बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘खै तेरो नागरिकता ?’

आइतबार, २० पुस २०७६, १० : ५०
आइतबार, २० पुस २०७६

म उनको नाम भन्न चाहन्न । २०४७ सालको कुरा हो । सापकोटा थरका एक अधिकृत नेपालगञ्जको  सरकारी कार्यालयमा जागिरे थिए । उनको घर अर्घाखाँची ।

सापकोटाले खाना पकाउन, घरायसी कामका लागि मगर थरकी एक युवतीलाई राखेका रहेछन् । १७ वर्षकी उनको घर सुर्खेतको च्यार्कुले थियो । नाम गुड्डी थापामगर । सापकोटाको कुदृष्टि उनीमाथि पर्‍यो र नाजायज सम्बन्ध राखे ।

गुड्डीको गर्भ बसेपछि सापकोटाले केही पैसा दिएर एकजना चौधरीलाई टाँसो लगाए । चौधरीले पैसा पाएपछि ती युवतीलाई उसको घर लिएर गयो ।

त्यही चौधरीको घरमा सापकोटाको बच्चा जन्मियो । त्यो बच्चा अरू कोही थिएन । त्यो म थिएँ । ती युवती गुड्डी थापामगर मेरी आमा थिइन् ।

मेरी आमाले म पाँच वर्षको हुँदा यो संसार छोडेर जानुपर्‍यो । मेरो बाबु सापकोटा अझै जीवित छन् । तर मैले चौधरी थर प्रयोग गरिरहेको अवस्था छ । प्रमोद चौधरी । म अहिले २८ वर्षको भएँ । तर अझै नागरिकताविहीन छु । मेरी आमाले किन यो संसार छाड्नुपर्‍यो ? सापकोटाको छोरा म किन चौधरी बनिएँ ? आज सुनाउनै पर्ने एउटा बाध्यतामा परेको छु ।

म गर्भमा आएपछि चौधरीले मेरी आमालाई उसकोमा लिएर त गयो तर खुसीले लगेको थिएन । उसले पैसाको लोभले लगेको थियो ।  उसको घरमा, उसको समाजमा  त्यो बेला मेरी आमाले कति लाञ्छाना सहनु पर्‍यो होला । कति रुनु पर्‍यो होला  । त्यो म अहिले कल्पना गर्न पनि सक्दिनँ ।

पूर्वतिरका चौधरी त्यतिबेला नेपालगञ्जमा कामको सिलसिलामा आएको हुनुपर्छ । उनी नेपालगञ्जको खजुरा डि गाउँमा बस्थे । मेरो जन्म नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा भएको थियो । 

मेरो जन्मअघि नै मेरी आमाका दुःखका दिन सुरु भएका थिए । म जन्मिएपछि त्यो दुःख झन् थपियो ।

जब मेरो जन्म भयो, त्यसपछि चौधरीले हामीलाई काठमाडौँ ल्याएछ । उसले हामीलाई काठमाडौँमा छोडेर भाग्यो या के गर्‍यो केही थाहा छैन । तर हामी आमाछोरा मुम्बईमा बेचिएछौँ । कसले कसरी बेच्यो थाहा छैन । यति कुरा थाहा छ । हामी आमा छोरा चौधरीले गर्दा बेचियौँ ।


आमा भन्ने शब्दले नै मेरो मुटुमा छुन्छ । आमा शब्द सुन्नेबित्तिकै मलाई रुन मन लाग्छ । आमा शब्द सुन्नेबित्तिकै मलाई बम्बईको कोठीको याद आउँछ । त्यहाँ म रोएको कुराको याद आउँछ । उताबाट फर्केपछि नेपालगञ्ज बसेको याद आउँछ । त्यतिबेला हाम्रो स्थिति साह्रै कमजोर थियो ।


मेरो शैशवकाल मुम्बईको कोठीमा बित्यो । म चार वर्षको हुँदा कोठीमा भएका हरेक कुराहरु थाहा पाउँछु । मलाई अझै याद छ महिलाहरुको अवस्था कति दर्दनाक हुन्छ भन्ने कुरा । कति रुन्थे महिलाहरु त्यहाँ । मेरो बालमस्तिष्कले भोगेको कुरा अझै पनि ताजै छ । त्यहाँ मेरी आमासमेत हुँदा म धेरै पटक रोएको छु । ती क्षणहरु, ती पीडादायी क्षणहरु मेरो मनमा छुट्टै दर्दनाक घाउ बनेर सम्झनाका रूपमा रहेको छ ।

म पाँच वर्षको भएपछि हामी नेपाल फर्कियौँ । तर कसरी फर्कियौँ ? कसले फर्काइदियो ? मलाई केही थाहा छैन । फर्केपछि हामीलाई आमाकी दिदी, ठुलीआमाले छाप्रो बनाउन जग्गा दिनुभएको रहेछ । हामी त्यहीँ बस्यौँ ।

मेरी आमालाई समाजले नराम्रो रूपमा हेरेछ । तँ यस्तो ठाउँमा बसेर आएकी भने । नराम्रो रूपले हेर्ने भएछ । अहिले त त्यो समस्या छ भने आजभन्दा २३ वर्ष अगाडिको समाज कस्तो होला ? धेरैले छिःछिः र दुरदुर गरे । आमालाई समाजमा बाँच्ने ठाउँ नै दिएनन् । आमा विष खाने निर्णयमा पुग्नुभएछ ।

आमा शब्दले नै आँशु निकाल्छ

आमा भन्ने शब्दले नै मेरो मुटुमा छुन्छ । आमा शब्द सुन्नेबित्तिकै मलाई रुन मन लाग्छ । आमा शब्द सुन्नेबित्तिकै मलाई बम्बईको कोठीको याद आउँछ । त्यहाँ म रोएको कुराको याद आउँछ । उताबाट फर्केपछि नेपालगञ्ज बसेको याद आउँछ । त्यतिबेला हाम्रो स्थिति साह्रै कमजोर थियो ।

आमा पढेलेखेकी हुनुहुन्थेन । अनपढ हुनुहुन्थ्यो । कहिले कसको खेतमा गएर काम गर्ने, कहिले के गर्ने गरेर निक्कै दुःखसँग मलाई पाल्नुभयो । ती कुरा मलाई धेरै याद आउँछ । आफूले नखाएर मलाई खुवाउनुहुन्थ्यो ।

त्यतिबेला औषधि किन्न पैसा नभएर टाउको दुख्दा निमको पातको गोली बनाएर खुवाउनुहुन्थ्यो । म पाँच वर्षको हुँदा आमाले खाना बनाएर खुवाएको झझल्को आउँछ । खाना बनाउने बेला मेरो हातको साइँली औँला पोलेको थियो । यहाँ अझै खत छ । यो औँलामा आमाले कपडाको टुक्राले बाँधेको धेरै याद आउँछ ।

मुम्बईको कोठीबाट आएको भनेर आमालाई समाजले शिर उठाउन दिएन । कसैले पनि उहाँको दुःखपीडालाई नजिकबाट हेर्न चाहेन । त्यो बेला उहाँलाई सहयोग गर्ने, मनोपरामर्श दिने कोही थिएन् । यो समाजसँग आमा लड्न सक्नुभएन । जीवनदेखि हार खानुभयो र विष सेवन गरेर सदाका लागि छोडेर जानुभयो ।

बाल्यकाल बालगृहमा, त्यसपछि मैले बाबु खोजेँ 

पाँच वर्षको उमेरमा आमा बित्नुभएपछि केही समय म ठूलीआमाको घरमा बसेँ । उहाँको घरको अवस्था पनि राम्रो थिएन । त्यसपछि मलाई बालगृह पुर्‍याइएछ । सुर्खेतमा क्रिस्चियन धर्म सम्बन्धी एउटा संस्थाले सञ्चालन गरेको बालगृहमा राखिएछ ।

त्यो होस्टेलमा बसेर मैले पढेँ । दस कक्षा पुगेपछि मैले मेरी ठूलीआमालाई सोधेँ– ‘मेरो वास्तविक बुवा को हो ? उहाँले भलाई ढाँट्नुभयो । गाली पनि गर्नुभयो । त्यसपछि मैले उहाँलाई केही पनि सोधिनँ ।

होस्टेलको इन्चार्ज हुनुहुन्थ्यो । एसएलसी पास गरेपछि उहाँले भन्नुभयो– ‘बाबु अब हामी तिमीलाई पढाउन सक्दैनौँ । होस्टेलको अवस्था नाजुक छ । तिमी अब जवान भयौ, बाहिर बसेर काम गर अनि पढ ।’ त्यसपछि म होस्टलबाहिर कोठा भाडा लिएर बस्न थालेँ ।

त्यतिबेला मैले बिजुली वाइरिङ, प्लम्बिङ जस्ता काम गर्न थालेँ । कक्षा १२ मा पढ्ने बेला मैले मेरो बाबु हुनुहुन्छ भन्ने सुनेको थिएँ तर को हो मलाई कसैले बताएको थिएन । १२ कक्षा सकेपछि नेपालमा केही छैन भनेर इन्डिया लागेँ ।


वास्तविकता खोज्ने क्रममा मेरो बाउ सापकोटा हो भन्ने पत्ता लगाएँ । उहाँ अर्घाखाँचीको मान्छे हुनुहुँदो रहेछ । त्यतिबेला नेपालगञ्जमा अधिकृत तहमा काम गर्नुहुँदो रहेछ । सालमा उहाँको सरुवा सुर्खेतमा भएको रहेछ । अहिले उहाँ सुर्खेतमै धार्मिक संस्थामा काम गर्नुहुन्छ । उहाँका अरू दुईजना श्रीमती पनि रहेछन् । पहिलो श्रीमतीबाट एक छोरा र एक छोरी रहेछन् । दोस्रोबाट दुईवटी छोरी मात्र ।


हिमाञ्चल प्रदेशमा १ वर्ष खलासी काम गरेँ । पछि गाडी चलाउने काम गरेँ । पञ्जाव, हरियाणा, उत्तराखण्ड लगायतका ठाउँमा म गाडी लिएर जान्थेँ ।

पछि केरलामा एकजना दाजुमार्फत पुगेँ । त्यहाँ मैले क्रिस्चियन धर्मसम्बन्धी स्नातक तह पढेँ । बैङ्लोर पुगेर मास्र्टस पनि गरेँ । त्यसपछि फेरि नेपाल फर्किएँ ।

बाबु पत्ता लगाएर नागरिकता मात्र मागेँ

नेपाल आएर मैले आफ्नो बारेमा अनुसन्धान गर्न थालेँ । म को हुँ ? मेरो बाबु को हुन् ? मेरो जीवन अरूको भन्दा किन फरक भयो ? के हो मेरो वास्तविकता भनेर मनमा अनगिन्ति प्रश्नहरु जन्मिरहन्थे ।

वास्तविकता खोज्ने क्रममा मेरो बाउ सापकोटा हो भन्ने पत्ता लगाएँ । उहाँ अर्घाखाँचीको मान्छे हुनुहुँदो रहेछ । त्यतिबेला नेपालगञ्जमा अधिकृत तहमा काम गर्नुहुँदो रहेछ । ५५ सालमा उहाँको सरुवा सुर्खेतमा भएको रहेछ । अहिले उहाँ सुर्खेतमै माथिल्लो पदमा काम गर्नुहुन्छ ।

उहाँका अरू दुईजना श्रीमती पनि रहेछन् । पहिलो श्रीमतीबाट एक छोरा र एक छोरी रहेछन् । दोस्रोबाट दुईवटी छोरी मात्र ।

मैले मेरो बाबुलाई चिनेपछि फोन नम्बर खोज्न थालेँ । फोन गर्न अघि चिनेको मान्छे मार्फत म उनको छोरा भएको र नागरिकता चाहिएको कुरा खबर पठाएँ । फोन नम्बर पाएपछि मैले फोनमा सबै कुरा भनेँ ।

मैले  भने– ‘मैले सबै कुरा थाहा पाइसकेँ । मेरो बुवा तपाईं हुनुहुँदो रहेछ । मलाई नागरिकता मात्र भए पुग्छ, तपाईंको सम्पत्ति केही चाहिँदैन । म आफ्नो खुसीले मेरो जिन्दगी बिताउँछु । मलाई नागरिकता बनाइदिनुस् ।’

मैले नागरिकता मागेपछि उहाँले थर्काउनुभयो । अप्रत्यक्ष रूपमा अदालतमा आइज, अदालतले आदेश दिन्छ भने दिन तयार छु भने जस्तो गर्नुभयो ।

नागरिकता कसरी बनाउन सकिन्छ भनेर मैले चिनेका मान्छेहरु, पास्टरहरु सबैलाई गुहारेँ । उहाँहरुले पनि प्रयास त गर्नुभयो तर काम हुन सकेन ।

पछि फेरि मैले सापकोटा बाउलाई फोन गरेँ ।


उहाँलाई आफ्नो छोरा नचाहिएपछि मलाई पनि बाउ चाहिएको थिएन । मलाई उनको सम्पत्ति पनि चाहिएको थिएन । अहिलेसम्म नभएर पनि मेरो जिन्दगी चलेकै छ । मलाई नागरिकता चाहिएको थियो । जसले मेरो सारा काम रोकिएको छ । म यो उमेरसम्म पनि अनागरिक भएर बाँच्नुपरेको छ ।


उहाँले तेरो दिमाग त खराब भएको छैन भनेर फोन काट्नुभयो । त्यसपछि मेरो फोन ब्ल्याक लिस्टमा हाल्नुभयो । तीन चार महिना फोन लागेन । तर अहिले चाहिँ फोन लाग्छ तर कुरा चाहि भएको छैन ।

मलाई सम्पत्ति हैन नागरिकता चाहियो

उहाँलाई आफ्नो छोरा नचाहिएपछि मलाई पनि बाउ चाहिएको थिएन । मलाई उनको सम्पत्ति पनि चाहिएको थिएन । अहिलेसम्म नभएर पनि मेरो जिन्दगी चलेकै छ । मलाई नागरिकता चाहिएको थियो । जसले मेरो सारा काम रोकिएको छ । म यो उमेरसम्म पनि अनागरिक भएर बाँच्नुपरेको छ ।

मैले यता चौधरीको तर्फबाट पनि बनाउन कोसिस गरेँ । फेरि जिल्ला प्रशासनले चौधरी बाउ ल्याउ भन्छ । कहाँ गएर खोज्नु मैले । निकै गाह्रो भयो ।

आमाको नामबाट पनि नागरिकता बनाउन मिल्छ भने सुनेँ । आमाको नागरिकता र आमा नै नभएपछि त्यो पनि सम्भव भएन ।

मैले नागरिकताका लागि चारैतिर धाउन थालेको चार वर्ष हुन लाग्यो । धेरैपल्ट सीडीओ कार्यालय धाएँ ।

सीडीओसाबले भन्नुभयो– ‘या चौधरी बाउ खोजेर ल्याऊ, या सापकोटा बाउलाई मुद्दा हाल । जाऊ अहिले त बाउ जिउँदै छ ।’

उहाँले बाउ खोजेर ल्याउने वा बाउलाई मुद्दा हाल्ने २ वटा विकल्प दिनुभयो । बाल संरक्षणमा रहेको होस्टेलबाट पनि मैले नागरिकता नपाउने भएँ । मैले मुद्दा लड्नुपर्ने नै देखियो ।

सापकोटा बाउ माओवादी आबद्ध हुनुहुन्छ रे । उहाँको माथिल्लो ठाउँसम्म पहुँच छ रे । उहासँग मुद्दा लड्न पनि मसँग क्षमता छैन ।

मैले फोनबाट मात्रै उहाँलाई आग्रह गरेँ । राजनीतिक पहुँच भएको मान्छे झट्ट भेट्न पनि सकेको छैन ।  त्यस्तो व्यक्तिले मलाई मारिदिने हो कि भन्ने डर पनि लाग्छ । भर हुन्न नि त्यस्तो मान्छेको । मेरी आमालाई त त्यस्तो अवस्थामा पुर्‍यायो । एउटा मानवीयता नभएको त्यस्तो मान्छेसँग भेट्न डराएँ ।

मेरो चाहना मुद्दा नै नलडौँ भन्ने छ । मैले उहाँलाई कन्भिन्स गर्न खोजिरहेको छु । तपाईं मेरो बुवा हुनुहुन्छ । मेरो शरीरमा तपाईंको रगत छ भनिरहेको छु । उहाँलाई सबै इतिहास थाहा छ । थाहा हुँदा हुँदा पनि उहाँले बुझ पचाउनुभएको छ । अब फेरि एक पटक उहाँलाई भन्ने प्रयास गर्दैछु । अन्तिम उपाय भनेको त अदालतमै जानुपर्ने अवस्था छ ।

तर कसरी मुद्दा लड्ने, कति खर्च लाग्छ ? मसँग मुद्दा लड्न पैसा पनि छैन ।

मलाई कुनै मिडिया वा संस्थाले सहयोग गर्छ भने मात्र मैले नागरिकताका लागि लड्न सक्ने हो । मेरा लागि अहिले सहयोगी भनेकै मिडिया हो ।

म यही देशको माटोमा जन्मिएँ । म यही देशको हावापानीमा हुर्किएँ । तर खै किन म माथि नै एक पछि अर्को अन्याय भइरहेको जस्तो लाग्छ । म पनि त यो देशको नागरिक भएर केही गर्न सक्छु । मलाई हरेक क्षण एउटा प्रश्नले चिमोटिरहेको छ, खै मेरो नागरिकता ?

प्रमोद चौधरीसँग शम्भु दंगालले गरेको कुराकानीमा आधारित 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप