शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : सरकार र उखु किसानबीच पाँच बुँदे सहमति, नेकपाले छन्यो राष्ट्रियसभा उम्मेदवार

शुक्रबार, १८ पुस २०७६, १९ : ०९
शुक्रबार, १८ पुस २०७६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ७ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराइनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् । 

शुक्रबार उद्योग मन्त्रालयमा भएको छलफलमा उखु किसानको दीर्घकालिन समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारबाला निकायहरु चिनी उद्योगी, किसानको प्रतिनिधि र विज्ञहरु समत रहने गरी कार्यदल गठन गर्ने समेत सहमति गरेको छ ।


नेपाल सरकारबाट उखु किसानलाई उपलब्ध गराइने अनुदान वापको रकम किसानहरुले समयमै नपाएको गुनासोका सम्बन्धमा समयमै पर्याप्त रकम निकासको लागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने समेत सहमति भएको मन्त्रालयले जनाएको छ ।


उखु किसानहरुको भुक्तानी, चिनीको आपूर्ति लगायतका विषयमा कुनै समस्या वा गुनासो भए उखु किसान र उद्योगीहरुले तत्काल जानकारी गराउन र सोको सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखाको रुपमा तोक्ने सहमति समेत भएको छ ।


त्यस्तै काठमाडौंमा आइ आन्दोलनरत किसानहरुले आजैबाट गतिविधिहरु तुरुन्त स्थगित गर्ने सहमति भएको उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी गराए । 

मन्त्री भट्टले पहल गरेपछि उद्योगीहरुले भुक्तानी शुरु गरेको सहमतिपत्रमा उल्लेख छ । १३ वटामध्ये ३ वटा चिनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी रहेको छ ।

मौसम

काठमाडौं उपत्यका सहित देशभर शुक्रबारबाट तीन दिन वर्षा र हिमपातको सम्भावना रहेको छ । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

नेपालमा अहिले देशभरी नै सामान्य बदली भइरहेको छ । बिहीबार दिउँसो पनि काठमाडौं उपत्यकाका केही स्थानमा वर्षा भएको थियो । आज उपत्यका वरपरका डाडासहित उच्च पहाडी भूभागमा हिमपात भएको छ ।

शुक्रबार बिहान ६ बजे महाशाखाले जारी गरेको बुलेटिनमा मौसम बदली सँगै वर्षारहिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

शुक्रबार देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू(भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपात र पहाडका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी, तराईका जिल्लामा पनि चिसो बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ ।

नेकपा 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । 

शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सातै प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारहरुको नाम टुंगो लागेको बताए । 

नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको हो । निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने समय तोकिएको उनले बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार अनुसार प्रदेश नम्बर १ मा महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी आछामी र देवेन्द्र दाहाल (अन्य) को नाम टुंगो लगाएको हो । 

त्यसैगरी प्रदेश नम्बर २ मा तुलशा दाहाल (महिला), राधेश्याम पाश्वान (दलित), प्रदेश नम्बर ३ मा गंगा बेलवासे (महिला), वेदुराम भुसाल (अन्य) र गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्य) भगवती न्यौपाने (महिला) को नाम टुंगो लगाएको छ । त्यस्तै प्रदेश नम्बर ५ मा विमला घिमिरे (महिला), अपाङ्गता तथा अल्पशंख्यकबाट जगप्रसाद शर्मा, अन्यमा गोपाल भट्टराई, प्रदेश नम्बर ६ मा मायाप्रसाद शर्मा (अन्य), सुमित्रा विसि (महिला) तथा सुदूरपश्चिम प्रदेशमा तारामान स्वार (अन्य) र शारदा भट्ट (महिला) बाट उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको श्रेष्ठले बताए ।

नेकपाले प्रदेश नम्बर २ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग सहकार्य गर्ने निर्णय यसअघि नै गरिसकेको छ । एक जना (अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा ) राष्टिपतिले मनोनयन गर्नुहुनेछ । माघ ९ गते १८ राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।


पर्यटन मन्त्री 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल संधै शान्तिको पक्षमा रहेको बताएका छन् ।

शुक्रबार ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल संधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताए । उनले च्यान्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय एकवद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पु¥याउने बताए । उनले भ्रमण वर्ष २०२० को जनवरी १ देखि नेपाल भ्रमण वर्ष शुरु भएको अवस्थामा यस्तो कार्याक्रमले विश्वमा शान्तिको सन्देश दिने मात्र नभई नेपालको पर्यटन वर्षको प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताए ।

मन्त्री भट्टराईले पर्यटन वर्षको अवसरमा भगवान गौतमवुद्धको जन्मस्थल लुम्बिनिमा सरकारले अन्तर्राट्रिय बौद्ध सम्मेलन गर्ने जानकारी समेत दिए । उनले सम्मेलनले विश्वमा शान्ति स्थापना र लुम्बिनिको प्रवद्र्धनमा सहयोग पु¥याउने बताए ।

उर्जा मन्त्री पुन

उर्जामन्त्री वर्षमान पुनले सबै जलविद्युत अयोजनामा क्षतिपूर्ति दिने गरिएकाले लागत बढ्ने गरेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पुनले आयोजना प्रभावितहरुलाई मुआब्जा दिंदा लागत कम गर्न चुनौति रहेको बताए । उनले ट्रान्समिसन लाइन पर्ने जग्गामा कम्तिमा २० प्रतिशत मुआब्जा दिदा समेत जग्गा पाउन कठिन भएको बताए ।

उनले परियोजना पर्ने क्षेत्रका स्थानीयलाई शेयर दिने तथा नियमित भाडा उपलब्ध गराउने लगायतका विषयमा छलफल गरी लागत कम गर्न सकिने समेत बताए ।

लगानी बोर्ड

लगानी बोर्डले ‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरेको ५० परियोजनामध्ये १४ परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न गरी योग्य लगानीकर्ताको सूची तयार गरेको छ । 

बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरी ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको १४ वटा परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन गरी लगानीकर्ताको सूची तयार पारेको जानकारी गराएको हो ।

त्यसमध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी छनोट भइसकेको वोर्डले जनाएको छ ।

बोर्डले १० अर्ब ५४ करोड रुपैयाँ अनुमानित लागतमा भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्ब्लिङ प्लान्टका लागि कोरियाको मेट्रोक्स कम्पनीसँग सम्झौता गरेको बताएको छ । 

प्रदेश एकको दमकमा चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणका लागि ६४ अर्ब ६१ करोड रुपैयाँ लगानी गर्ने समझदारी भएको वोर्डले जनाएको छ । 

त्यस्तै विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने १३ अर्ब रुपैयाँ लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत अध्ययनका लागि दुई कम्पनीसँग सम्झौता भएको समेत वोर्डले जनाएको छ । 

सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पछिल्लो समय हेज फण्ड सञ्चालनमा आउनु र सरकारले देशकै रेटिङ गर्न लाग्नुले वैदेशिक लगानीको वातावरण बन्दै गएको बताए ।

सम्मेलनमा प्रस्ताव नगरिएका परियोजनामा प्राप्त १५ प्रस्तावहरुमध्ये १० वटा परियोजनाहरु कार्यान्वयनको लागि अध्ययनको चरणमा रहेको उनले बताए ।

पुष्पलाल राजमार्ग

पुष्पलाल मध्यपहाडी रामजमार्गको भौतिक प्रगति ४२ प्रतिशत सम्पन्न भएको छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा २२ प्रतिशत काम भएको छ । 

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आयोजना निर्देशक दीपक केसीले आयोजनामा अहिलेसम्म ४१ अर्ब खर्च भएको र पहिलो चौमासिकमा १ अर्ब ५१ करोड खर्च भइसकेको बताए । केसीले आयोजना निर्देशनालय अन्तर्गत ५ वटा आयोजना कार्यालयले काम गरिरहेको बताए ।


आर्थिक वर्ष २०७९÷८० मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म ३७७ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । ४६२ किलोमिटर अन्य आयोजनाहरुले नै पूर्ववत रुपमा कालोपत्रे गरिसकेका छन् । 

वि.स.२०५८ सालको राष्ट्रिय नीतिमा पूर्व—पश्चिम राजमार्गको विकल्पका रुपमा परिकल्पना गरिएपनि २०६४÷०६५ मा आयोजना कार्यान्वयन भएको थियो । 

प्रस्तर कला 

कच्चा पदार्थको अभावमा ढुंगाको मूर्ति बनाउने पेशा नै संकटमा पर्दै गएको छ । ढुंगाको मूर्ति बनाउनका लागि आवश्यक पर्ने ब्ल्याक लाईमस्टोन नामको ढुंगाको सहज आपूर्ति हुन नसक्दा ढुंगाको मूर्ति बनाउनेहरु समस्यामा परेका हुन् । 

चुनाको मात्रा बढी भएको ब्ल्याक लाईमस्टोन सहज उपलब्ध हुन नसक्दा ढुंगाको मूर्ति बनाउने व्यवसायमा नयाँ पुस्ता प्रवेश गर्न सकेका छैनन । 

ढुंगाको मूर्ति व्यवसायमा आवद्ध कलाकारहरु २०४६ साल पछि ढुंगाको मूर्तिमा चासो र माग बढ्दा व्यवसाय फस्टाएको भएपनि मुलुक संघीयतामा गएपछि कच्चा पदार्थकै अभाव झेल्नु परेको गुनासो गर्छन् ।

हस्तकला महासंघका पूर्व अध्यक्ष समेत रहेका कलाकार शाक्यले आफ्नै बारीको ढुंगा पनि जनताले बेच्न नपाउनु तथा कच्चा पदार्थको अभावमा ढुंगाको मूर्ति बनाउने व्यवसाय नै संकटमा पर्नु दुःखद भएको बताए ।

ढुंगाको मूर्ति बनाउनका लागि पहिले हात्तिवनको ग्वाल्ठाबाट ढुंगा ल्याउने गरिन्थ्यो । पछि फर्पिङको खार्पाबाट ल्याउन थालिएको  थियो । अहिले सो स्थानबाट पनि ढुंगा निकाल्न दिईएको छैन । गुणस्तरीय ढुंगा नपाएपछि कम गुणस्तरको ढुंगाबाट मूर्ति बनाउँदा स्तरीय नहुने र समग्र व्यवसाय नै बद्नाम हुने जोखिम पनि बढेको उनले बताए । हस्तकला महासंघका अनुसार मुलुकभर १ हजार जना कलाकारहरु ढुंगाको मूर्ति बनाउने काममा संलग्न रहदै आएका छन् । 

सिसडोल 

नुवाकोटको बन्चरे डाँडाका स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । शहरी विकास मन्त्रीसहितको बन्चरेडाँडाको अनुगमनमा गएको टोलीसँग स्थानीयहरुले आफ्ना माग पुरा गर्न आग्रह गरेका छन् ।

२ वर्षका लागि सम्झौता भएपनि १४ वर्षसम्म फोहोर फालिएको र आफुहरुसँग गरिएको सम्झौताहरु पुरा नभएको स्थानीयहरुको गुनासो छ । स्थानीय आशिष ढुंगानाले जनताको हितमा काम नगरेसम्म फोहोर फाल्न नदिने बताए ।

अर्का स्थानीय कुमार तामाङले सुरुमा सरकारी पक्षबाट एक घर एक रोजगार, स्वास्थ्य, शिक्षा लगायतका सुविधाहरु दिने कुरा भएपनि १४ वर्षसम्म केही नभएको गुनासो गरे । स्थानीय विश्वनाथ बजगाईले स्थानीयहरुको बस्ने व्यवस्था गर्न माग गरे ।

स्थानीय जनताका लागि बस्ने ठाउँ उलपब्ध नभए जनप्रनिधिहरुलाई दुःख हुने उनले चेतावनी दिए । त्यसैगरी, स्थानीयले फोहोर फाल्ने ठाउँसम्म पक्कि सडक हुने तर एक किलोमिटर परको बाटो नबन्नुको कारण के भन्दै प्रश्न गरेका छन् । 

स्थानीयहरुको गुनासो सुनेपछि शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थानीयले राखेका मागहरु पुरा गर्न प्रतिवद्ध रहेको बताए । हप्तामा एकपटक भएपनि त्यस क्षेत्रको भ्रमण गरी विकासका कामको प्रगतिका बारेमा जानकारी लिने र स्थानीयहरुका समस्या समाधानको जिम्मेवारी लिने उनले बताए ।

बन्चरेडाँडाको ल्याण्डफिल साइडलाई आधुनिक, वैज्ञानिक ल्याण्डफिल साइड निर्माणको लागि संघिय सरकारले एक अर्ब ५६ करोड रुपैयाँ बजेट छुटयाएको छ ।

शहरी विकास विभागले स्थानीयको अवरोध भएपनि आगामी फागुन पहिलो साताभित्र पूर्वाधारका सबैकाम सकेर फोहोर व्यवस्थापन सुरु गर्ने दावी गरेको छ ।

बञ्चरे 

यता सहरी विकास तथा भवन निर्माण विभागले स्थानीयको अवरोध आएपनि बन्चरे डाँडाँमा ल्याण्डफिल्ड साइडको निर्माण नरोकिने बताएको छ । शक्रबार ल्याण्डफिल्ड साइडको अनुगमन तथा निरिक्षण गर्ने क्रममा विभागका उपमहानिर्देशक पद्म मैनालीले आगामी फागुनको पहिलो साता सम्ममा पूर्वाधार निर्माणको सम्पूर्ण काम सकिने बताए । 

छिटो काम गरी वैज्ञानिक ल्याण्डफिल्ड साइड हो भन्ने नदेखाउँदा सम्म विरोध भइरहने समेत उनले बताए ।

बन्चरे डाँडाँमा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । त्यसका लागि नेप वेष्ट प्रालि. ले नुवाकोटको बन्चरेडाँडाँमा ल्याण्डफिल्ड निर्माणको काम गरिरहेको छ । 

नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि १४ वर्ष सम्म फोहोर व्यवस्थापन गरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । त्यसैले बन्चरेडाडाँमा पनि त्यही समस्या दोहोरिने आशंका स्थानीयले गरेका छन् ।

निरिक्षणका क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयको माग जायज भएकाले सम्बोधन गरेर मात्रै फोहोर व्यवस्थापन गरिने बताए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीय समस्याको समाधान नगरी काम गर्न नसकिने भएकाले कार्यतालिका बनाएर काम गर्न आफुहरु तयार रहेको बताए ।

बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप