‘इरानका ५२ स्थान अमेरिकाको निशानामा’
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानका ५२ स्थानमा ‘निशाना’ बनाइरहेको दाबी गरेका छन् । ईरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि हमला गरे, उसमाथि ‘तीव्र र शक्तिशाली’ हमला गर्ने उनले चेतावनी दिएका छन् ।
ईरानका शीर्ष कमान्डर कासिम सुलेमानीको हत्यापछि राष्ट्रपति ट्रम्पको यस्तो बयान आएको हो । शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानीको मृत्यु भएको थियो । यस घटनापछि ईरानले सही समय र सही स्थानमा यसको बदला लिने धम्की दिएको थियो ।
ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘ईरान अमेरिकी सम्पत्तिमाथि निशाना बनाउने भनेर ठूलो सहास लिएर बोल्दैछ ।’
उनले इरानका लागि ‘निकै महत्त्वपूर्ण र उसको संस्कृतिका लागि अहम’ रहेका ५२ स्थानमा अमेरिकाले निशाना बनाइरहेको दाबी गरे । ‘यदी ईरानले अमेरिकामाथि हमला ग¥यो भने निकै चाँडो र शक्तिशाली हमला गरिनेछ,’ उनले भनेका छन् ।
‘अमेरिका थप धम्की चाहँदैन,’ ट्रम्पले भनेका छन् । उनका अनुसार ५२ लक्ष्यले ती ५२ अमेरिकीहरुको प्रतिनिधित्व गर्छ जसलाई सन् १९७९ मा ईरानमा एक वर्षसम्म बन्दी बनाएर राखिएको थियो ।
के भएको थियो शुक्रबार ?
इराकको बग्दादस्थित विमानस्थलको बाहिर शुक्रबार ईरानका सैन्य कमान्डर जनरल कासिम सुलेमानी अमेरिकाको हवाई हमलामा मारिएका थिए ।
सुलेमानी ईरानको बहुचर्चित कुड्स फोर्सका प्रमुख थिए । यो फोर्सले ईरानद्वारा विदेशमा भइरहेको सैन्य अभियानलाई सञ्चालन गर्ने गथ्र्यो । सुलेमानी एक गुप्तचर अधिकारी र सैन्य अधिकारीको रुपमा ईरानका लागि निकै महत्त्वपूर्ण मानिन्थे ।
ईरानका सर्वोच्च नेता आयातोल्लाह खमेनेईपछि उनलाई ईरानको दोस्रो महत्त्वपूर्ण अनुहार भन्दा पनि गलत हुँदैन थियो । अमेरिकाले सन् २००७ को २५ अक्टुबरमा नै कुड्स फोर्सलाई आतङ्कवादी संगठन घोषणा गर्दै यस संगठनसँग अमेरिकीहरुलाई कुनै पनि लेनदेन गर्न प्रतिबन्ध लगाएको थियो । अमेरिकाले सुलेमानीलाई पनि आतङ्कवादी घोषणा गरेको थियो । सयौँ अमेरिकी नागरिकको मृत्युका लागि सुलेमानी जिम्मेवार भएको अमेरिकी दाबी थियो ।
ईरान र इराकको प्रतिक्रिया
ईरानका सर्वोच्च नेता आयातोल्लाह खमेनेईले कडा शब्दमा हत्याको भत्सर्ना गर्दै भनेका छन्, ‘अमेरिकाको हमलाका लागि जिम्मेदार अपराधीहरुसँग बदला लिइनेछ ।’ उनले सुलेमानीको हत्यापछि अमेरिका र इजरायलविरुद्ध थप शक्तिसहित लडिने पनि उद्घोष गरेका छन् ।
उता, इराकमा कमान्डर अबु महदी अल मुहादिसको मृत्युको पनि शोक मनाइदैछ । हमलामा सुलेमानीसँगै मुहादिसको पनि मृत्यु भएको थियो । कमान्डर मुहादिस ईरानसमर्थित कताइब हिज्बुल्लाह समुहका प्रमुख थिए ।
अल–मायदीन टेलिभिजनका अनुसार यस समुहले शनिबार ईराकी सेनालाई आइतबार पछि अमेरिकी सैन्य ठेगानाभन्दा कम से कम एक हजार मिटर टाढा बस्न चेतावनी दिएको छ ।
उता, ईरानको धम्कीपछि अमेरिकाले मध्यपूर्वका लागि थप ३ हजार अमेरिकी सैनिक पठाएको छ । साथै, अमेरिकाले ईराकमा रहेका आफ्ना नागरिकहरुलाई चाँडोभन्दा चाँडो देश छोड्न निर्देशन दिएको छ ।
के ट्रम्पको निर्देशन गैरकानुनी थियो ?
यता, अमेरिकामा राष्ट्रपति ट्रम्पले ईरानी सैन्य कमान्डरको हत्याका लागि दिएको निर्देशन कानुनसम्मत थियो कि थिएन भन्ने बहस शुरु भएको छ । पेन्टागनले राष्ट्रपतिको निर्देशनमा उक्त हवाई कारवाही गरेको बताएको थियो । ट्रम्पका र उनका सहयोगीहरुले अमेरिकी सेनालाई हमलाबाट जोगाउनका लागि उक्त कदम आवश्यक भएको भन्दै उक्त निर्णयको बचाउ गरेका छन् ।
तर, डेमोक्र्याटहरुले भने यस निर्णयका लागि ट्रम्पले कङ्ग्रेसबाट अनुमति लिनुपर्ने भनेर प्रश्न गरेका छन् । ‘उक्त हवाई हमलाको कानुनी औचित्य थियो कि थिएन भन्नेमा विवाद छ,’ डेमोक्र्याट सिनेटर क्रिस मर्फीले शुक्रबार प्रेस कन्फरेन्समा बताएका थिए ।
‘यो ईरानले अमेरिकी सेक्रेटरी अफ डिफेन्सको हत्या गर्नुजस्तै हो । यदी ईरानले हाम्रो सेक्रेटरी अफ डिफेन्सको हत्या गरेको भए हामी त्यसलाई युद्धको हर्कत मान्थ्यौँ र त्यही अनुसार प्रतिक्रिया जनाउथ्यौँ,’ उनले भनेका थिए । यसको उत्तर ट्रम्प प्रशासनले आफ्नो निर्णयका लागि बनाएको आधारको तथ्यमा रहेको छ जुन कहिले पनि सर्वाजनिक नहुनसक्छ ।
केही विश्लेषक र कङ्ग्रेसका सदस्यहरुले १९७३ वार पावर्स एक्टको सीमा नाघेर ईरानसँग तनावको स्थितिको जोखिम निम्त्याइरहेको बताएका छन् । उक्त कानुनमा अमेरिकी सेनालाई जोखिममा पार्ने कारवाही अघि कङ्ग्रेसको अनुमति चाहिने उल्लेख छ ।
‘मध्यपूर्वमा युद्ध दुर्घटनाबाट शुरु हुँदैन,’ वासिङ्टन डिसीमा रहेको कार्निएन इन्डाओमेन्ट फर इन्टरनेशनल पिसका फेलो एरन डेभिड मिलर भन्छन्, ‘त्यसअघि केही कारवाही र गलत धारणा हुन्छन् र एक पक्षले लिएको नयाँ कदमले तनावलाई नयाँ उचाईमा पु¥याउँछ । सुलेमानीको हत्या ठ्याक्कै त्यही कदम हो ।’