तनहुँमा ट्र्याक्टर चालकको मृत्यु
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए। परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग१त २३८२ नंको ट्र्याक्टरका चालक रहेको जनाइएको छ ।
ना६त ६८७२ नंको ट्र्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा भेटिएकाले परियारलाई सोही ट्र्याक्टरले किचेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त ट्र्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ । ‘ट्र्याक्टरले किचेर मृत्यु भएपछि शवलाई त्यही छाडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रवक्ता लामिछानेले भने ।
अति विपन्न परिवारलाई सोलार
तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएको घरधुरी छनौट गरी बन्दीपुर गाउँपालिका–६ स्थित बाक्से र खहरेका सात परिवारलाई सोलार वितरण गरेको हो ।
अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । ‘बिजुली नपुगेको गाउँका अति विपन्न र बिजुली पुगे पनि मिटर राख्न सक्ने हैसियत नभएका घरधुरी छानेर सोलार वितरण गरेका हौँ,’ उनले भने, ‘अन्य विपन्नलाई पनि क्रमशः सोलार वितरण गरिनेछ ।’
सोलार प्यानल पाउने सात घरधुरी नै सुकुम्वासी परिवार हो । सार्वजनिक जग्गामा घर बनाएर बसेका उनीहरुले मिटर जडान गर्न पाएका छैनन् । प्रतिघर रु २५ हजार मूल्य बराबरको सोलार प्यानल वितरण गरिएको जनाइएको छ ।
गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् । अहिलेसम्म मैनबत्ती र टुकीको भरमा बत्ती बाल्दै आएकामा सोलार पाएपछि घर नै उज्यालो हुने भन्दै स्थानीयवासी विष्णु नेपालीले खुशी व्यक्त गरे ।
बिजुली बाल्न मिटर जडान गर्न सक्ने अवस्था नरहेको अवस्थामा गाउँपालिकाले सोलार वितरण गरेर उदाहरणीय काम गरेको अर्का स्थानीयवासी सन्तमाया परियारले बताए । गाउँपालिकाले केही समय अगाडि बन्दीपुर गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, निरमाया प्रजा, प्रेमबहादुर रिलामी मगरलाई सोलार वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै