बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सीसीटिभीमार्फत ट्राफिक निगरानी : ट्याक्सीमा छुटेको झोला दीपिकाले यसरी फिर्ता पाइन्

शुक्रबार, १८ पुस २०७६, १६ : ११
शुक्रबार, १८ पुस २०७६

काठमाडौँ । बिहीबार बिहान सामाखुसीबाट दीपिका श्रेष्ठ बा२झ ४३३८ नम्बरको ट्याक्सीमा एयरपोर्टको लागि निस्किइन् । एयरपोर्ट पुग्न लागेपछि दीपिकाले ट्याक्सी चालकलाई पैसा दिन भन्दै झोलाबाट पर्स निकालिन् ।

हतारमा रहेकी उनले ट्याक्सी चालकलाई ३ सय रुपैयाँ झिकेर दिइन् र आफ्नो बाटो लागिन् । ट्याक्सी चालक पनि हुँइकिएर बानेश्वरतिर लागे ।

हतारमा रहेकी दीपिकाले एउटा झोला ट्याक्सीमै छोडिसकेकी थिइन् । आफ्नो काम नभ्याइन्जेलसम्म उनलाई झोलाको कुनै याद आएन । जब काम सकिन् र सामाखुसी फर्किन लागिन्, तबमात्र उनलाई झोलाको याद आयो ।

झोला कहाँ छोडेँ भनेर उनी एकछिन अलमल्लमा परिन् । अन्तिममा उनी कन्फर्म भइन् कि झोला ट्याक्सीमै छोडेँ । लगत्तै उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोलमा फोन गरेर ट्याक्सीमा आफ्नो झोला छोडिएको बताइन् ।

केहीछिनमै उनी महाशाखामा पुगिन् । उनले ट्याक्सी नम्बरसहित लिखित निवेदन दिइन् । उनले नम्बर हेरेरमात्र ट्याक्सी चढेका कारण निवेदनमा ट्याक्सीको नम्बरसमेत उल्लेख गर्न सकेकी हुन् । रातो रङको झोलामा नगद १४ हजार र अन्य सामानहरु छुटेको भनि दीपिकाले महाशाखामा निवेदन दिएकी थिइन् ।

दीपिकाको निवेदनपछि महाशाखाअन्तर्गत खोजतलास शाखाले सीसीटिभीमार्फत ट्याक्सीको खोजी सुरु गर्यो । ट्याक्सी बानेश्वरमा रहेको पत्ता लाग्यो ।

यता, यातायात कार्यालयमा सम्पर्क गरेर गाडी धनीको समेत खोजी गरिरहेको थियो । तर, सीसीटिभी फुटेजको आधारमै दीपिकाले छाडेको झोला फेला पर्यो ।

महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठ भन्छन्, ‘पीडितको निवेदनको आधारमा सीसीटिभी फुटेजको आधारमा ट्याक्सी पत्ता लगाएर झोला फेला पारेर पीडितलाई बुझाइ सकेका छौँ ।’

सीसीटिभी फुटेज हेरेर बानेश्वर चोकमा रहेका ट्याक्सी र चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लियो । महाशाखा ल्याएर सोधपुछ गर्ने क्रममा चालकले ट्याक्सीमा झोला नदेखेको बताए ।

चालकको कुरा सुनेपछि ट्राफिक प्रहरीले ट्याक्सी सर्च गर्यो । अन्ततः छुटेको भनिएको झोला पनि ट्याक्सीको पछाडी सिटमूनि खसेको पाइयो । यता, घटनाबारे गाडी धनीलाई पनि सम्पर्क गरिएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

दुवै पक्षलाई अगाडि राखेर कुरा गराउँदा ट्याक्सी चालकले आफ्नो ट्याक्सीमा दीपिकाको सामान छोडिएको तर, आफूलाई थाहा नभएको प्रहरी समक्ष स्वीकारे । तत्कालै उनले दीपिकाको ब्याग निकालेर ट्राफिक प्रहरीलाई सुम्पिए ।

उक्त सामान बिहीबार दीपिकालाई महाशाखाका एसपी राजकुमार वैदवारले हस्तान्तरण गरेका छन् । ‘फेला परेको झोला ट्राफिक प्रहरीको रोहवरमा खोलेर हेर्दा पैसा र सामान सबै थियो,’ दीपिकाले भनिन् ।

ट्याक्सीमा छोडिएको सामान र सार्वजनिक यातायातमा यात्रुहरुमाथि हुने व्यवहारको निगरानी गर्न महाशाखाले प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा टोली नै खटाएको प्रवक्ता श्रेष्ठले बताए ।

पुस महिनामा मात्रै ट्राफिक प्रहरीले दीपिकाजस्तै अन्य दुई जनाको पनि सामान फेला पारेर बुझाइसकेको छ ।

चालु आर्थिक वर्षमा १८८ सामान फेला

दीपिकाको घटना एउटा उदाहरणमात्र हो । चालु आर्थिक वर्ष ट्राफिक प्रहरीले यसरी सामान फेला पारेर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको १८८ वटा घटना छ ।

ट्राफिक महाशाखाका अनुसार २७७ वटा निवेदन परेकोमा ४२ वटा सवारी साधन र सामान पनि नभेटिएको र ४६ वटा सवारी साधन फेला परे पनि सामान फेला परेको छैन ।

आर्थिक वर्षमा अन्दाजी ८७ लाख ६७ हजार ८६५ बराबर मूल्यको सामान फेला परेको महाशाखाको रेकर्डमा उल्लेख छ ।

दुवै पक्षलाई अगाडि राखेर कुरा गराउँदा समेत सामान फेला पर्न नसकेको र यत्तिकै छाडेको अवस्था पनि रहेको प्रवक्ता श्रेष्ठ बताउँछन् । उनले भने, ‘नम्बरको आधारमा सीसीटिभी हेरेर सवारी साधन र सामान फेला पारेका छौं ।’

‘सीसीटिभी हेरेर कतिपय ट्याक्सी चालकलाई बोलाउँदा सजिलै आउँछन् भने कतिपय आउन मान्दैनन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘यदि कोही आउँदैन भने सम्बन्धित युनिटलाई खबर गरेर उक्त व्यक्तिलाई नियन्त्रणमा ल्याएर पनि सोधपुछ गर्छौं ।’

यस्तै अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा २९० वटा छुटेको सामान फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको महाशाखाको रेकर्डमा उल्लेख छ । अन्दाजी १ करोड ६९ लाख ६९ हजार ८०० मूल्य बराबरको सामान फेला पारेको महाशाखाको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप