शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाले टुंग्यायो भागबण्डामा राष्ट्रियसभा उम्मेदवार, वामदेवद्वारा उम्मेदवार बन्न अस्वीकार

शुक्रबार, १८ पुस २०७६, १२ : ३३
शुक्रबार, १८ पुस २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भागबण्डामा राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ । 

शुक्रबार बसेको नेकपा सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६ उम्मेदवारको टुंगो लगाएको हो । 

नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबण्डाको आधारमा उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार तत्कालीन एमालेको तर्फबाट ९ र माओवादी केन्द्रको तर्फबाट ७ सिटमा प्रतिनिधित्व रहनेगरी भागबण्डा गरिएको छ । 

नेकपाले प्रदेश नम्बर १ बाट पूर्वएमाले समूहबाट इन्दु गौतम र देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ भने पूर्वमाओवादीबाट गोपी अछामीलाई उम्मेदवार बनाएको छ । 

यस्तै प्रदेश २ मा पूर्वएमालेबाट तुलसा दाहाल र पूर्वमाओवादीबाट राधेश्याम पासवान उम्मेदवार बनेका छन् भने प्रदेश नम्बर ३ बाट पूर्वमाओवादीबाट गंगा बेलबासे र बेदुराम भुसाल उम्मेदवार बनेका छन् । 

यसैगरी गण्डकी प्रदेशमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्व एमालेबाट भगवती न्यौपाने उम्मेदवार बन्दा प्रदेश ५ बाट पूर्व एमालेबाट विमिला घिमिरे र गोपाल भट्टराई तथा पूर्वमाओवादीबाट जगप्रसाद शर्मा उम्मेदवार बनेका छन् । 

गण्डकी प्रदेशबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराईसँग पराजित भएका थिए । उनले सुरुमा आफू राष्ट्रिय सभामा जान अनिच्छुक रहेको सार्वजनिक प्रतिक्रिया दिएका भएपनि हाल आएर भने उम्मेदवार बनेका हुन् । 

यस्तै कर्णाली प्रदेशबाट पूर्वमाओवादीबाट मायाप्रसाद शर्मा र पूर्व एमालेबाट सुमित्रा बिसी उम्मेदवार बन्दा सूदूरपश्चिम प्रदेशबाट पूर्वमाओवादीबाट तारामान स्वाँर र पूर्व एमालेबाट शारदा भट्ट उम्मेदवार सिफारिस भएका हुन् । 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा पार्टी बनेको भएपनि सरकारदेखि संगठनसम्म भागबण्डाको आधारमा प्रतिनिधित्व हुँदै आएको छ । 

बामदेव किन बनेनन् उम्मेदवार ?
बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका नेकपा सचिवालय सदस्य वामदेव गौतमले भने राष्ट्रियसभा उम्मेदवार बन्न अनिच्छा देखाएको एक नेताले बताए । ती नेताका अनुसार अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभामा आउन प्रस्ताव गरेको भएपनि उनले राष्ट्रिय सभामा जाँदैमा प्रधानमन्त्री बन्ने बाटो खुला नहुने भन्दै चाहना नदेखाएका हुन् । 

गौतमले प्रधानमन्त्री बन्नेबाटो खुला हुने अवस्थामा मात्रै सांसद हुने निकटस्थसँग बताउँदै आएका छन् । तर, राष्ट्रियसभाका सांसद प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान छ । 

उनले यसअघि पटक–पटक उपनिर्वाचनबाट सांसद बन्ने चाहना राखेपनि माहोल प्रतिकूल हुँदा पछि हटेका थिए । उनी डोल्पा र काठमाडौँ क्षेत्रनम्बर ७ बाट उपनिर्वाचन लड्ने तयारीमा रहेको भएपनि माहोल प्रतिकूल बनेको थियो । यसो त कास्की क्षेत्र नम्बर २ बाट समेत उनले चुनाव लड्ने चाहना राखेपनि त्यो पूरा हुन सकेको थिएन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप