बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

अनेरास्ववियूले पूर्णता पायो : केन्द्रीय कमिटी बैठक डाँकियो

शनिबार, १९ पुस २०७६, १४ : १३
शनिबार, १९ पुस २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो । 

गत जेठ ३ गते नेकपाले अनेरास्ववियूका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङलाई तोके पनि पूर्णता पाउन सकेको थिएन ।
 
यसअघि अनेरास्ववियुले जिल्ला कमिटीलाई पूर्णता दिइसकेको छ ।  साविक अनेरास्ववियूबाट १८० र क्रान्तिकारीबाट १५५ केन्द्रीय सदस्यमा अटाएका छन् । 

अनेरास्ववियूका इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल तथा संयोजक महर र सहसंयोेजक तामाङसहितको ‘फ्रयाक्सन कमिटी’को बैठकले पूर्णता दिइएको हो । 

नवगठित कमिटीमा १११ केन्द्रीय सदस्यको सचिवालय र ४५ जनाको स्थायी कमिटीसमेत गठन गरिएको छ ।

 केन्द्रीय कार्यालय कमिटीपछि तोकिने संयोजक महरले जानकारी दिए । केन्द्रीय कमिटीसँगै २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसमेत गठन गरिएको छ । 

निर्वाचन आयोगमा संयोजक भाष्कर खनाल र सचिव गजेन्द्र देव, लेखा आयोगमा संयोजक धर्मेन्द्र रोकाय र सचिव मदन भुल, अनुशासन आयोगमा संयोजक प्रविणा अधिकारी र सचिव खेम मरासिनी रहेका छन् ।

नेकपामा विद्यार्थीसँगै अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय युवासङ्घ, प्रेस सङ्गठन नेपाल, इञ्जिनीयरिङ एशोसिएशन, निर्माण व्यवसायी सङ्गठनले समेत पूर्णता पाइसकेको छ । 

अनेरास्ववियूका सहसंयोजक तामाङले पूर्णता पाएको कमिटीसहित अनेरास्ववियुको राष्ट्रिय भेला यही पुस २७ गते र  केन्द्रीय कमिटी बैठक पुस २८ गते डाँकिएको जानकारी दिए । 

अनेरास्ववियुले माघ पहिलो हप्तासम्म  प्रदेश कमिटी गठन गर्नेसमेत भएको छ । प्रदेश कमिटीमा चार प्रदेश साविक अनेरास्ववियु र तीन प्रदेशमा क्रान्तिकारीलाई पाउने सहमति भएको छ । 

उनले अनेरास्ववियूलाई पूर्णता दिएर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको तयारीमा लाग्ने बताए । अनेरास्ववियूले क्याम्पस एकाइ कमिटीलाई भने पूर्णता दिन बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप