शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोहरमैला प्रशोधन केन्द्रको निर्माण फागुनभित्रै सम्पन्न गर्न निर्देशन

शुक्रबार, १८ पुस २०७६, २२ : १२
शुक्रबार, १८ पुस २०७६

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडामा निर्माणाधीन फोहरमैला प्रशोधन केन्द्रको निर्माण फागुनभित्रै  सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन दिएका छन् ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख मदनकृष्ण श्रेष्ठलगायत उपत्यकाका १८ वटै नगरपालिकाका प्रतिनिधि र मन्त्रालयका प्रतिनिधिसहितको टोलीसहित बञ्चरेडाँडा पुग्नुभएका उनले केन्द्र निर्माणमा ढिलाइ गर्न नहुने बताए । उनले सो स्थानमा केन्द्रको निर्माणसम्पन्न भएपछि अबको सय वर्षका लागि फोहर व्यवस्थापनको समाधान हुने समेत बताए । उनले केन्द्र निर्माणका क्रममा देखिएका समस्या हल गर्दै अघि बढिने बताए ।

उनले भने, ‘उपत्यकालाई सुन्दर शहर निर्माण गर्नका लागि बञ्चरेडाँडाको भूमिका छ ।’ मानन्धरले आफू पनि यही क्षेत्रको भएकाले बञ्चरेडाँडा वरपरका स्थानीयवासीको समस्याको सुनुवाइ गर्दै कामलाई तीव्रता दिने बताए । उपत्यकाका सबै नगरपालिकाका प्रमुखसँग आफूले फोहर व्यवस्थापनसँगै पीडित जनताको आवाज सुन्न आग्रह गरेको बताउँदै उनले जनहितमा काम गर्ने बताए । उनले आफू नियमित अनुगमन र जनगुनासो सम्बोधनका लागि पाक्षिक रुपमा यस ठाउँमा आउने बताए ।

मन्त्रीसँगै बञ्चरेडाँडा पुग्नुभएका काठमाडौँ महानगरका प्रमुख शाक्य र ललितपुर महानगरका प्रमुख महर्जनले मन्त्रीको योजनानुसार काम गर्न सहयोग गर्ने वचन दिएका छन् । नुवाकोटका सांसद नारायण खतिवडाले नुवाकोटलाई काठमाडौँको फोहर फाल्ने ठाउँमात्रै बनाउन खोजिए आफूहरुलाई सह्य नहुने भन्दै जनताको हित हुनेगरी फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । 

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि सहरी विकास तथा भवन निर्माण विभागले केन्द्रको निर्माण गरिरहेको छ । उक्त आयोजनाको लागत रु ३४ करोड ६८ लाख रहेको छ । उक्त परियोजना निर्माणकै लागि सरकारले स्थानीयवासीको एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप