शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धार्मिक पर्यटनको प्रचूर सम्भावना बोकेको प्रदेश २ मा यस्तो छ भ्रमण वर्षको तयारी

यी हुन् मुख्य पर्यटकीय गन्तव्य
बुधबार, १६ पुस २०७६, १२ : २१
बुधबार, १६ पुस २०७६

जनकपुर । भिजिट नेपाल २०२० को तयारी प्रदेश नम्बर २ मा भव्यरुपमा भएको छ । प्रदेश नम्बर २ को ८ वटै जिल्लाका विभिन्न स्थानबाट पर्यटकहरुलाई स्वागत गर्दै भिजिट नेपाल २०२० औपचारिकरुपमा शुभारम्भ गरिने छ ।

नेपाल सरकारले निर्धारण गरेको लक्ष्य अनुसार यस वर्ष देशमा २० लाख पर्यटक भित्र्याउने योजना छ । जस अनुसार प्रदेश नम्बर २ मा समेत भिजिट नेपाल २०२० लाई सफल बनाउन प्रत्येक जिल्लामा समन्वय समिति गठन गरि विभिन्न कार्य हुँदै आएको छ ।

भिजिट नेपाल २०२० का लागि प्रदेश नम्बर २ को ८ वटै जिल्लाका मुख्य गन्तव्यस्थलबाट मुख्यमन्त्रीदेखि प्रदेश सरकारका विभिन्न मन्त्रीले पर्यटकलाई स्वागत गर्दै भ्रमण वर्ष शुभारम्भ गर्नेछन् ।

यसका लागि प्रदेश नम्बर २ का ८ वटै जिल्लामा एक मुख्य केन्द्र निर्धारण गरिएको छ भने हरेक जिल्लामा ५/५ वटा गन्तव्य स्थललाई पर्यटकीय नगरीको रुपमा घोषित गरिएको छ । पर्यटकहरुको स्वागतका लागि प्रत्येक जिल्ला र गन्तव्य स्थलमा प्रवेशद्वार बनाइएको छ भने प्रदेशद्वारा गठित समन्वय समितिका पदाधिकारी तथा स्वयंसेवकले समेत त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको स्वागत गर्नेछन् ।

कसले कहाँ स्वागत गर्दैछन् ?

आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वागतका लागि प्रदेश नम्बर २ मा रहेका विभिन्न विमानस्थलबाट भ्रमणका लागि आउने पर्यटकहरुलाई मन्त्रीहरुले स्वागत गर्नेछन् ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम, राजविराज र सिमरास्थित विमानस्थलबाट आउने पर्यटकहरुलाई प्रदेशका मन्त्रीहरुले स्वागत गर्ने कार्यक्रम छ । जनकपुरधामस्थित विमानस्थलमा मुख्यमन्त्री लालबाबु राउत, सिमरामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय र राजविराजमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले विमानस्थल हुँदै आउने पर्यटकहरुलाई स्वागत गर्दै भिजिट नेपाल २०२०को शुभारम्भ भएको उद्घोष गर्ने कार्यक्रम छ ।

हवाईमार्गबाट आउने बाह्य पर्यटकहरुको स्वागत गर्ने कार्यक्रम रहेको भिजिट नेपाल २०२० का प्रदेश सदस्य देवनारायाण मण्डलले जानकारी दिए ।

प्रदेश नम्बर २ को प्रत्येक जिल्लामा फरक फरक ढंगले आफ्नो मौलिकता अनुसार भिजिट नेपाल २०२०को सुरुवात गरिनेछ । त्यस्तै पर्सामा शंकराचार्य द्वारमा भारतीय पर्यटकहरु स्वागत गरिने जनाइएको छ ।

बाराको सिमरा र कलैयामा जिल्लाका पर्यटकीय स्थलको विकास तथा समृद्धिबारे अन्तरक्रिया, रौतहटको गौर र नूनथरमा अन्तरक्रिया, सर्लाहीको मलंगवामा सीमावर्ती क्षेत्र सोनवर्षा हुँदै आउने पर्यटकलाई स्वागत तथा अन्तरक्रिया, महोत्तरीको बर्दिबासमा अन्तरक्रिया र जलेश्वरको भिठ्ठामोड सीमावर्ती क्षेत्र हुँदै आउने भारतीय पर्यटकलाई स्वागत गरिने छ ।

यस्तै, धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा २०२० दीप प्रज्ज्वलन गरी मिठाईका विभिन्न परिकारको प्रदर्शनी, सिरहाको लहानमा सरसफाई तथा र्याली प्रदर्शन र सप्तरीको राजविराज तथा छिन्नामस्तामा अन्तरक्रिया लगायतका कार्यक्रम गरिने सदस्य देवनारायण मण्डलले बताए ।

यी कार्यक्रमहरुका लागि प्रदेश सरकारबाट प्रति जिल्ला ५० हजार रुपैयाँ बजेट उपलब्ध गराइएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले जानकारी दिए ।

प्रदेश नम्बर २ को मुख्य गन्तव्यस्थल

ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको प्रदेश २ धार्मिक पर्यटकलाई बढी आकर्षित गर्दछ । यस प्रदेशमा मठमन्दिर, तलाउ, सरोवर र ऐतिहासिक स्थलहरुको कमी छैन ।

जनकपुरधाम क्षेत्रमा जानकी मन्दिर, सिम्रौनगढमा रहेका राजदरबार लगायतका क्षेत्रहरु ऐतिहासिक हुन् । प्रदेश नम्बर २ मा भिजिट नेपाल २०२०को लक्ष्य हासिल गर्नका लागि ४० स्थानलाई पर्यटनीय क्षेत्रको रुपमा लिइएको छ ।
त्यस्तै यस भेगमा रहेका विभिन्न मठमन्दिरहरुको समेत बेग्लै दन्त्यकथाहरु छन् ।
भिजिट नेपाल २०२० का लागि बारा जिल्लाको अमलेखगञ्जस्थित चुरियामाई स्थान, सिम्रौनगढ स्थित कंकालिनी मन्दिर, रानीबास, गढीमाईको महागढी माई मन्दिर, आधाबारस्थित पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय क्षेत्र हुन् ।

त्यस्तै पर्सा जिल्लामा रामभौरी भट्ठास्थित दुग्धेश्वर महादेव मन्दिर, बिरगंजको घडिअर्वा पोखरी, शंकचार्य गेट, महुवनको पारसनाथ मन्दिर र पर्सास्थित सुर्यगंगा आरतीलाई मुख्य गन्तव्य स्थलको रुपमा लिइएको छ ।
त्यस्तै रौतहटमा गौरस्थित बाराहवा ताल, नजरपुरको निन्जाधाम, शिवनगरको पशुपतिनाथ मन्दिर, बागमतीस्थित नूनथर, चन्द्रनिगहरपुरको शहीद पार्क पनि पर्यटकीय गन्तव्यस्थल हो ।

धनुषा जिल्लामा जनकपुरधामस्थित जानकी मन्दिर, मिथिला आर्ट, विवाह मण्डप, जनकपुर रेल्वे स्टेसन, गंगासागर तलाउ धार्मिक तथा सांस्कृतिक दृष्टिले प्रमुख पर्यटकीय स्थल हुन् । महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर, मठिहानीको लक्ष्मीनारायण मन्दिर, बर्दिबासको पञ्चधुरा माईस्थान, रौजा बजारस्थित मुस्लिमहरुको रौजा मजार, टुटेश्वरस्थित टुटेश्वरनाथ मन्दिरलाई गन्तव्य स्थलको रुपमा प्रदेश सरकारले निर्धारण गरेको छ ।

त्यस्तै, सर्लाहीमा सलेमपुरस्थित चमेलीमाई मन्दिर, बागमतीको हरिहर्क क्षेत्र, चन्द्रनगरको नाधी ताल, लालबन्दीस्थित राधाकृष्ण मन्दिर, सगरनाथस्थित सागरनाथ जंगल सहितका वन क्षेत्र रमणीय छन् ।

सप्तरीमा सखडास्थित छिन्नमस्ता सखडा भगवती मन्दिर, भारदहको कंकालिनी मन्दिर र कोशी टापु, तिरहुत गाउँपालिकास्थित लहजरा ताल, राजविराजको राजदेवी मन्दिर र सिरहामा बन्दीपुरस्थित बाबा ताल, महसोठाको राजा सलहेश स्थान, लहानको पकडिया गढ, ढोढनाको राजदेवी पञ्चवती मन्दिर र लहानस्थित सलहेश फुलबारी लगायतका स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा प्रदेश सरकारले निर्धारण गरेको छ ।
भिजिट नेपाल २०२० को तयारी यस्तो छ 
सन् २०२० को जनवरी १ तारिकमा प्रदेश नम्बर २ को प्रत्येक जिल्ला समन्वय समितिले आफ्ना जिल्लामा बिभिन्न किसिमका साँस्कृतिक कार्यक्रमहरु गर्ने छन् ।

प्रदेश समन्वय समिति र होटल तथा पर्यटन व्यवसायी संघ, प्रदेश नम्बर २ बीच भएको सहमति अनुसार सन् २०२० भित्र होटलमा बास बस्ने पर्यटकलाई कम्तीमा १० देखि २० प्रतिशत रकम छुट दिइने छ ।

त्यस्तै यस प्रदेशभित्र पर्ने हरेक होटलमा आफ्नो जिल्ला बाहेकका अन्य ७ ओटा जिल्लाका पर्यटकीय गणतव्यका तस्बिर टाँस्ने, बीरगंज, बारा, तुलसी, कोशी, जलेश्वर लगायतका प्रदेशका मुख्य प्रवेशद्वारहरुमा पर्यटकहरुलाई धुमधामका साथ स्वागत गर्ने योजना रहेको सदस्य देवनारायण मण्डलले जनाए ।

जलेश्वरमा ईमिग्रेसन अफिस र राजविराजदेखि छिन्नमस्ता हुँदै भारत जाने नाकामा भन्सार कार्यालय स्थापनाका लागि पहल गर्ने, वर्ष २०२० भित्रै सञ्चालन गर्न प्रावधान मिलाउने गरि जनकपुर–पोखरा सिधा उडानका लागि पहल गर्ने, प्रदेशका हरेक स्थानीय तहलाई सक्रिय सहभागिता गराउन जिल्लाहरुमा जनप्रतिनिधिहरुको भेला गराउने र समन्वय गर्ने कार्यक्रमहरु समेत रहेको प्रदेश समन्वय समितिका सदस्य मण्डलले जानकारी दिए ।

त्यस्तै होटल कर्मचारीहरुको व्यवहार परिवर्तन गरी मुस्कान सहितको सेवा दिनका लागि होटल व्यवसायी संघसँग सहकार्य गरी तालिम सञ्चालन गर्ने योजनाहरु समेत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप