शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आधा मस्तिष्क सुत्ने, आधा उठ्ने अनौठो जीवहरु

ह्वेल र डल्फिन कसरी सुत्छन् ?
मङ्गलबार, २२ पुस २०७६, ११ : ५६
मङ्गलबार, २२ पुस २०७६

व्हेल र डल्फिन पनि हामी मानिसजस्तै स्तनपायी जनावर हुन् । त्यही भएर तिनीहरुको विभिन्न कुराहरु हामीसँग मिल्दाजुल्दा छन् । तिनीहरुको हाडको बनावट पनि हाम्रो जस्तो नै हुन्छ । त्यसको साथसाथै तिनीहरु स्तनपायी जनावर भएकोले तिनीहरुको रगत पनि हाम्रो जस्तो तातो हुन्छ । तिनीहरु पनि हामी जस्तै बच्चालाई जन्म दिन्छन् । तिनीहरु र हामीबीच भएको मुख्य भिन्नता भनेको तिनीहरु बस्ने वातावरण र हामी बस्ने वातावरण नै हो । व्हेल र डल्फिनको विशेष प्रकारको श्वासप्रश्वास प्रणाली हुन्छ । जसको मद्दतले तिनीहरु श्वास नफेरी पानीभित्र धेरै समयसम्म बस्न सक्छन् । झट्ट सुन्दा विश्वास गर्न गाह्रो लाग्छ–  तिनीहरु कहिलेकाहीँ ३० मिनेटभन्दा बढी श्वास नफेरिकन बस्ने गर्छन् ।

जमिनमा बस्ने हामीजस्तै अन्य स्तनधारी प्राणीहरुले स्वचालित रुपमा स्वास फेरिरहेका हुन्छौं । हामी आफ्नो नियन्त्रणबिना नै निरन्तर रुपमा श्वासप्रश्वास गरिरहेका हुन्छौं । हामीले आफ्नो श्वास रोक्न खोजे पनि शरीरले आफैं श्वास लिन थाल्छ । अर्थात सास लिने र फेर्ने प्रक्रिया हाम्रो नियन्त्रणमा नै हुँदैन । उता व्हेल र डल्फिन भने केही हदसम्म आफूले चाहुन्जेल श्वास रोक्न सक्छन् । तिनीहरुले आफूले चाहेको बेलामा सास लिन, रोक्न र छोड्न सक्छ ।

https://www.hakaimagazine.com

हाम्रो शरीरको प्रत्येक क्रियाकलापलाई मस्तिष्कले नियन्त्रण गर्ने गर्छ । तर हामीजस्तै अन्य स्तनधारी प्राणीको मस्तिष्कलाई सही रुपमा काम गर्नका लागि बेलाबेला आराम चाहिने गर्छ । त्यही आराम लिने क्रममा नै हामीलाई निद्रा लाग्ने गर्छ वा हामी निदाउने गर्छौं । अब प्रश्न उठ्छ– ह्वेल र डल्फिनको मस्तिष्कले कतिखेर आराम गर्छ त ? किनभने उनीहरुले चाहेको बेलामा सास फेर्ने र रोक्ने गरिरहेको हुन्छ र त्यस्तो अवस्थामा मस्तिष्क जागृत अवस्थामा रहनु जरुरी हुन्छ । ह्वेल वा डल्फिनमा सास फेर्ने प्रक्रिया स्वचालित रुपमा हुँदैन भने उनीहरुले सास फेर्ने प्रक्रियालाई नियन्त्रण गर्न पनि जागिरहनु पर्ने भयो । त्यसो भने उनीहरु सुत्न मिलेन । तर नसुत्ने हो भने उनीहरुको मस्तिष्कले आराम पनि पाउँदैन । के उनीहरु सुत्दैनन् त ?

यो कुरा पत्ता लगाउन वैज्ञानिकहरुले डल्फिनको मस्तिष्कमा मस्तिष्कको विद्युतीय तरंगहरुको गतिविधि थाहा पाउने यन्त्र (electro- encephalography) को प्रयोग गरेका थिए । यसको मद्दतले उनीहरुले डल्फिनको मस्तिष्कमा भइरहेका क्रियाकलापहरुलाई अध्ययन गरे । अध्ययनपछि उनीहरुले  डल्फिन तथा ह्वेल पनि हामी जस्तै सुत्ने गरेको तर उनीहरुको सुताइको प्रक्रिया हाम्रो भन्दा अलि भिन्न हुने पत्ता लगाए  । उनीहरुले डल्फिन सुत्दा तिनीहरुको मस्तिष्कको पूरै भाग नसुतेर आधा आधा भाग मात्र सुत्ने गरेको र त्यसक्रममा उनीहरुको मस्तिष्कको आधा भाग भने पुरै निष्क्रिय हुने कुरा पत्ता लाग्यो। यसरी सुत्दा पनि  एकपटकमा तिनीहरुको मस्तिष्कको एक भागमात्र सुत्ने हुनाले तिनीहरु कहिले पनि पूर्णरुपमा निदाउँदैनन् । यसरी उनीहरुको मस्तिष्कले आफूलाई चाहिने आराम पनि पालैपालो पाउने गर्छ ।

  वैज्ञानिकहरुले पत्ता लगाएअनुसार, ह्वेल र डल्फिनको दुई पटकको सास फेर्ने अवधिका बीचमा धेरै समयको भिन्नता हुन्छ । यस समयको बीचमा तिनीहरु केही बेर सुत्न पनि सक्छन् । यो प्रक्रिया प्रत्येक दिन ८ घण्टा हुने गरेको कुरा पनि वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।    

https://i.pinimg.com

 त्यसरी सुतेको अवस्थामा डल्फिनलाई कस्तो अनुभव हुन्छ भन्न सकिँदैन, अनुमान मात्र गर्न सकिन्छ । सायद यस्तो अवस्था भनेको हामी अर्धनिद्रामा भएको अवस्था जस्तो हुन्छ होला । हामी अर्धनिद्राको अवस्थामा छँदा हल्का निदाइसकेको त हुन्छौँ तर पनि हाम्रो वरिपरि के भइरहेको छ भन्ने अलिअलि थाहा हुन्छ ।  सायद यस्तो नै हुन्छ होला तिनीहरु निदाउँदा पनि ।अर्को प्रश्न उठ्छ– तिनीहरु कहाँ सुत्छन् त ? तिनीहरु जहाँपायो त्यहीँ सुत्ने गर्छन् । तर प्रायः तिनीहरु समुद्रको सतहको छेउमा सुत्ने गर्छन् । यसले तिनीहरुलाई श्वासप्रश्वास गर्न सजिलो हुन्छ । तपाईंहरुले व्हेल वा डल्फिनलाई समुद्र सतहको छेउमा बिस्तारै पौडी रहेको देख्नुभयो भने तपाईं तिनीहरु सुतिरहेको अनुमान लगाउन सक्नुहुन्छ ।

Title photo: https://images.rove.me

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप