बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मन फाट्दा के ले सिउने ? मनपर्ने खानाले

बिहीबार, १७ पुस २०७६, ११ : २६
बिहीबार, १७ पुस २०७६

जब घरमा कसैको मृत्यु हुन्छ तब हाम्रो संसार ती व्यक्तिको साससँगै थामिएको झैँ भान हुन्छ । त्यतिबेला न केही खाने होस् हुन्छ न त पिउने नै । तर के त्यो घडीमा खानाले हाम्रो दुःखलाई कम गर्न सक्छ ?

कसैको मृत्युबाट हुने दुःख र तनावलाई कम गर्नका लागि राम्रो खाना निकै प्रभावकारी हुनसक्ने बताइन्छ ।

मध्य पश्चिमी अमेरिकाको मिनेसोटा राज्यमा बस्ने लिन्डसे ओस्ट्रोम जब साढे पाँच महिनाकी गर्भवती थिइन् तब उनले एक प्रिमेच्योर बच्चालाई जन्म दिइन् । उनले आफ्नो सन्तानको नाम एफटन राखिन् तर जन्मेको भोलिपल्टै एफटनको मृत्यु भयो ।

एफटनको मृत्युपछि लिन्डसे शारीरिक र मानसिक रुपले विक्षिप्त भइन् । उनी आफ्नो रात र दिनलाई रोएरै कटाउँथिन् । उनी दिनभरी आफूलाई घरमा बन्द राख्थिन्, न केही खान्थिन् न त कसैसँग कुरा नै गर्थिन् ।

Photo: KATIE HORWICH

दुःखको त्यो घडीबारे याद गर्दै उनी भन्छिन्, ‘आफ्नो छोरा गुमाएपछि मेरो लागि जीवनको कुनै अर्थ बाँकी रहेको थिएन ।’

दुःखको समुद्रबाट बाहिर निकाल्नलाई लिन्डसेलाई खानाले अत्यधिक मद्दत गर्‍यो । उनी एउटा फूड ब्लग चलाउँछिन् जसको नाम ‘पिन्च अफ यम’ हो ।

उनले आफ्नो ब्लगमा लेखेकी छिन्, ‘मेरो मुखबाट खानाको स्वाद नै मेटिएको थियो । मेरो पेटमा दुःखबाहेक अरु केही कुराका लागि स्थान नै बाँकी थिएन ।’

उनी भन्छिन्, ‘म निकै पिरो, मसालेदार र रंगीबिरंगी खाना खान मनपर्ने व्यक्ति थिएँ तर त्यो घटनापछि मलाई आलुको सादा सूप वा सेतो पाउरोटी–बटर वा कुनै पनि सादा खाना मात्रै चाहिन्थ्यो ।’

लिन्डसेले आफ्नो खाने इच्छा नै त्यागिसकेकी थिइन् । त्यो समयमा उनको घरसम्म खाना पुर्‍याउने साथी र आफन्तप्रति उनी कृतज्ञ छिन् । उनका साथीहरु उनको घरमा कुकर र ब्रेड लिएर पुग्थे । यसो गरेर उनीहरु लिन्डसेलाई खानका लागि तयार पार्न चाहन्थे ।

Photo: A PINCH OF YUM

लिन्डसे भन्छिन्, ‘त्यतिबेला पाएको खाना मेरो लागि कुनै लाइफलाइनभन्दा कम थिएन । मैले निश्चित गरिसकेको थिएँ कि एक पटक एक कचौरा सुप पिउँछु । त्यसपछि मैले यो महसुस गरेँ कि मभित्र अहिले पनि एउटा जीवन बाँकी छ र त्यसलाई बचाइराख्नका लागि मैले खानु पर्छ ।’

अत्यधिक मायाले बनाइएको सामान्य खानेकुरा पनि उनको लागि कति विशेष छ भनेर उनले महसुस गर्न थालिन् । उनले आफ्ना साथीहरु र आफन्तलाई त्यो खानाको रेसिपी सोधिन् र त्यसपछि उनले आफ्नो ब्लगमा प्रकाशित गरिन् ।

उनले ‘टुटेका मनको लागि खाना’ नाम अन्तर्गत पूरा सिरिज लेखिन् जसमा उनले डिप्रेशनमा भएका कुनै पनि व्यक्तिका लागि कसरी खाना बनाउने भन्ने जानकारी दिएकी छिन् ।

उनले यी खानाको तस्बिरहरु #feedingabrokenheart  सहित इन्स्टाग्राममा पोस्ट गरिन् जुन केही समयभित्रै निकै भाइरल हुनथाल्यो । उक्त पोष्टमा उनले यी सबै  खाना खाएर दुःखबाट बाहिर निस्किएको पनि जानकारी दिइन् ।

Photo: Getty Image

अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीमा न्यूरोलोजीकी प्राध्यापक लीसा शलम्यान भन्छिन्, ‘जब हामीमाथि कोही दुर्घटना हुन्छ तब दुःखको त्यो स्थितीमा सबैभन्दा पहिले हामी अवसादको शिकार हुन्छौं । हामी त्यो दुःखको समयमा आफैलाई पीडा दिन तत्पर हुन्छौं, त्यसैले हामीलाई भोक नै लाग्दैन ।’

प्राध्यापक शलम्यानका श्रीमान् बिलको जब मृत्यु भयो तब उनले पनि विभिन्न मुश्किलको सामना गर्नुपर्‍यो । त्यतिबेला उनले दुःखका बेला हाम्रो दिमागले कसरी काम गर्छ भन्ने जानकारीसहित किताब लेखिन् ।

उनी दुःखको स्थितीमा हाम्रो शरीरमा के–कस्ता असर पर्छ र त्यतिबेला खानाले कसरी हामीलाई मद्दत गर्छ भन्ने कुरा बुझ्न चाहन्थिन् ।

प्राध्यापक शलम्यान भन्छिन्, ‘जब हामीले आफ्नो कुनै निकै नजिकका व्यक्तिलाई गुमाउँछौं तब हामीलाई अचानक झट्का लाग्छ । त्यतिबेला हाम्रो दिमागले कुनै सुरक्षाकर्मीले झैं काम गर्न थाल्छ । दिमागले हाम्रो सबैभन्दा पीडादायी यादलाई रोक्न थाल्छ र त्यतिबेला हामी भावनात्मक रुपमा कमजोर हुन थाल्छौं ।’

प्राध्यापक शलम्यानका अनुसार यस्तो स्थितीबाट बाहिर निस्कनका लागि हामीले आफ्ना यदामाथि पुनः ध्यान दिनुपर्छ । यस्तोमा खानाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

उनी भन्छिन्, ‘दुःखबाट बाहिर निस्कनका लागि खाना साँच्चै नै निकै लाभदायक हुन्छ । मेरो कुरा गर्ने हो भने मैले ती खाना खान थालेँ जुन मेरा श्रीमानलाई मिठो लाग्थ्यो । यसले मलाई निकै राहत प्रदान गर्‍यो ।’

Photo: KATIE HORWICH

केही वर्षअघि जब एमीका पिताको मृत्यु भयो तब खाना नै उनका लागि एउटा यस्तो माध्यम बन्यो जसमार्फत् उनी पिताको नजिक भएको महसुस गर्न सक्थिन् । उनका पिता एक यहूदी–रोमन प्रवासी थिए जो आर्किटेक्टको रुपमा काम गर्थे । यसका साथै उनी खानाको सानो व्यापार पनि चलाउँथे ।

त्यहाँ एउटा यस्तो खाना थियो जसले एमीलाई आफ्नो पिताको निकै याद दिलाउँथ्यो र त्यो हो काँचो प्याज ।

एमी भन्छिन्, ‘उहाँले काँचो प्याजलाई खानामाथि हाल्नुहुन्थ्यो ।’

यद्यपि, एमीलाई काँचो प्याजको स्वाद मन पर्दैनथ्यो तर पनि उनले यो खाना सुरु गरिन् ।

उनी भन्छिन्, ‘म आफ्नो पिताको लागि काँचो प्याज खान्छु ।’

कुनै मृत व्यक्तिसँग आफूलाई जोड्नका लागि खाना कुनै नयाँ विचार होइन । उदाहरणका लागि प्राचीन रोममा जब कसैको मृत्यु हुन्थ्यो तब एक प्रथा अनुरुप खाना र वाइनलाई मृत व्यक्तिको मुखमा हालिन्थ्यो ।

यस्तै, नेपालमा पनि कुनै व्यक्तिको मृत्यु भएको १२ औं दिनमा सबैलाई खान दिइन्छ ।

यस्तै गरी बौद्ध बाहुल देश जापानमा परिवारले सुया नामक एक परम्पराको पालन गर्छन् । यो परम्परामा मृत व्यक्तिलाई बीचमा राखेर फोटो खिचाइन्छ । यसका साथै बीचमा एक कचौरा भात र त्यो कचौरामा एक जोडी चपस्टिक पनि राखिन्छ ।

मेक्सिकोमा कसैको मृत्यु भएको ९ दिनसम्म समुदायका मानिसहरु पिरो अमिलो स्वादयुक्त सस खान्छन् । यो परम्परालाई नोवेनारियो भनिन्छ ।

Photo: Getty Image

टेक्सासको बेलर युनिभर्सिटीमा असोसिएट प्राध्यापक अफड रिलिजन क्यान्डी क्यानका अनुसार चीनजस्ता देशमा मृत व्यक्तिलाई भेट्न जाँदा खाना लिएर जाने परम्परामा समयसँगै केही परिवर्तन देखिन थालेको छ ।

उनी भन्छिन्, ‘पुराना दिनमा मृत व्यक्तिलाई भेट्न जाँदा सुन्तला, जापानी फल, पाइनएप्पल र पोर्क लिएर जाने गरिन्थ्यो । तर समय परिवर्तन भएको छ र मानिसहरु अहिले फ्रेन्च फ्राइज, शेक र बिग म्याकजस्ता अमेरिकी खाना पनि लिएर जान थालेका छन् ।’

‘कहिलेकाँही यी खाना खाइन्छन् भने कहिले चिहानका कर्मचारीले सफा गर्ने क्रममा फ्याँकिदिन्छन् ।’

पश्चिमी दुनियाँमा यस्तो खालको परम्परा खासै देखिँदैन तर अमेरिकाको दक्षिणी हिस्सामा केसरोल राख्ने परम्परा अब मानिसहरुले अनुसरण गर्न थालेका छन् ।

प्राध्याक क्यान भन्छिन्, ‘थुप्रै स्थानमा कसैको मृत्यु भएपछि उनीहरुको यादमा केसरोल कार्यक्रम अर्थात् भोजको आयोजना गरिन्छ । यतिबेला मृतकसँग जोडिएका याद ताजा हुन्छ र मानिसहरु सँगै बसेर खाना खान्छन् । न्यू ओर्लियनसमा यो भोजमा आलू हुन्छन् जबकी टेक्ससमा शीट केक हुन्छ ।’

‘परिवारको एक सदस्यको मृत्युपछि पनि तपाईं स्थानीय समुदायमा घुलमिल गराउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिने मान्यता राखिन्छ ।’

एमिली थोमस / बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप