शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा राष्ट्रियसभा सदस्यमा ४ पदका लागि निर्वाचन हुने

बुधबार, १६ पुस २०७६, १२ : ०२
बुधबार, १६ पुस २०७६

जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
मंगलबार जनकपुरमा धनुषा जिल्ला अदालतका न्यायधीश एवं मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सो कार्यालयको समुद्घाटन गरेका हुन् ।

निर्वाचन आयोगले आगामी माघ ९ गते प्रदेश २ मा ४ जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले पुस १७ गते मतदाता नामावली प्रकाशन गर्ने, १८ पुसमा अन्तिम नामावली प्रकाशन गरी २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २५ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र  माघ ९ गतेका दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान सञ्चालन गर्ने गरी निर्वाचनको कार्यतालिका तयार पारेको मुख्य निर्वाचन अधिकृत राजु कुमार खतिवडाले बताए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ ।

यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी देशभरिमा जम्मा १ हजार ५ सय ६ जना तथा प्रदेशसभाका ५ सय ५० सदस्य गरी कुल २ हजार ५६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ छ ।
जसअनुसार १ सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा स्थानीय तहबाट २ सय ७२ र प्रदेश सभाबाट १ सय ७ गरी ३ सय ७९ मतदाता हुनेछन्। 

प्रदेश २ मा स्थानीय तहको मतभार ४ हजार ८ सय ९६ छ भने प्रदेश सभा सदस्यको मतभार ५ हजार १ सय ३६ रहेको छ। प्रदेश २ को कुल मतभार १० हजार ३२ रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी मतभार छ ।
यता राष्ट्रिय सभा सदस्य पदका लागि नेकपा र राजपाले गठबन्धन गरेपछि २ पद नेकपा र राजपाले २ पद बाँडफाँड गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप