शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा शून्य समय: रेशम चौधरीको क्षेत्रमा बजेट निकासा गर्न माग

बुधबार, १६ पुस २०७६, १३ : ४१
बुधबार, १६ पुस २०७६

काठमाडौं ।  कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रेशम चौधरीको क्षेत्रको स्थानीय साझेदारी विकास बजेटको रकम निकासा गर्न माग गरिएको छ ।  बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य कमला वलीले उक्त क्षेत्रको बजेट निकासा गर्न माग गरेकी हुन् । ‘रेशम चौधरी जेलमा रहेको अवस्थामा त्यस क्षेत्रको स्थानीय साझेदारी विकास कार्यक्रम अन्तर्गतको बजेट ६ करोड रोकिएको छ । त्यसकारण  जनता साह्रै दुःखी भएको अवस्था छ । गतवर्ष मैले उक्त क्षेत्रको बजेट विनियोजन गर्ने मौका पाएको थिए ।

त्यसकारण जनताले पटक–पटक मलाई भनेको अवस्था छ । त्यहाँका जनताका लागि भएपनि बजेट वक्तव्यमा आएको रकम तुरुन्त निकासा होस् भन्दै सम्बन्धित मन्त्रालय, नेपाल सरकार र यस सदनलाई जानकारी गराउँदै रकम विनियोजन होस भनी सरकारको ध्यानाकर्षण गराउँछु ।’

राष्ट्रियसभा सदस्य उदयाशर्मा पौडेलले स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्न तयार पारिएको सफ्टवेयरबाट स्थानीय तहको विवरण गायब पारिएको प्रति ध्यानाकर्षण गराएकी छन् । उनले मंसिर १२ गतेबाट पुुस ४ गतेसम्मको विवरण गायब पारिएको भन्दै आइटीलाई सुरक्षित र भरपर्दो बनाउन सरकरको ध्यानाकर्षण गराइन् । उनले भने, ‘आपराधिक ह्याकरहरुले कब्जा गरेको अवस्था छ । केही समयअघि बैंकहरुको एटिएमबाट दुरुपयोग गरेर करोडौं लुटेको अवस्था थियो । यस्तो अवस्थामा आइटीलाई सुरक्षित र भरपर्द बनाउनका लागि सरकारको ध्यान जाओस् ।’

राष्ट्रियसभा सदस्य कोमल वलीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै नेपाल भ्रमण वर्ष २०२० लाई सफलताको शुभकामना समेत व्यक्त गरेका छन् । उनले नेपालीहरुको अतिथि देवो भवको संस्कारलाई अर्थतन्त्रसँग जोडेर जनजीवन उकास्ने समय आएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘साहसिक पर्यटन, कृषि, सांस्कृतिक पयर्टनका साथै अतिथिदेवो भव आचारसंहिता हो । संस्कारलाई अर्थतन्त्र जोड्न सक्नु नै पयर्टन हो । पर्यटन निकै कम लगानी गरिने व्यपार पनि हो’ उनले भने ।

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले उखु किसानहरुको विषयमा सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले देशमा भ्रष्टाचार र अपराध फैलिएको अवस्थामा सरकारले त्यसको रोकथाम गर्नुको सट्टा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुष्ठित पार्ने गरि एने ल्याएको भन्दै चिन्ता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप