केन्द्रीय संस्करण

भ्रमण वर्ष : एक उत्सवका रूपमा

person explore access_timeपुस २०, २०७६ chat_bubble_outline0

‘अतिथि देवो भवः’ मूल मर्ममा भ्रमण वर्ष एउटा उत्सव हो– नेपालका लागि । चाहे सांस्कृतिक गरिमाका कोणबाट या प्राकृतिक रूपमा । अङ्ग्रेजी नयाँ वर्षको प्रारम्भसँगै नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भएदेखिको हिउँ खेल्ने, पदयात्रामा रम्नेदेखि प्राकृतिक उतारचढावको ठाउँठाउँको दृश्यावलोकनले एउटा उल्लासमय परिवेश बनिरहेको प्रतीत हुन्छ । यो अवसरमा नेपाली जनमानसमा एउटा पर्वको उत्साहलाई आआफ्नै मान्यता अनुसार अनुभूति दिलायो । नेपालका लागि पुसको हिउँदे महिना अनि विदेशीलाई नयाँ वर्षमा घुम्ने रहरको रन्को पनि दुवै मिलेको समय छ ।  
 

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश पैmलाऔँ’ भन्ने नारालाई लिएर प्रदेश ५ ले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको उत्साह गाँसिएको छ । २० लाख पर्यटक भित्र्याउने सम्भाव्यतालाई नेपालमा दक्षिण एसियाली खेल (साग) को आयोजनादेखि चीनका राष्ट्रपति लगायत विभिन्न देशका विशिष्ट व्यक्तिहरूको आगमनले थप ऊर्जा प्रदान गरेको छ । नेपालभित्र र बाहिर प्रचार प्रसारमा देखिएको बहारले एउटा आशाको दियो बलेको छ । विभिन्न देशसँग भएका सम्झौता, प्रचार तथा समाचार प्रसारण, पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका राजदूतसँग भएका छलफल र तयारी लगायतका विषयका साथमा नेपालका सबै सरकारले देखाएको ससानो जाँगरलाई हेर्दा लक्ष्यतर्पmको आशा बढेको पनि छ । 

    यतिखेर सातै प्रदेशमा जागेको उमङ्ग तथा जागरले यतिखेर एउटा उत्सवको रूप धारण भएको प्रतीत हुन्छ । वातावरणीय अनुकूलता लगायत पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले प्राविधिक प्रचारमा डिजिटल प्रसारको नवीन आयामलाई प्रयोग गर्नु अर्को राम्रो पक्ष देखिन्छ । 

    फोर्बस इन्कर्पोरेसनद्वारा प्रकाशित पत्रिकाले नेपाललाई विश्वमै भ्रमणयोग्य दसवटा देशमध्ये प्रथम स्थानका रूपमा चिनाउनुले त अझ उमङ्गित तुल्याइदियो । भ्रमण वर्षलाई अन्तर्राष्ट्रियकरण गर्नमा एउटा नयाँ आयामलाई प्रवाह गर्‍यो । २०१८ मा १८ लाख पर्यटकको अपेक्षा राख्दा १२ लाख मात्र आउनु तर यही साल ८ लाख बढीको अ‍ेपेक्षा सहज त पक्कै छैन तर गुणस्तरीय पर्यटन विकासमा यो सालले पृथक अस्तित्वलाई कायम गर्ने अपेक्षा गर्न सकिन्छ । कतै र्‍याफ्टिङ, कतै पर्वतारोहण कतै डुङ्गामा सयर गर्नेदेखि पर्यटन मनोविज्ञानमा रहेर सुविधा उपलब्ध गराउन यतिखेर नेपालले एउटा उत्सवका रूपमा स्थान अनुसारको आकर्षणलाई बढाइरहेका विषय सानदार छन् ।  

    करिब ९० प्रतिशतभन्दा बढी पर्यटक हवाइमार्गबाट नेपाल आउने गरेको देखिन्छ । नेपालमा आउने पर्यटकहरूलाई  कारोबार तथा मुद्रा सटहीको सहज र प्रभावकारी व्यवस्थापन, इन्टरनेटको पहुँच विस्तार, सुरक्षानीतिगत प्रभावकारिता, स्वास्थ्य सेवाको सुविधा आदिको खाँचो एक साथ आवश्यक रहन्छ । हरेक क्षेत्रले आ–आफ्नै शैलीमा पर्यटकलाई स्वागत गर्ने हो भने नयाँ शैली र सोचको विकास हुने अर्को अपेक्षा पनि गर्न सकिन्छ । पैदल यात्रा, सडक–सूचना प्रविधियुक्त स्वस्थ र स्वच्छ खाद्यान्नको व्यवस्थादेखि पुरातात्विक सम्पदाको साजसज्जामा यतिखेर सबैभन्दा बढी ध्यान दिन सक्नुपर्छ । यद्यपि सुन तस्करी, चोरी–डकैती लगायतका अन्य अनैतिक घटना पनि भ्रमण वर्षको प्रारम्भबाटै देखिनुले सचेत रहनु आवश्यक रहने देखिन्छ । 
  

 अब पुनःनिर्माणको फास्ट ट्र्याकलाई खोज्ने समय नहुँदा कम्तीमा राम्रा र योग्य स्थानतर्फ नै केन्द्रित गराउनु वर्तमान आवश्यकता हो । पर्यटकीय गन्तव्यको खोजीमा देखिएको जाँगर तथा अन्तर्राष्ट्रिय जगत्मा ११ वटा संस्थासँग संस्थागत सम्बन्ध गाँसिएका विषयले भ्रमण वर्षको उत्साहमा बल पुगेको देखिन्छ । 

    ‘दस रुपैयाँमा बासमती चामलको भात’ लगायतका विज्ञापनले त बजारै पिटेको छ । यसर्थ पनि सुविधा तथा छुटको व्यवस्थाका विषयले माग बढे मूल्य बढ्ने हुँदा माग बढाउन मूल्यलाई सहज बनाउने नीति चाहिने रहेछ । पर्यटनमन्त्री स्वयम्ले काठमाडौँका मेयरसहितको सहभागिता भएको कार्यक्रममा विभिन्न सङ्घसंस्थासँग भगिनी सम्बन्ध स्थापना गर्ने र सहकार्य गर्ने कुरा गर्नुभएको पक्ष आपैmँमा लाभदायक हो । यद्यपि काठमाडौँमा अभैm पनि टेकोको भरमा अडिएका हाम्रा संरचना पुनर्निर्माण भएका छैनन् । हरियाली वातावरणले सजिएका र प्रदूषणमुक्त वातावरणतर्पm काठमाडौँ उपत्यका लगायतका अन्य क्षेत्र दिनदिनै सतर्क रहनु अर्को अभावका कारण विश्वसम्पदा सूचीमा परेका उपत्यकाकै स्थानहरू आकर्षक छैनन् । 

नेपाल पर्यटकीय गन्तव्य किन ?
 

   विदेशमा जानेहरूले राम्रा र सुन्दर पार्क, बगैँचा अनि फूलबारीमा तस्बिर खिचेर सामाजिक सञ्जालभरि राखेको देखेपछि हामीलाई पनि लाग्छ, आहा ! कति राम्रो कला अनि सजावट ! कत्रो सुन्दर विकास ! तर, एकछिन गम्भीर भएर सोचौँ, आखिर त्यो कृत्रिम सजावटभन्दा नेपाली पाखा पखेराभित्र स्वनिर्मित कुञ्ज प्राकृतिक गुणमा रमणीयता भरिएको छैन त ! यहाँको प्रकृति कति पारङ्गत रहेछ, जसले आपैmभित्र अनुपम छटालाई हिमाल, पहाड, तराई, छाँगा, छहरा, उपत्यका, मैदान, देउराली, उकाली, ओरालीमा सुनाखरी, गुराँस फुलाएको छ । काम र व्यस्तताभित्रको हैरानीबाट छुटेर आरामको आवश्यकता महसुस हुँदा विदेशी पर्यटक हेमन्त ऋतुको नेपाली परिवेशलाई अनुकूल मान्छन् । 

    नेपाल त हरेक दिन, हरक्षण पर्यटकीय गन्तव्य हो । चाहे आन्तरिक पर्यटनको उल्लास होस् या त बाह्य । चाहे सांस्कृतिक, धार्मिक पर्यटनका कुरा आऊन् या त प्राकृतिक सौन्दर्यको विचरणको आनन्द । अझ कति अमुक पर्यटकीय स्थलहरूको खोजी भएका छैनन् होला, अझ कति कला र सौन्दर्यले मैदान पाएका छैनन् होला, कति गला र सिर्जना त्यसै मक्काइरहेका होलान् । देशले बाटो दिएर माटो चिन्नु र चिनाउनु छ । नेपालीपनमा रमाउने सम्पन्न सोचको विकास गरेर यहाँकै भाषा, भेष र पहिचानमा रम्ने नेपाली बहुलतामा धमिरा लागिरहँदा दुःख प्रकट नगर्ने, जथाभावी पश्चिमी संस्कार र संस्कृति लादेर बेवास्ता नै गरिरहने सोच र पैसे बुद्धि पनि बदलिनुपर्छ । आफ्नोपना र हरेक बहुआयामलाई उक्सिने अवसर तथा रोजगारीको वातावरण मौलिकताभित्रै हुनुपर्छ ।

    हिजो पनि नेपाल सुन्दर नभएको होइन तर जनयुद्धले त्यो अवसरलाई चुँडाइदिएछ । द्वन्द्व र राजनीतिक अस्थिरताले पर्यटन उद्योगमा पुर्‍याएको क्षतिप्रति पश्चाताप गर्ने हो भने पनि यस पटक भव्य तयारीमा लाग्नुपर्छ । यो भ्रमण वर्षको सफलताका लागि केवल पर्यटन मन्त्रालयको एक्लो प्रयासले सम्भव हुने देखिँदैन । सारा नेपालका नेपालीहरू पक्ष–प्रतिपक्ष नभनी एक हुनै पर्छ । सारा नेपालीको घर–घरसम्म पर्यटन वर्षको रौनक फैलनैपर्छ । यो एउटा उत्सवको मनोरमतामा नेपाल भाग्यमानी मुलुक हो । 

    मान्छेको दिमागभन्दा पनि उपल्लो स्थानमा सजाइएका छहरा र कुञ्जभित्र नियालौँ । डाँफे, मयूर नचाएको छ । अरू कति मैले नचिनेका वन्यजन्तुलाई सजाएको छ । अनगिन्ती पुष्प सौन्दर्यलाई स्वतः सुगन्धित तुल्याइएको छ । प्रकृतिको अनुपम भण्डार अनि विश्वकै स्वर्गको टुक्रा सायदै विश्वमै कहीँ छ भने त्यो त नेपालमै त रहेछ । भनिन्छ नि, भगवान्ले फुर्सदमा सोचेर बनाएको कुनै देश कहीँ छ भने त्यो नेपाल हो । पैसा हुनेसँग कृत्रिमताको सज्जीधज्जी होला तर प्राकृतिक सौन्दर्यलाई त संसारको दौलतले खरिद गर्न सक्दैन !

    मूलतः हिउँदको महिनामा भ्रमण, वनभोज जाने चलन हाम्रो पनि संस्कृतिभित्रै पर्छ । हामी आन्तरिक पर्यटनमा हिजोआज लगभग व्यस्त छौँ । विभिन्न विद्यालयदेखि सङ्घ, संस्थाका कर्मचारी पनि घुम्ने गरेको तथ्यलाई हेर्दा पछिल्ला समयमा बढावा भएकै देखिन्छ पनि । मानिस त आखिर प्राकृतिक उल्लासमा डुबुल्की मार्न चाहन्छ । प्रकृतिको सौम्यमा यान्त्रिकताको पट्यारलाग्दो भारी बिसाएर विलीन हुन चाहन्छ ।

    नेपालको सौन्दर्यताको अनुपम भण्डारमा मौसमको मनोरम उल्लास छ । नेपाली शैलीको आतिथ्यतामा नेपालीपनाका भेष र सांस्कृतिक झाँकी छन् । कलाको विविधता उस्तै छ अनि नेपालको अलौकिक कलात्मकतासँग गर्व नगरेर मनले शान्तिको अनुभूत तब पनि गर्न मान्दैन किनकि यो शान्तिभूमि पनि त हो । फोर्बस पत्रिकाले राखेका अनुसन्धानात्मक आधार र विश्वासलाई नेपालले इज्जत ढाक्नका लागि पनि सम्पन्न गरेर देखाउनुपर्छ । नेपालले आफ्नै माटोभित्र पर्यटन व्यवसायको सम्भाव्यताको प्रचुरतालाई खोज्ने हो भने कामदारको भिसा खुलायो भन्दै गर्व गर्ने नेतृत्वदेखि सर्वसाधारणको सङ्कीर्ण सोचलाई बदल्न सक्छ ! यो परनिर्भरताको पराकाष्ठालाई चिर्ने सामथ्र्य पर्यटन उद्योगसँग प्रशस्तै छ जसलाई यो भ्रमण वर्षले बाटो खोल्ने आशा गर्न सकिन्छ ।

    होटल व्यवसायी तयार छन्, जसले विशेष छुटको घोषणा गरिसकेका छन् । प्रहरी प्रशासनले सुरक्षाका लागि तयार भएका सुखद् समाचार छन् । होमस्टे एसोसिएसन लगायतका केही संस्थाले व्यापारिक प्रस्तावसम्मका आधारवस्तुलाई बाहिर्‍याउँदा हवाइ सेवा, यातायात तथा अन्य विशेष सेवाजस्ता ठूला–ठूला क्षेत्रमा मुलुकका अविकसित अवस्थाका समस्याबाहेक अन्य अप्ठ्यारा खासै रहेको पनि देखिँदैन । स्थानीय तथा प्रादेशिक स्थलको गन्तव्यप्रति यतिखेर स्थानीय सरकार र जनता एक भएर लाग्नुपर्छ । गाउँ–गाउँमा सम्भाव्यताको आवश्यक सजावट, सरसफाइ, शौचालय, सांस्कृतिक झाँकीका आदिका रूपमा सिङ्गो देश मौलिक कला, संस्कृति तथा सम्पदालाई प्रदर्शन गर्नु उपयुक्त हुन्छ । ताकि यहाँको साजसज्जाले विश्व समाजलाई पुनः दोहोर्‍याएर आउन अनि चिनजानका मानिसलाई नेपाल पठाउन उत्प्रेरणा मिलोस् । 

    पर्यटकका अगाडि कचौरा बोकेर वा सामान जबर्जस्ती किन्न दबाब दिएर दिक्क बनाउने कङ्गालपनाको अन्त्य हुने गरी कानुनी दायरा बनाइयोस् । अब प्रत्येक सार्वजनिक तथा अन्य यातायात, स्थलहरूमा पर्चा पम्प्लेट टाँसियून् । पर्यटन मन्त्रालयद्वारा नै विशेष प्रचार गर्ने तथा सकारात्मक प्रयास गर्ने संस्था तथा व्यक्तिका लागि विशेष पुरस्कार योजना पनि ल्याइयोस् । हाम्रो नेपाली समाजसँग जाँगर छ तर तरिका मात्र नभएको हो । यसर्थ आफ्नै स्थानीय कला र सीपको सजावटलाई सरकारले प्रदर्शन गर्ने गरी आह्वान तथा सम्बन्धित स्थानमा सजिसजाउ गरोस् । पसल नथापी व्यापार हुँदैन । तयारी नगरी लक्ष्यमा पुग्न सकिँदैन । सामान्य अवस्थाकै चापलाई धान्न मुस्किल हुने नेपालको व्यस्ततालाई व्यवस्थापन गर्नेदेखिका चुनौती समाधानार्थ विज्ञसँग बहस गरेर निचोडमा ठोस कार्य हुनुपर्छ । 

    एकातिर प्रदूषणको लाजमर्दो अवस्था अर्कातिर विमानस्थलबाटै चाप र भीडभाडको समस्या हुन सक्छ । चोरी, लुटपाटजस्ता कुनै पनि लाञ्छित घटनाले नेपाली आतिथ्यता र स्वाभिमानमा आँच आउने भयबाट मुक्त हुन सक्ने अवस्था पनि छैन । काठमाडौँ, पोखराजस्ता स्थानमा प्रशस्त चर्पी र स्वच्छ खानेपानीको समस्या पनि हुन सक्ला । मौकामा चौका हान्नेहरूले गुणस्तरहीन सामग्री बेच्ने कारणबाट अतिथिको स्वास्थ्यमा पनि त बाधा हुनुहुँदैन । हामीसँग स्थानअनुसार प्रशस्त घुम्ती शौचालय तथा सफा वातावरणको अभाव छ । बरू बाह्य पर्यटकका लागि आन्तरिक पर्यटकले भीड कम गराउन सहज बनाउने पो हो कि त ! 

    अझै मुलुकका कतिपय स्थानमा प्रभावकारी तयारी भइरहेका छैनन् । वास्तवमा दिन र रात दुवै समयमा घुम्ने डुल्ने गरी र हाम्रै सांस्कृतिक वातावरणमा रम्ने गरी वातावरण तय हुनुपर्छ । यसो भनिरहँदा एकदम हाइफाइवाला होटलमा त उनीहरू बसेकै हुन्छन् नि । हामीले त हाम्रो पहिचान देखाउने गरी हाम्रै प्रकृतिका खाना र वासस्थानको व्यवस्था मिलाए राम्रो हुन्छ । स्वास्थ्यवद्र्धक बनाउने कुरामा कसुर नछाडि हाम्रोपना सिकाउने मौकाको पनि त फाइदा लुटौँ । हामी विदेशमा जाँदा उनीहरूले तिनकै संस्कृतिमा रम्न सिकाइरहन्छन् । हामीले चाहिँ किन विदेशी परम्परा अनुरूपका शैली सिकाउने ? आखिर भ्रमण भनेको त नौलोपनाको आभासका लागि पनि त हो । 
    अझै समय छ । पर्यटकहरू खर्च गर्न बाध्य नहोऊन् बरू आकर्षित होऊन् । सन् २०१८ को तथ्याङ्क अनुसार प्रतिदिन ४४ डलर खर्च गर्ने पर्यटकीय तथ्यभन्दा १० डलर बढी २०१७ मा ५४ डलर रहेको बुझिन्छ । यसरी हेर्दा अर्थशास्त्रीय मान्यता अनुरूप माग बढ्यो भने मूल्य बढ्छ । बरू सस्तोमा प्रदान गरेर परिमाणात्मक रूपमा धेरै व्यापारको अपेक्षा राख्नुमा बुद्धिमानी होला । पर्यटकीय क्षेत्रको विकास तथा यो भ्रमण वर्षले २०२५ मा हुने आयोजनामा अझ बढी प्रभाव छोड्ने गरी तयारी गरियो भने मात्र हाम्रो देशको अर्थतन्त्रमा विशेष उन्नति होला । नेपाल आझै पर्यटकीय सम्भावनाले भरिपूर्ण मुलुक हुँदाहुँदै यस क्षेत्रमा ठोस कदम चाल्न नसकेर र यहाँको राजनीतिक अनावश्यक कलहले वर्षौंपछि धकिलिइसकेको छ । अब मुलुकमा यस्तो निर्घिणी वातावरणको अन्त्य हुने गरी कार्यविधिको प्रभावकारिताप्रति चनाखो हुनुपर्ने देखिन्छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...