बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख चयनमा ओली–प्रचण्डबीच विवाद, संसद बैठक २७ गतेसम्म स्थगित

मङ्गलबार, १५ पुस २०७६, १६ : १२
मङ्गलबार, १५ पुस २०७६

काठमाडौँ । पटक पटक सर्दै आएको प्रतिनिधि सभाको बैटक फेरि सरेको छ । पुस ४ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ गतेलाई राखिएको बैठक बस्दै नबसी १६ गतेसम्मलाई स्थगित गरियो । १६ गतेको बैठक पनि सुचना टाँसेर स्थगित गर्दै पुस २७ गतेलाई पुर्याइएको छ । 

अब बस्ने प्रतिनिधि सभा बैठकले सभामुख र उपसभामुख चयनको प्रक्रिया सुरु गर्ने भनिएपनि संसदको ठुलो दल नेकपाले सभामुख र उपसभामुखबारे कुनै निर्णय गर्न नसक्दा बैठक स्थगित हुँदै आएको हो । तर संसद सचिवालयले भने विशेष कारण भन्दै बैठक स्थगित गर्र्दै आएको छ ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकमा सभामुखबारे छलफल गर्ने भनिएपनि एजेण्डामै प्रवेश नगरी सकिएको थियो । 

आइतबार अर्को बैठकमा सभामुखबारे छलफल हुने महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई बताएका थिए । तर अहिलेसम्म न अर्को बैठकको मिति नै तय भएको छ न उपसभामुख शिवमाया तुम्वाहाङफेले नै राजीनामा गरेकी छन् ? जसका कारण सभामुख चयनको प्रक्रिया थप लम्बिन पुगेको छ । 

ओली–प्रचण्ड भएन सहमति 
सभामुखबारे टुङ्गो लगाउन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान भएको छलफल विना निष्कर्ष टुंगिएपछि संसद बैठक पनि सारिएको छ । 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा दुई नेताबीच नेकपाबाटै सभामुखको उम्मेदवार बनाउनेमा एकमत रहेपनि व्यक्ति को हुने भन्नेमा कुरा नमिल्दा समस्या भएको हो । 

‘दुबै नेताले एकले अर्कोलाई कन्भिन्स गर्ने क्रम जारी रहेको छ । दुवैको अडान आ–आफ्नै छ । कसले बढी कन्भिन्स गर्न सक्छ । उसैले अघि सारेको व्यक्ति सभामुखको उम्मेदवार बन्छ’, नेकपाका एक सचिवालय सदस्यको भनाइ छ । 

उनका अनुसार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सुवास नेम्वाङ र प्रचण्ड अग्नि सापकोटाको पक्षमा छन् । 

मंगलबारको बालुवाटार छलफलमा पनि ओलीले नेम्वाङ र प्रचण्डले सापकोटाको पक्षमा अडान नछाडेपछि सहमति जुट्न नसकेको हो ।

यसअघि सभामुखका लागि नेकपाबाट सुवास नेम्वाङ, अग्नि सापकोटा, देव गुरुङ, पम्फा भुषाल लगायतको नाम चर्चामा आएको थियो । उता उपसभामुख शिवमाया तुम्वाहाङफेले पनि आफुलाई सभामुखको दावेदारका रुपमा अघि सार्दै आएकी छन् । 

सबै पद पूर्व एमालेलाई ? 
यसअघि पूर्व माओवादी पक्षबाट कृष्ण बहादुर महरा सभामुख बन्दा उपसभामुख पुर्व एमाले समूहबाट शिवमाया तुम्वाहाङ्फे बनेकी थिइन् । तर हाल दुवै पार्टी एक भैसकेका छन् । तर पनि पार्टी एकताको भावना र पुर्व सहमतिलाई निरन्तरता दिनुपर्ने भन्दै पुर्व माओवादी समुहले अहिले सभामुख चयन गर्दा पुर्व माओवादी समुहबाटै चयन गर्नुपर्ने अडान राख्दै आएको छ । तर पूर्व एमाले समूह भने पार्टी एकता भैसकेको अवस्थामा यो वा ऊ समूह भन्न नहुने तर्क गर्दै आएको छ । 

पूर्वमाओवादी समूहका नेता हरिवोल गजुरेल यसअघिकै सहमति अनुसार अघि बढ्नुपर्ने र त्यसमा दुई अध्यक्षले दायाँबायाँ गर्न नहुने बताउँछन् । 

‘यसअघिको सहमति अनुसार नै सभामुख चयन गर्नुपर्छ । त्यसो गर्दा पूर्व माओवादी समूहबाटै सभामुखको उम्मेदवार बनाउनुपर्छ’, नेकपाको स्थायी समिति सदस्य समेत रहेका गजुरेलले रातोपाटीसँग भने, ‘यो सवैलाई थाहा भएको कुरा हो । विवाद गर्नुपर्ने जरुरी नै छैन ।’ 

उनले पार्टी एकताको प्रक्रिया पूरा भैनसकेकाले पनि पहिलाको सहमतिबाट पछि हट्न नमिल्ने बताए । 

तर पूर्वएमाले समुहका प्रधानमन्त्री ओली निकट रहेका र सभामुखका लागि चर्चामा रहेका सुवासचन्द्र नेम्वाङ भन्छन्, ‘पूर्व भन्ने नै इतिहास भैसक्यो । त्यसैले पुर्व पश्चिम हेर्ने होइन । जो भएपनि नेकपाबाटै हुनुपर्छ । यसको जिम्मा दुई अध्यक्षमा छ ।’

यसअघि पार्टी एकतालाई मध्यनजर गर्दै राष्ट्रपति एमाले पक्षले लिएको थियो भने उपराष्ट्रपति पुर्व माओवादीले पाएको थियो । त्यस्तै सभामुखमा माओवादी र उपसभामुख एमालेको भागमा परेको थियो । तर त्यसपछिका संबैधानिक नियुक्तिहरुमा पूर्वएमाले पक्षले एकलौटी गरेको भन्दै पूर्वमाओवादी पक्ष सन्तुष्ट हुन सकेको छैन । पूर्वमाओवादी समूहका एक नेता भन्छन्, ‘भए–भरका सवै पदमा पूर्वएमाले नै रहने हो भने पार्टी एकताको अर्थ के ? के सवै पद उसैले राख्नुपर्ने हो ?’ नाम नलेख्ने सर्तमा ती नेताले भने, ‘यसरी एकलौटी गर्नू भनेको पार्टी एकता धरापमा पार्नु हो ।’ 

प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गतेलाई बोलाइएकाले उक्त बैठकमार्फत सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने तयारी छ । तर त्यसअगाडि नेताहरुबीच सभामुख र उपसभामुखबारे निर्णय हुन आवश्यक छ ।

किनभने नेकपाले सभामुखमा आफ्नो दावी नछोड्ने भएपछि उपसभामुख शिवमाया तुम्वाहाङफे राजीनामा गर्नुपर्ने हुन्छ । तुम्वाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गराएर सभामुख र उपसभामुख दुवैमा निर्वाचन गर्ने योजना नेकपाको छ । 

तर तुम्वाहाङ्फेले आफूले उपसभामुखबाट राजीनामा दिनुअघि आफ्नो उचित व्यवस्थापन गर्नुपर्ने बताउँदै आएकी छन् । उनले सभामुख चयन प्रकृयामा आफु बाधक नबन्ने बताउँदै पनि आएकी छन् । गत पुस ११ गते बस्ने भनिएको संसद बैठकअघि नेताहरुबीच यसै विषयमा सहमति जुट्न नसकक्दा अन्तिम समयमा सूचना टाँसेर १६ गते बस्ने गरी बैठक स्थगित गरिएको थियो ।

 दुई अध्यक्षबीचको मंगलबारको छलफलमा उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नदिए कसरी अघि बढ्ने भन्नेमा समेत कुराकानी भएको बुझिएको छ । उता नेकपाका महासचिव विष्णु पौडेल सभामुख चयनमा नेकपामा कुनै विवाद नभएको दावी गर्छन् । 

‘यो विवादको विषय नै होइन । कुरो मिल्छ । नयाँ नयाँ विषय आएकाले त्यसमा टुङ्गोमा पुग्न नसकिएको हो’ महासचिव पौडेलले रातोपाटीसँग भने । 

प्याकेजमा सहमतिको प्रयास 
नेकपाका एक शीर्ष नेताका अनुसार सतहमा सभामुखमा विवाद देखिएपनि दुई नेताबीच अन्य विषयमा समेत प्याकेजमा सहमति खोज्ने प्रयास भइरहेको छ । ती नेताका अनुसार सभामुख, आगामी माघ नौ गने हुने राष्ट्रियसभा सदस्य पदका उम्मेदवार र पोलिटव्यूरोमा आउने सदस्यका बारेमा समेत एकमुष्ठ सहमति गर्ने दुई अध्यक्षको तयारी छ ।

ती नेताका अनुसार सभामुख पूर्वएमालेले नै राखे पूर्वमाओवादी समूहका नेतालाई संसदीय दलको उपनेता दिइनेछ । त्यस्तै राष्ट्रिय सभा सदस्यको निर्वाचन समेत निकट भविष्यमै हुने भएकाले त्यसलाई समेत मध्यनजर गरेर समीकरण मिलाउने प्रयास भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप