बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली दूतावास लण्डनमा भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन

आइतबार, २० पुस २०७६, १३ : ४६
आइतबार, २० पुस २०७६

-नरेन्द्र बस्नेत  

लन्डन ।  ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न नेपाली दूतावास लण्डनले विशेष कार्यक्रम आयोजना गर्दै नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरेको छ ।
 नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित गत बुधबार रंगशालामा विशाल कार्यक्रम गरेको तीन दिनपछि शनिबार दिउँसो नेपाली दूतावास लन्डनले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत एवं भ्रमण वर्ष उच्चस्तरीय मूल समिति बेलायतका अध्यक्ष डा दुर्गा बहादुर सुवेदीले बेलायतबाट कम्तीमा १ लाख पर्यटक नेपाल पठाउने आफ्नो योजना सफल बनाउन सबैमा आग्रह गरेका छन् ।

राजदूत डा. सुवेदीले बेलायतको चारैवटा राज्य र आयरल्याण्डमा समेत पर्यटन प्रबर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम गरिने र भिसा तथा पासपोर्ट सम्बन्धी कामको लागि घुम्ती सेवालाई अझ बढी सरल र प्रभावकारी बनाइने बताएका छन् ।

 नेपाल भ्रमणमा जानेहरुको सुविधालाई मध्यनजर गर्दै दूतावासको प्रशासनिक क्षेत्रमा सुधार गर्दै ‘एकै दिन एकै छिन’ को व्यवस्था लागू गर्दै भिषा लगायतका सम्पूर्ण कार्यहरु एकैदिनमा मात्र नभई एकै छिनमा गर्ने प्रतिवद्धता समेत राजदूत सुवेदीले गरेका छन् । 

दूतावासका कारण कसैलाई पनि समस्या नपरोस भन्ने उद्देश्यले बिदाको दिनमा समेत काम गर्न दूतावास तयार रहेको उनले बताए । सन् २०१८ मा ६३ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेकामा सन् २०१९ मा करिब ६५  हजार बेलायती पर्यटक नेपाल घुम्न गएको तथ्यांक छ । सन् २०२० मा यो संख्या बढाएर कम्तिमा १ लाख पुर्‍याउने दूतावासले जनाएको छ ।

भ्रमण वर्ष सफल पार्न दूतावासको संयोजनमा गतवर्ष १९ जनवरीमा उच्चस्तरीय मूल समिति गठन गरिसकिएको छ । त्यसैगरी सोही मूल समिति अन्तर्गत यहाँका स्थानीय नेपाली समुदाय अन्तर्गतका विभिन्न क्षेत्र, भूगोल,पेशा, जाति आदिलाई समेटेर ११ अप्रिल २०१९ मा २२ वटा समितिहरुको समेत गठन गरेको थियो ।

नेपाल भ्रमण वर्षलाई सफल पार्न गठित कमिटीहरुले गरेका क्रियाकलापहरु र भावी योजनाहरुको बारेमा सबैले आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए ।  पर्यटन क्षेत्रलाइ मात्र नभएर कला-संस्कृति, भाषा, भेषभूषा, नाटक संगीत, चलचित्र, तथा नेपाली खानालाई समेत प्रवर्धन गर्न दूतावासले जोड दिंदै आएको छ ।

 नेपाल भ्रमण वर्ष उच्चस्तरीय मूल समिति बेलायतका सदस्य सचिव तथा लन्डन दूतावासका प्रवक्ता शरदराज आरनले दूतावासद्वारा गठित उच्चस्तरीय मूल समिति तथा सो समिति अन्तर्गतका कमिटिको बारेमा प्रकाश पारेका थिए । 
समितिहरुलाई दूतावासको समन्वयमा आ-आफ्नै ढंगले कार्यक्रम तथा योजना तर्जुमा गर्ने आवश्यकता अनुसार दूतावासले आवश्यक सहयोग गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप