बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाहिरबाट रामपुर भित्रिने तरकारी,फलफूल र मासु निरुत्साहन

बुधबार, १६ पुस २०७६, १३ : २९
बुधबार, १६ पुस २०७६

पाल्पा । रामपुर नगरपालिकामा २८ कृषक युवा स्वरोजगारमा छनोट भएका छन् । रामपुरका विभिन्न बैंक तथा नगरपालिकाले विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गरी ९१ जनाको आवेदनबाट स्वरोजगारका लागि ती कृषक छनोट गरेको हो ।  

गत वर्षदेखि शुरु भएको स्वरोजगार कार्यक्रमअन्तर्गत तरकारी खेतीका निम्ति व्यक्तिगत रुपमा खेती गर्दा अनिवार्य दुई रोपनी तथा सामूहिक रुपमा खेती गर्दा १० रोपनी जग्गामा खेती गर्नुपर्ने प्रावधान छ । त्यस्तै कुखुरापालनका लागि व्यक्तिगत पाँच सय कुखुरा तथा सामूहिक रुपमा कुखुरा पाल्ने कृषकले तीन हजार कुखुरा पालेको हुनुपर्ने छ । नगरपालिकाले दिने सहयोगका लागि  बाख्रापालनका लागि व्यक्तिगत १०  बाख्राको माउ हुनुपर्ने र  सामूहिक एक सय माउ बाख्रा पालेको हुनुपर्ने तथा मौरीका लागि व्यक्तिमा २० घार अनिवार्य हुनुपर्ने र सामूहिक भएमा एक सय घार हुनुपर्ने नगरपालिकाले तोकेको छ । 

भैंँसीपालन र  बाख्रापालनका लागि छ–छ, गौपालनका लागि चार, कुखुरापालनका लागि आठ, च्याउ खेती र  बङ्गुरपालनका लागि एक एक तथा आलुखेतीका लागि १२ फर्म चाहिन्छ ।  नगरपालिकामा बाहिरबाट तरकारी फलफूल र कृषि उपज नभित्र्याउनका लागि पहल गरिएको प्रशासकीय अधिकृत वाबुराम अर्यालले जानकारी दिए ।  

नगरपालिकाले यही पुस महिनादेखि बुटवल, पोखरालगायत नारायणगढ क्षेत्रबाट रामपुरमा भित्रिने तरकारी, फलफूल तथा मासुलाई निरुत्साहन गर्ने लक्ष्य लिएको छ । अबदेखि रामपुरका कृषि हाटबजारमा रामपुरकै तरकारी बिक्री गरिने र त्यहाँका कृषकलाई व्यावसायिक बनाएर स्वरोजगार बनाउने योजना भएको नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए । नगरपालिकाले गत हप्ता मात्रै रामपुरमा बाहिरबाट ल्याउने कुखुरा तथा अण्डा ल्याउन रोक लगाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप