राम्ररी पढेस्, नत्र हली बन्लास् !

नेपालमा ८१ प्रतिशत किसान छन् भनेर पढेको धेरै समय बितेको छैन तर समय बित्नु र नबित्नुले त्यति असर पारेको छैन, जति असर हरेक पल किसानको जुनी मरिरहेको यथार्थले पारिरहेको छ । ‘अन्नदाता’हरू हरेक वर्ष यसरी रुँदै सपना भत्काउन बाध्य हुन्छन् र पारिन्छन् । यदि हामीले पढेको तथ्याङ्क सही हो भने २० वर्षको अन्तरालमा किसानको सङ्ख्या करिब १७ प्रतिशतले घटेको देखाउँछ, यसको खास अर्थ अब ‘किसान’ हुनुमा न कुनै कमाइ छ न त प्रतिष्ठा, जुन बाध्यताको विषय बनेको देखिन्छ ।
प्रजातन्त्रको प्राप्ती र सङ्घीय लोकतन्त्रको उदयपछि सरकारमा पुगेको सबै दलका सबै नेताहरूलाई थाहा छ, नेपालको कृषि क्षेत्रमा बिचौलियाहरूको ‘रजगज’ छ । तर पनि तिनै किसानको मतको बलमा सत्तामा पुगेपछि तिनै किसान फेरि रुँदै सडकमा आउनुपर्छ । यो पटक राजधानीमै आएर रोए तराईका किसानहरू । राज्यले ‘सिंहदरबारको अधिकार गाउँमा’ पुगेको घोषणा गरेको छ तर सिंहदरबारको अधिकार पुगे पनि किसानको अधिकार चुस्नेहरू त्यही सिंहदरबारकै वरिपरि तिनै दलका नेताहरूलाई सुम्सुम्याई रहेका भेटिन्छन् । सङ्घीयताको अभ्यास भइरहेको हामीमा आफूले गरेको खेतीको मूल्य पाउन आन्दोलन नै गर्नुपर्ने बाध्यता छ । प्रदेश सरकारको काम सङ्घीय सरकारले गर्छ भनेर झन्झट पन्छाउने काम प्रदेश सरकारले गरिरहेको छ । किनकि प्रदेशको नामकरण गर्न, राजधानी तोक्न सबैको साझा बनाउनुपर्नेमा आफ्नो प्रभावको आधारमा बनाउनेहरूले किसानको मुद्दा साझा मुद्दा हो भनेर प्रदेशबाटै यो काम गराउन गरेको पहल कतै भेटिएको छैन । यो उखु किसानको मात्र समस्या होइन, यो त सारा ‘किसान’को समस्या हो, जो वास्तविक किसान को ।
इजरायलको माटोको विषयमा यहाँ खासै उल्लेख गरिरहनुपर्छ जस्तो लाग्दैन, किनकि माटो र भौगोलिक बनावट तथा धेरै मरुभूमिको कारणले साथ नदिए पनि आज इजरायल कृषि उत्पादनमा विश्वमा उदाहरणीय देशको रूपमा प्रसिद्ध छ । कृषियोग्य भनेर जम्मा २० प्रतिशत भूभाग रहेको इजरायलको करिब ३ प्रतिशत जनसङ्ख्याले देशको ९५ प्रतिशत खाद्यान्न मागलाई पूरा गरेको छ । विकासमा राम्रो फड्को मारेको जापानले कृषिमा धान खेतीलाई अति महत्त्वका साथ उत्पादन गरिरहेको छ । सरकारी नीतिको स्पष्टताका कारण कैयौँ नेपालीहरू जापान तथा इजरायलमा कृषिकै लागि पुगेका छन् । ४५ प्रतिशत जनता कृषिमा निर्भर रहेको जापान प्रविधिको प्रयोग र सिँचाइको सुविधाका कारण अगाडि बढेको छ । ३० करोडले रोजगारी पाएको चीनको कृषि क्षेत्रले विश्वका २० प्रतिशत मानिसहरूका लागि जम्मा १० प्रतिशत जमिन खेतीयोग्य जमिनबाट खाद्यान्न उत्पादन गरिरहेको छ ।
माथि उल्लेख भएका उदाहरणमा कृषिका राम्रा पक्षहरू छन्, यसको अर्थ सबै राम्रै राम्रो छ भन्ने पनि होइन । अन्य देशमा कृषकहरूले गर्ने उत्पादन, मूल्य निर्धारण जस्ता कारणले किसानहरूले नै मार व्यहोरिरहनुपर्ने अवस्था छैन । छिमेकी मुलुक भारतको एउटा तथ्याङ्कले देखाएको छ, भारतमा हरेक वर्ष हजारौँ किसानहरू आत्महत्या गर्न बाध्य हुन्छन् । कारण यही मूल्य नै हो । खुला सीमा र केही कारणले मात्र भारतमा किसानहरूको अवस्था भयावह देखिन्छ । भारतीय किसानहरूको उत्पादन विश्वका धेरै देशमा निर्यात हुन्छ, समुन्द्री पहुँचका आधारमा विशेष गरी खाडी मुलुकहरूमा र खुला सीमाका कारण नेपालमा पनि भारतीय कृषि उपज राम्रै खपत हुन्छ । उत्पादन अनुसारको बजारको अभावका कारण चिनियाँ किसानहरू पनि पीडित नहुने होइनन् । तर आक्रामक चिनियाँ बजारीकरण, कम उत्पादन लागत जस्ता कारणले चिनले आफ्नो बजारलाई अन्तर्राष्ट्रिय पहुँचमा पुर्याएको छ । इजरायलमा उत्पादन धेरै हुने कारणले कतिपय कृषि उपजहरूलाई ग्रेडिङ गरेर मात्रै बजारमा लैजाने गरिएको छ भने बाँकीलाई नष्ट गर्ने संयन्त्र विकास गरिएको छ ।
कालिमाटी तरकारी बजारको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि करिब ४५ प्रतिशत कृषि उपज भारतबाट आयात हुन्छ भने चीन र अन्य मुलुकबाट पनि कृषि उपज भइरहेको छ । नेपालमा आयात र निर्यातको सन्तुलन नहुने स्थिति, नेपाली किसानहरूको उत्पादनमा हावी हुने बिचौलिया, सरकारी नीतिको झन्झटिलो र अव्यावहारिक पक्षले नेपाली किसानलाई मार पारिरहेको अवस्था छ । यही स्थितिबाट किसानहरूको प्रगति हुने पनि देखिँदैन । पछिल्लो समय कृषितर्फ आकर्षित हुने युवाहरूको सङ्ख्या पनि बढ्दो छ तर मूल्यले पार्ने असर, बजारमा हाबी हुने बिचौलिया र उत्पादन लागतका कारण यसमा लागेका युवाहरूमा पनि निराशाका बादलहरू देखापर्न थालेका छन् ।
कृषिप्रधान देश नेपाल तर यहीँका किसानले एकाधलाई छोडेर भनेजस्तो कमाइ गर्न सक्दैनन् । अनि कृषिकै काम गर्न उद्योग प्रधान देश जानुपर्ने बाध्यता छ । कृषि क्षेत्र तुरुन्तै जग्गामा लगानी गरे जसरी कमाइ हुने क्षेत्र पनि होइन । यो धैर्य र स्थिरताको व्यवसाय पनि हो तर यसलाई खाली जीविकोपार्जनका रूपमा मात्र बुझ्ने गरिएका कारणले र प्रविधिको प्रयोग गर्न नसकेका कारण दुखिया र स्तरहीन कामका रूपमा बुझिरहेको पाइन्छ । माटोमा खेल्नुपर्ने, गोरु नै जोत्नुपर्ने, बढी श्रम गर्नुपर्ने, देख्दा कडा परिश्रम देखिने कारण नै सायद सम्भावना नदेखेरै होला, पढ्न अल्छी गर्दा अभिभावहरूले भन्ने गर्ने भाषा यही हो, राम्ररी पढेस्, नत्र हली बन्लास् !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा