग्रेसभित्र उम्मेदवार छनोटमा निकै रस्सकस्सी हुने गरेको पाइन्थ्यो । तर, राजनीतिक उपस्थिति जनाउन मात्र राष्ट्रियसभा उम्मेदवार खडा गर्नुपर्ने अवस्था आएपछि इतर पक्षले बैठकमा जानसमेत आवश्यक ठानेको देखिएन ।
गएको राष्ट्रिय सभा निर्वाचनमा केही सिटमा जित सुनिश्चित हुँदा चुनाव हारेका रामचन्द्र पौडेल, विमलेन्द्र निधि र आरजु राणालगायतले राष्ट्रिय सभामा जान इच्छा देखाएका थिए ।
पार्टीले चुनाव हारेकालाई राष्ट्रिय सभामा नपठाउने नीति लिएपछि उनीहरुको संसद यात्रामा बे्रक लागेका थियो । यतिबेला भने काँग्रेसले ‘लो प्रोफाइल’ बाट सहजै उम्मेदवारको टुंगो लगाएको हो । काँग्रेसले उम्मेदवार तय गर्नका लागि सम्बन्धित प्रदेशका प्रमुख नेताहरुलाई जिम्मेवारी दिएको थियो । प्रदेश–१ मा नेता ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश–२ मा आनन्द ढुंगाना, प्रदेश–३ मा सहमहामन्त्री प्रकाश शरण महत, गण्डकी प्रदेशमा नेता गोपालमान श्रेष्ठ, प्रदेश–५ मा नेता बालकृष्ण खाण, कर्णाली प्रदेशमा नेता जीवनबहादुर शाही र सुदूरपश्चिममा नेताद्वय एनपी साउद र रमेश लेखकलाई जिम्मेवारी दिइएको थियो । जवकी विगतमा काँग्रेसमा टिकटका लागि पैसाको बिटो बोकेर नेताको ढोका–ढोका चहानुपर्ने स्थिति हुन्थ्यो ।
यतिसम्मकी हार्ने पक्कापक्की भएर नै कर्णाली प्रदेशबाट कसलाई पठाउन भन्नेबारे शाही अलमलमै परेको एक नेता बताउँछन् । जसका कारण शनिबार साँझमात्रै उनले एउटै निर्वाचन क्षेत्रबाट दुई जनालाई उम्मेदवार सिफारिस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या