बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको ९ सदस्यीय ‘हाई कमान्ड’मा अब बामदेव मात्रै संसद बाहिर

आइतबार, २० पुस २०७६, १३ : २६
आइतबार, २० पुस २०७६

काठमाडौँ । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ दल नेकपाले पुस १८ गते बसेको सचिवालय बैठकमार्फत आफ्नो पार्टीका १६ उम्मेदवार तय गर्‍यो । 

लामै रस्साकस्सीबीच १६ जना उम्मेदवार छानेको नेकपाले यसअघि अवसर नपाएका र पाउँदा पनि जनताले नपत्याएका व्यक्तिहरुलाई समेत पुनः मौका दिएर सङ्घीय संसदमा प्रवेश गर्ने ढोका खोलिदियो । 

जसमा मेयरमा निर्वाचन हारेकादेखि प्रतिनिधि सभा सदस्य पदमा जनताले नरुचाएका समेत छन् । 

गत स्थानीय तहको निर्वाचनमा कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा मेयर पदमा चुनाव हारेकी विमला घिमिरेदेखि गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा पराजित नारायणकाजी श्रेष्ठ समेतले राष्ट्रिय सभाको सांसद बन्ने अवसर पाएका छन् । 

यस पटक नेकपाबाट राष्ट्रिय सभामा उम्मेदवार बनेका सबै १६ जना निर्वाचित हुने लगभग निश्चित जस्तै छ । किनभने राष्ट्रिय सभा सदस्य पदका लागि मतदान गर्ने मतदाता स्थानीय तह र प्रदेश सभाका जनप्रतिनिधि हुन् । बहुमत मतदाता नेकपाकै छन् । नेकपाका उम्मेदवार हार्ने जस्तो देखिएको प्रदेश २ का ४ स्थानमा नेकपा–राजपा तालमेल गरेर २ दुई दुई स्थान दुवैले पक्का गरिसकेका छन् । 

गौतम मात्रै संसद बाहिर 
नेकपाको हाई कमान्ड भनिने सचिवालयमा नौ जना शीर्ष नेता छन् । केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, विष्णु पौडेल, रामबहादुर थापा, ईश्वर पोखरेल, माधव नेपाल, झलनाथ खनाल गरी ७ जना गत निर्वाचनमा निर्वाचित भएका नेता हुन् । बाँकी २ जना बामदेव गौतम र नारायणकाजी श्रेष्ठ भने गत निर्वाचनमा सांसद पदमा निर्वाचित हुन सकेका थिएनन् ।

गौतम र श्रेष्ठ दुवै गत २०७४ को संसदीय निर्वाचनमा क्रमशः बर्दिया–१ र गोरखा–२ बाट पराजित बनेका थिए । तर अब माघ नौ गतेपछि भने नेकपाको सचिवालयमा प्रवक्ता समेत रहेका श्रेष्ठ सांसदको हैसियतमा संसद भवन प्रवेश गर्नेछन् । उनी सांसद भएपछि सचिवालयका नौमध्ये ८ जना संसद भवन छिर्नेछन् भने बाँकी गौतम मात्रै संसद बाहिरै पर्नेछन् । 

त्यसो त नेकपाका नेताहरुले गौतमलाई पनि संसद भवन प्रवेश गराउने जोडबल नगरेका भने होइनन् । तर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्नेगरी संविधान संशोधन गर्नुपर्ने गौतमको अडान नै राष्ट्रिय सभाको सांसद बन्ने बाटो बाधक बनिदियो । 

हालको संविधानले राष्ट्रिसभा सदस्य मन्त्री बन्न बाटो खुला गरे पनि प्रधानमन्त्री बन्न पाउने अवसर खोलेको छैन । सबै समकक्षी प्रधानमन्त्री भइसकेकाले आफू पनि संविधान संशोधन गरेरै भए पनि प्रधानमन्त्री बन्नुपर्ने भन्ने गौतमको प्रस्तावप्रति नेकपा नेतृत्व सकारात्मक बन्न नसक्दा गौतमको संसद प्रवेशको ढोका बन्द हुन पुग्यो । यद्यपि गौतमले भने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदमा विभेद हुन नहुने भन्दै बराबरी अवसरका लागि आफूले यस्तो प्रस्ताव गरेको बताउँदै आएका छन् । 

‘एक व्यक्तिका लागि संविधान नै संशोधन गर्नुपर्छ भन्ने तर्क सही थिएन । त्यसैले उहाँको प्रस्ताव सचिवालयले अस्वीकार गर्‍यो’, एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘व्यक्तिको सहजताका लागि भन्दा पनि देश र जनताको हितका लागि संविधान संशोधन गर्नु उचित हुने भएकाले नेकपा यो निर्णय गर्नबाट पछि हट्यो ।’

चौथो प्रयास असफल
हुन त नेता गौतमको चाहना र चुनाव लड्ने क्षेत्रबारे धेरै पटक चर्चा परिचर्चा नभएको होइन । यसअघि गौतमलाई सांसद बनाउन डोल्पाका सांसद धनबहादुर बुढादेखि काठमाडौँ ७ का सांसद रामवीर मानन्धर समेतले राजीनामा गर्नेसम्मका चर्चा नचलेका होइनन् । तर यी दुवै प्रयास असफल भए ।

पछिल्लो पटक नेकपाभित्र नेता गौतमलाई कास्की–२ को प्रतिनिधि सभा सदस्य पदमा उठाउने बारेमा समेत छलफल भयो । तर जित्ने निश्चित नदेखेर गौतम आफै त्यसबाट पछि हट्न पुगे । गौतमलाई सांसद बनाउने नेकपाको यो तेस्रो प्रयास पनि असफल भएपछि सबै नेताहरुले उनलाई सांसद बनाउने उपयुक्त स्थान देखे राष्ट्रिय सभा ।

सचिवालयका सबै सदस्यले गौतमलाई राष्ट्रिय सभाको उम्मेदवार बन्न जोडबल पनि गरे । तर उनले राष्ट्रियसभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन भए मात्र राष्ट्रिय सभामा जाने सर्त राखे । गौतमको यो सर्त नेकपाका अन्य नेताहरुलाई चित्त बुझ्ने कुरै थिएन । अन्ततः नेताहरुले संविधान संशोधन नगर्ने जबाफ दिएपछि उनी आफै राष्ट्रिय सभा सदस्य नबन्ने निर्णयमा पुगे । 
पाँचाैँ प्रयास बाँकी नै !

त्यसो त नेता गौतमले आफ्नो निर्णय परिवर्तन गरे अझै पनि संसद प्रवेश गर्ने एउटा बाटो अझै खुला छ । राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनित गर्ने एक सदस्यमा गौतम जान चाहे त्यो विकल्प अझै बाँकी छ । 

त्यसका लागि गौतमले केही दिनभित्रै निर्णय गर्नुपर्ने हुन्छ । तर मनोनित सांसदका लागि पनि गौतमले चाहना देखाउने सम्भावना कम रहेको उनी निकट स्रोतले जनाएको छ । हाल अर्थमन्त्री समेत रहेका युवराज खतिवडा राष्ट्रपतिले मनोनित गरेका सांसद हुन् ।

खतिवडाको २ वर्षे कार्यकाल अन्य १८ सांसदसँगै सकिँदैछ । उनको स्थानमा गौतमले चाहना राखे अझै पनि उनलाई राष्ट्रिय सभा प्रवेशको बाटो खुलै रहेको नेकपाका एक सचिवालय सदस्यको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप