मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटनसम्बद्ध संस्था एकताबद्ध, कसले के भने ?

बुधबार, १६ पुस २०७६, १३ : ३४
बुधबार, १६ पुस २०७६

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेको छ । पर्यटनमार्फत आर्थिक समिद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वासका साथ सरकारले भ्रमण वर्षलाई निकै महत्त्व दिएर काम गरिरहेको छ । 

सोही अनुसार बुधबार सरकारले तामझामका साथ भ्रमण वर्षको भव्य उद्घाटन गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट दिउँसो ४ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

 ११ देशका विदेशी विशिष्ट पाहुनासहित ४० भन्दा बढी देशका प्रतिनिधिलाई आमन्त्रण गरिएको समारोहलाई निकै भव्य बनाउने सरकारको तयारी छ । 

  बुधबार नै सातै प्रदेशहरुमा समेत विविध कार्यक्रम गरी पर्यटन वर्षको स्वागत गरिँदै छ । 

पर्यटक भित्र्याउने लक्ष्यका साथ गरिएको यो पहिलो कार्यक्रम भने होइन । यो तेस्रो अभियान हो । योभन्दा अघि सरकारले दुई पटक पर्यटन वर्ष मनाइसकेको छ । सन् १९९८ र २०११ मा दुई पटक पर्यटन वर्ष मनाइसकेको सरकारले अपेक्षित लक्ष्य पूरा गर्न नसके पनि यस पटक जसरी भए पनि लक्ष्य पूरा गरिछाड्ने योजनामा बनाएको छ । 

महत्त्वपूर्ण लक्ष्य लिइएको भ्रमण वर्ष महाअभियानमा निजी–सरकारी साझेदारी कस्तो रहला ? पर्यटनसम्बद्ध संस्थाले सरकारलाई कसरी सहयोग गर्लान्, अनि वातावरण कस्तो बन्ला ? पक्कै यसैले भ्रमण वर्षको सफलता निर्धारण गर्नेछ । 

‘सरकारलाई टानको पूर्ण साथ रहन्छ’
ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदी

‘भिजिट नेपाल २०२०’ को सफलताका लागि हामी सबै एकजुट हुन आवश्यक छ । उच्च सोच, उच्च मनोबल र उच्च लक्ष्यका साथ भ्रमण वर्षमा केन्द्रित हुन आवश्यक छ । यो कमीकमजोरी केलाएर बस्ने बेला होइन । बरु पर्यटन प्रवर्द्धनको यस अभियानमा सरकारलाई सहयोग गर्ने बेला हो । सबै क्षेत्र, तह, तप्का तथा निकायहरु भ्रमण वर्ष सफल बनाउन एकजुट भएर लाग्नुपर्छ । 

भ्रमण वर्षको सफलताका लागि निजी क्षेत्रबाट सरकारलाई सहयोग गर्न टान जिउज्यान दिएर लागेको छ । २० लाख पर्यटन भित्र्याउने सरकारको योजनामा हामी (टान)ले मात्र ८ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका छौँ । 

त्यसका लागि हामीले हाम्रा विदेशस्थित एजेन्सीहरु परिचालन गरेका छौँ । अन्तर्राष्ट्रिय बजारमा भ्रमण वर्षको प्रचारप्रसार र पर्यटक आकर्षित गर्न टानका एजेन्सिस् तथा निकायहरुलाई महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरेका छौँ । 

नेपाल भित्रिने र पदयात्रा गर्ने पर्यटकहरुका लागि टानले सेवामा २० प्रतिशतको छुटको व्यवस्था समेत गरेको छ ।

सबैले हातेमालो गरेर लाग्ने हो भने भ्रमण वर्ष अवश्य सफल हुन्छ । २० लाख मात्र होइन ३० लाख पर्यटक यसैवर्ष नेपाल भित्र्याउन सकिन्छ । पर्यटन प्रवर्द्धनको यस महाअभियानमा टान सकारात्मक छ । भ्रमण वर्ष सफल पार्न सरकारलाई टानको पूर्ण साथ र सहयोग रहन्छ । सहयोगका लागि हामी सरकारको दाहिने हात हुन तयार छौँ ।

‘पाहुनाहरुको स्वागत सत्कारमा हामी तयार छौँ’
होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष  सृजना राणा

भिजिट नेपाल २०२० को चर्चा चुलिएको छ । पर्यटन प्रवर्द्धनको यस महाअभियानले हामी सबैमा उत्साह भरेको छ । सरकारी क्षेत्रदेखि निजी क्षेत्रले समेत यसलाई अपनत्व अनुभव गरेका छन् । यसभित्र केही कमी कमजोरी त छँदै छन् र पनि यस अभियानले नेपालको पर्यटन क्षेत्रलाई गति दिन्छ भन्ने हो । हुँदै नहुनुभन्दा केही त हुनु राम्रो हो । यसले मुलुकको अर्थतन्त्रसमेत माथि उठाउन मद्दत मिल्छ । त्यसैले जिम्मेवारीका हिसाबले हामी यस महाअभियानमा सरकारलाई साथ दिन तयार छौँ । 

अहिले हामी पूर्ण रूपमा भ्रमण वर्षको तयारीमा केन्द्रित छौँ । हाम्रो हस्पिट्यालिटी (सेवा, सत्कार)को क्षेत्र पनि भएको हुँदा हामी भ्रमण वर्षप्रति निकै संवेदनशील र जागरुक छौँ । पर्यटकको सेवा सत्कारमा अझ उत्कृष्टता कसरी प्रदान गर्न सकिन्छ भनेर लागिपरेका छौँ । भ्रमण वर्षलाई नै लिएर हामीले होटल व्यवसायीहरुलाई सेवा सत्कारका विषयमा ट्रेनिङ दिइरहेका छौँ । अबको केही दिनभित्र नै हामीले सरकार (आयोजक) सँग मिलेर एयरपोर्टका कर्मचारीलाई ट्रेनिङ दिने तयारी गरेका छौँ ।

भ्रमण वर्षको सफलताकै लागि सरकारलाई सहयोग गर्न र पर्यटकहरुका लागि सहज वातावरण तयार गर्न हामीले व्यवसायीहरु तयार छौँ । भ्रमण वर्षलाई लिएर हामीले हान अन्तर्गतका होटलहरुमा एकोमोडेसनमा ३० प्रतिशत र लजिङ फुडिङकामा १५ प्रतिशतको छुटको व्यवस्था गराएका छौँ । यो केन्द्रदेखि प्रदेश सबै क्षेत्रमा लागू गरिएको छ ।
भ्रमण वर्षप्रति हामी सकारात्मक छौँ । पर्यटन वर्ष र पर्यटक दुवैको स्वागत गर्न हामी तयार छौँ ।

‘अन्तर्राष्ट्रिय हवाइ क्षेत्रमा ध्यान दिइयोस्’
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) का अध्यक्ष सि.एन पाण्डे

नाट्टा भ्रमण वर्ष २०२० को पूर्ण सफलताको कामना गर्दछ । भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रको तर्फबाट सरकारलाई नाट्टाको पूर्ण साथ र सहयोग रहेको छ । 

पर्यटन वर्षलाई लिएर हामीले सरकारसँग मिलेर धेरै काम गरिरहेका छौं । सन् २०१९ भर हामी यसै अभियानमा व्यस्त जस्तै भयौँ । सन् २०२० सुरु भएसँगै र भ्रमण वर्षको उद्घाटन भएसँगै अब हामी अभियान सफल पार्नतर्फ केन्द्रित हुने छौं । 

पर्यटन प्रवर्द्धनमा विविध समस्याहरु त छँदैछन् । पूर्वाधारको समस्या, अध्यागमनको समस्या तथा पर्यावरणीय समस्याहरु पनि छन् । यी समस्यालाई चिर्दै अभियान सफल बनाउनु छ । भ्रमण वर्षमा आउने पाहुँना(पर्यटकहरु) लाई ट्राभल एण्ड टुरको उचित प्रवन्ध मिलाउने प्रतिबद्धता नाट्टा जाहेर गर्छ । भ्रमण वर्षलाई नै लिएर नाट्टाले पर्यटकहरुका लागि ट्राभल एण्ड टुरमा १० प्रतिशतको छुट व्यवस्था गरेको छ । आउने पाहुनाको सेवामा नाट्टा तम्तयार छ । 

अर्को कुरा हाम्रो अन्तरार्ष्ट्रिय हवाई चार्ज महंगो हुँदा पर्यटक आगमन कम भइरहेको छ । गत वर्ष कुल ७२ लाख आगमनमा १२ लाख मात्र पर्यटकहरु नेपाल आएका थिए । यसले हवाई क्षेत्रमा पर्यटकको आगमन अत्यन्त कम छ । यतातर्फ सरकारले ध्यान दिनुपर्छ । र, अर्को कुरा सरकारले निजगढ विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलको निर्माण चाँडो भन्दा चाढो सम्पन्न गर्नुपर्छ । अनिमात्र पर्यटनका लागि आधारहरु तयार हुन्छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप