शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इराक र अमेरिकाको सम्बन्ध कसरी यस्तो नाजुक बन्यो ?

बिहीबार, १७ पुस २०७६, ०९ : ५४
बिहीबार, १७ पुस २०७६

लण्डन । इराकमा अमेरिकी दूतावासबाहिर तनावपूर्ण गतिरोधपछि प्रदर्शनकारी अहिले फर्किएका छन् । मङ्गलबार आक्रोशित भीडले दूतावासमाथि हमला गरेका थिए । अमेरिकी हवाई हमलामा शिया चरमपन्थी सङ्ठनका सदस्यहरु मारिएपछि आक्रोशित भीडले बगदादस्थित अमेरिकी दूतावासमाथि आक्रमण गरेका थिए ।

अमेरिकी सेनाले आफ्नो बचाउमा अश्रुग्याँस प्रहार गर्न परेको थियो भने बुधबार पनि विरोधप्रदर्शन जारी रह्यो । अमेरिकी दूतावास परिसर बाहिरबाट हटे पनि प्रदर्शनकारीहरुको एक समूहले नजिकैको एक होटलअगाडि क्याम्प खडा गरेर बसेका छन् । अमेरिकी सेना इराकबाट नफर्किएसम्म विरोध प्रदर्शन जारी राख्ने उनीहरुले बताएका छन् ।

इराकी सरकारको अपिलपछि उग्रपन्थी सङ्गठन द पपुलर मोबिलाइजेशन फोर्सेजले भीडलाई अमेरिकी दूतवासबाहिरबाट हट्न निर्देशन दिएको थियो ।

दूतावासमाथि भएको आक्रमणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई जिम्मेवार ठहराउँदै धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटमा भनेका छन्, ‘यदी कसैको ज्यान गयो या केही नोक्सानी भयो भने यसको ठूलो मुल्य चुकाउनुपर्नेछ । यो कुनै चेतावनी नभएर धम्की हो ।’

ट्रम्पको धम्कीपछि ईरानका सर्वोच्च नेता अयतोल्लाह अली खमेनेईले अमेरिकाले ईरानलाई आरोप लगाउन नसक्ने बताएका छन् । खमेनेईले इराकमा अमेरिका विरोधी भावना प्रबल रहेको बताउँदै अमेरिकी दूतवासमाथि भएको आक्रमणमा आफ्नो कुनै संलग्ना नरहेको स्पष्ट पारे ।

बगदादमा रहेको अमेरिकी दूतावास अमेरिकाको सबैभन्दा ठूलो राजनीतिक मिसन हो र त्यसो सुरक्षा व्यवस्था निकै कडा रहेको छ । इराकमा अहिले पाँच हजार अमेरिकी सेना रहेका छन् । उनीहरु इस्लामिक स्टेटविरुद्धको मिसनमा खटिएका छन् ।

बीबीसीको संवाददाता मार्कस जोनाथनको विश्लेषण

इराकमा अमेरिका विरोधी प्रदर्शनले अमेरिका र इराकको सम्बन्ध निकै जटिल र नाजुक मोडमा रहेको दर्साउँछ । यसमा यो प्रश्न प्रासंगिक हुन्छ – दुई देशको सम्बन्ध कति टिकाऊ छ र कहिलेसम्म रहन्छ ?

इराकमा इस्लामिक स्टेट विरुद्ध अमेरिकी मिसन धमिलो बनिसकेको छ र अब इराक सरकारले कस्तो रवैया अपनाउँछ भन्ने कुरामा यो टिकेको छ । अमेरिकी सेनाको उपस्थिति मौजुदा इराकी सेनालाई प्रशिक्षण दिने विषयमा पनि अडिएको छ । तर, इराकको शिया सरकार ईरानसँग निकै नजिक रहेको छ ।

इराक र अमेरिकाको सम्बन्धमा ईरानको दह्रो उपस्थितिले अनौठो त्रिकोणीय स्थिति बनेको छ । अमेरिका र ईरान एक अर्काको उद्देश्यलाई संदिग्ध मान्छन् । दुवै इराकमा एक अर्काको प्रभावलाई कम गर्न चाहन्छन् । हालै अमेरिका विरोधी प्रदर्शनमा सरकारको लाचारी सतहमा आएको छ । यस पुरा मामिलामा ईरानको हस्तक्षेप पनि अहम छ ।

इराकका शिया चरमपन्थी समूहसँग ईरानको राम्रो सम्बन्ध रहेको छ । त्यही भएर अमेरिकी सैन्य ठेगाना र उसको दूतावासमा भएको हमलामा ईरानको हात रहेको अमेरिकाको विश्वास छ । यस मामिलामा इराक सरकारले उसको खुलेर समर्थन गरोस् भन्ने अमेरिका चाहन्छ ।

तर ट्रम्प प्रशासनले यस क्षेत्रमा भविष्यमा आफ्नो भूमिकाबारे परस्पर विरोधी कुराहरु भनिरहेको छ । ट्रम्प प्रशासन कहिले सीमित संलिप्पताको कुरा गर्दछ भने कहिले ईरानविरुद्ध दह्रोसँग खडा रहने संकेत दिन्छ । यस्तोमा अन्यौलताको बादल बाक्लिनु स्वभाविक हो । अन्यौलताकाबीच अमेरिका र ईरान आमने सामने आउने त होइनन् भन्ने धेरैको प्रबल आशंका रहेको छ ।

मङ्गलबार के भएको थियो ?

मङ्गलबार इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासको परिसरमा आक्रमण भएको थियो । अमेरिकी सेनाले प्रदर्शनकारीहरुलाई तितरबितर बनाउन अश्रुग्याससमेत प्रयोग गर्नुपरेको थियो ।

प्रदर्शनकारीहरुले परिसरको बाहिरी पर्खाल नाघेर भित्र पसेका थिए । दूतावास बाहिर रहेको एक सुरक्षा पोष्टमा प्रदर्शनकारीहरुले आगोसमेत लगाइदिएका थिए ।

पश्चिमी इराक र पूर्वी सिरियामा आइतबार अमेरिकाले कताइब हिज्बुल्लाह चरमपन्थी संगठनको ठेगानामा बमबारी गरेको थियो । उक्त हवाई हमलामा कम्तिमा २५ जनाले ज्यान गुमाएका थिए ।

अमेरिकाले शुक्रबार इराकको किरकुकस्थित आफ्नो सैन्य बेसमा भएको हमलाको जवाफमा उक्त कारवाही गरेको जानकारी दिएको थियो । अमेरिकी सैन्य ठेगानामा शुक्रबार भएको आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो ।

इराकका प्रधानमन्त्री अदेल अब्दुल महदीले अमेरिकाको हवाई हमलाले उसको सम्प्रभुतालाई उल्लङ्घन गरेको प्रतिक्रिया दिएका थिए । अर्को तर्फ कताइब हिज्बुल्लाहका नेता अबु महदी अल–मुहांदिसले अमेरिकाले यस हमलाको ठूलो नतिजा भोग्नुपर्ने चेतावनी दिएका थिए ।

बगदादमा के भयो ?

मङ्गलबार अमेरिकी हमलामा मारिएका चरमपन्थी लडाकुहरुको अन्तेष्टि पछि त्यसको विरोधमा मानिसहरु सडकमा उत्रिएका थिए । हजारौँको सङ्ख्यामा मानिसहरु ग्रीन जोन क्षेत्रतर्फ अघि बढेका थिए ।

यसमा अबु महदी अल–मुहांदिसका साथै हिज्बुल्लाहका कयौँ शीर्ष सैन्य अधिकारीहरु सामेल थिए । बगदादको ग्रीन जोनमा इराकका कयौँ सरकारी कार्यालयहरु रहेका छन् भने विदेशी दूतावासहरु रहेका छन् ।

इराकी सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलाई ग्रीन जोनमा छिर्न अनुमति दिएका थिए । केही समयमा नै प्रदर्शनकारीहरु अमेरिकी दूतावास बाहिर जम्मा भए ।

असाइब अह्र अल–हक समूहका प्रमुख काइस अल–खजालीले ‘यो दुतावासले इराकविरुद्ध काम गरिरहेको पुष्टि गरेको छ । यो दूतावासले इराकको जासुसी गर्दैछ र यहाँ यसले तोडफोडलाई बढावा दिँदैछ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रदर्शनकारीहरुले कताइब हिज्बुल्लाह र अन्य समूहको झण्डा लहराउँदै अमेरिका विरोधी नारा लगाइरहेका थिए । त्यसपछि प्रदर्शनकारीहरुले अमेरिकी दूतावासको परिसरको मुख्य प्रवेशद्वारमा ढुङ्गा फ्याँक्न सुरु गरेका थिए । उनीहरुले सुरक्षा क्यामरा तोडफोड गर्नुका साथै खाली रहेको सुरक्षा पोष्टमा आगजनी गरेका थिए । जब प्रदर्शनकारी पर्खाल चढेर दूतावास परिसरमा छिर्न थाले तब स्थिति बिग्रिएको थियो ।

समाचार एजेन्सी एपीका अनुसार एक गेटलाई ताडेर दर्जनौँ प्रदर्शनकारी भित्र छिरेका थिए र दूतावासको मुख्य भवनतर्फ बढेका थिए । त्यसपछि अमेरिकी सेनाले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । रोयटर्सका अनुसार प्रदर्शनकारीमाथि ग्रीनेड पनि प्रहार गरिएको थियो ।

स्थिति बिग्रिएपछि इराकी सैनिक र सुरक्षाबल त्यहाँ पुगेका थिए । ईरान समर्थित शिया सैन्य समूह द पपुपल मोबिलाइजेसनका अनुसार घटनामा २० प्रदर्शनकारी घाइते भएका छन् ।

कसले के भने ?

विरोध प्रदर्शन शुरु भएको केही घन्टापछि इराकका प्रधानमन्त्री अब्दुल महदीले प्रदर्शनकारीहरुलाई अमेरिकी दूतवास नजिकबाट पछि हट्न चेतावनी गरेका थिए । प्रधानमन्त्री महदीले चेतावनी दिँदै भनेका थिए, ‘दूतावासमाथि कुनै प्रकारको हमला भयो र विदेश प्रतिनिधिहरुलाई केही नोक्सानी भयो भने त्यस्ता व्यक्तिलाई कानुन अनुसार सजाय मिल्नेछ ।’

कताइब हिज्बुल्लाह अमेरिकाको निशानामा किन ?

हिज्बुल्लाहले इराकमा रहेको आफ्नो ठेगानामा बारम्बर आक्रमण गरिरहेको अमेरिकाको आरोप छ । इराकमा अमेरिकाको नेतृत्वमा सहयोगी सुरक्षा बल अहिले इस्लामिक स्टेटविरुद्ध लडाइँ लडिरहेको छ । हिज्बुल्लाहको हमलाको जवाफी कारवाहीमा नै आइतबार अमेरिकाले उसको कयौँ ठेगानामा बमबारी गरेको थियो ।

सन् २००९ मा अमेरिकाले कताइब हिज्बुल्लाहलाई आतङ्कवादी संगठन घोषित गरेको थियो । अमेरिकाका अनुसार यो सङ्गठन इराकको स्थिरता र शान्तिका लागि खतरा हो ।

अमेरिकाको डिफेन्स डिपार्टमेन्टको भनाइलाई मान्ने हो भने कताइब हिज्बुल्लाहको सम्बन्ध ईरानको इस्लामिक रिभोल्युसन गार्ड कोरसँग रहेको छ अर्थात् आईआरजीसीको वैश्विक अपरेशन आर्म क्रुद्स फोर्स हो । यो सङ्गठनलाई ईरानबाट सहयोग प्राप्त हुने उसको दाबी छ ।

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप