कविशिरोमणिप्रति श्रद्धासुमन
बडाले जे गर्यो काम हुन्छ त्यो सर्व–सम्मत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।
गर्दैन ठूलो व्यक्ति मर्यादा–स्थिति–लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।
दबिन्छ गुणीको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।।
कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।
ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला–धिक ।
गर्दैन कुनै सोझो ग्रहको पूजनादिक ।।
टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महात्मा जुन्किरीसित ।।
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।
मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ।।
जो दिँदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नवर्षने मेघ उसैको हुन्छ घर्घर ।।
हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानु छँदा तक ।।
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।
योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।
मेटिँदैन कसैबाट आफनू कर्मपद्धति ।
वनवासी बने राम चौधै भुवनका पति ।।
धर्म हो धीरको धैर्य राखनू दुःखजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।।
सारा सार लिई कन्था छोडी–दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ?
सङ्गले पनि जाँदैन दुष्टको दुष्टता रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।।
मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूधपान गरी सर्प खालि विष बहाउँछ ।।
(नैतिक दृष्टान्त– लेखनाथ पौड्याल)
परिचय
नेपाली साहित्यमा परिष्कारवादी धाराको सुरुवात गर्ने कवि हुन् लेखनाथ पौड्याल । बाबु दुर्गादत्त र आमा वसुन्धरा पौड्यालका जेठा छोराको रूपमा वि.स. १९४१ पौष शुक्ल एकादशीको दिन उनको जन्म भएको थियो । उनको जन्मस्थल अहिलेको लेखनाथ नगरपालिका अन्तर्गत अर्घौं अर्चलेमा पर्छ । यो नेपालभरि नै साहित्यिक स्रष्टाका नामबाट नामकरण गरिएको एउटै मात्र नगरपालिका हो ।
लेखनाथले ५ वर्षको उमेरदेखि घरमै अक्षर सिक्न थालेका थिए । सुरुमा उनले गङ्गा–गणेश स्तोत्र, अमरकोश, चण्डी अध्ययन गरे । दस वर्षको उमेरसम्म उनले आफ्नो गाउँमा नै संस्कृतको प्रारम्भिक शिक्षा ग्रहण गरे । १५ वर्षको भएपछि उनी काठमाडौँ आएका थिए । केही समय तीनधारास्थित संस्कृत छात्रावासमा बसेर संस्कृतको थप अध्ययन गरे । यहीँ बस्दा उनमा कविता सिर्जनाप्रति विशेष चाख जागृत हुँदै गएको थियो । तीन वर्षको अध्ययन पछि संस्कृत मध्यमा परीक्षा दिन उनी बनारसमा गएका थिए ।
बनारस बस्दा उनले ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा नेपाली र संस्कृत भाषामा कविता प्रकाशित गराएका थिए । उनले बनारसबाट प्रकाशित हुने सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका जस्ता साहित्यिक पत्रिकामा लेख रचना प्रकाशित गराएका थिए । घटराज भट्टराईका अनुसार उनी ‘हलन्त बहिष्कार अभियान’मा लागेका थिए । पछि राममणि राणाका दरबारमा छिरेपछि पौड्याल उनलाई पछ्याउँदै काठमाडौँ आएका थिए ।
उनी बनारसबाट नेपाल आएपछि नेपाली भाषामा कविता सिर्जनाको गतिलाई तीव्र परे । त्यसैबीच १९६१ मा उनकी धर्मपत्नीको निधन भयो । यस पीडाले (१९६१ देखि १९७२ सम्म) विभिन्न किसिमका विरह, वेदना, छटपटी, अभाव, वैराग्य आदिले उनलाई नराम्ररी गाँज्यो । विरक्तिएर छप्कीवास र मुग्लानसम्म पुगे । लेखनाथ जोगी बन्ने मनसायले १९७२ सालमा स्वर्गद्वारी महाप्रभुकहाँ पुगे । स्वर्गद्वारी महाप्रभुको मार्गदर्शनबाट जोगी बन्ने मनसाय छाडिदिए र आफूलाई कर्मशील तुल्याउनुपर्ने आवश्यकता बुझे । यसैबीच उनले सत्यदेवीसँग विवाह पनि गरे ।
साहित्यिक यात्रा
कवि शिरोमणि लेखनाथ पौड्यालको कवितायात्रा वि.सं. १९६१ सालमा प्रकाशित ‘कविता कल्पद्रुम’मा सङ्ग्रहित दुईवटा कविताबाट प्रारम्भ भएको पाइन्छ । १९६९ मा प्रकाशित ‘लालित्य’ भित्र सङ्ग्रहित कविताले उनको प्रतिभालाई नेपाली समाजले अझ राम्ररी बुझ्ने र जान्ने मौका प्रदान गर्यो। यसपछि १९७० मा प्रकाशित उनको ‘शोक प्रवाह’ शीर्षकको शोक काव्य, १९७३ मा प्रकाशित ‘ऋतु विचार’ खण्डकाव्य र १९७३ मा नै प्रकाशित ‘बुद्धि विनोद’ शीर्षकको अर्काे खण्डकाव्यले नेपाली कविता साहित्यलाई नै युगान्तकारी मोड दिन पुग्यो । नेपाली समाजमा उनको ख्याति दिन प्रतिदिन बढ्दै जान थाल्यो । उनी नेपाली कविता साहित्यको आधुनिक कालका प्रवर्तक मानिन थाले ।
१९७६ जेठ २६ गते उनका पिताको देहवशान भयो । यसले उनलाई जीवनमा अर्कौ झड्का दियो । यस पीडाको प्रतिफल स्वरूप उनले १९७६ मा ‘सत्य–कलि संवाद’ शीर्षकको अर्काे कृति प्रकाशित गरे । यो कृतिले पनि नेपाली कविता साहित्यको क्षेत्रमा व्यापक चर्चा पायो । यसपछि उनी साहित्य सिर्जनामा नै लिप्त भएर लागे र थुप्रै फुटकर कविता रचना गरे । तीमध्ये ‘पिँजराको सुगा’, ‘कालमहिमा’, ‘सत्य–सन्देश’, ‘जीवन–चङ्गा’, ‘गौँथलीको चिरिबिरी’ कविता अविस्मरणीय छन् । त्यस्तै उनको प्रकाशित कृतिमध्ये ‘गीताञ्जली’ (१९८६), लक्ष्मीपूजा (नाटक (१९९४), ‘त्याग र उदयको युगल प्रकाशन’ (स्तुतिकाव्य –२००२), ‘अमर ज्योतिको सत्य स्मृति’ (शोक काव्य–२००८), तरुण तपसी (नव्य काव्य–२०१०), ‘मेरो राम’ (खण्डकाव्य–२०११), अभिज्ञान शाकुन्तल (नाटक–२०१५), ‘भर्तृहरि निर्वेद’ (नाटक–२०२०) र ‘गङ्गा गौरी’ महाकाव्य अमर र अमूल्य कृतिका रुपमा रहेका छन् ।
राणाकालीन युगमा खुलेर साहित्य लेख्न पाइँदैनथ्यो । राम्रा सिर्जना पनि आगोमा झोस्नुपर्ने स्थिति थियो । त्यस समयमा स्रष्टाले जेलको चिसो खोरमा सुत्न पर्ने अवस्था पनि थियो । त्यसका बाबजुद उनले जति लेखेका छन् त्यो धेरै नै लेखेका थिए । यसै प्रसङ्गमा उनी आफै भन्थे ‘मेरो समयमा त म एक्लो जस्तै थिएँ । त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो । तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !’
नेपालमा प्रजातन्त्रको उदय भएपछि २००८ असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रूपियाँ आजीवन भत्ता प्रदान गरेका थिए । लेखनाथ पौड्यालले ‘कविशिरोमणि’को पद पाएपछि उनले र्सवप्रथम आफ्ना गुरु दधिराम मरासिनीलाई एउटा चिठी लेखेका थिए । ‘मेरा पूज्य गुरु ! तपाईंले मेरा हात समाएर मलाई कविता यात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु ।’
पौड्यालको शुभजन्मोत्सवको उपलक्ष्यमा विसं २०११ मा नेपाली शिक्षा परिषद्को आयोजनामा उनलाई रथमा राखेर शोभायात्रासहित नागरिक, अभिनन्दन गरिएको थियो । यो काम गर्ने प्रमुख हस्ती गोपाल पाण्डे असीम थिए । साथै यस कार्यमा छाता ओडाउने काम चाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए । त्यसैबेला देवकोटा र समले पौड्याललाई रथारोहण गराएका थिए । त्यस दिन पौडयालका हातमा जनअभिनन्दन पत्रका साथमा पाँच हजार रूपियाँको थैली पनि राखिएको थियो । त्यस घटनाको खुसियालीमा पौड्याल रोएका थिए ।
देहावशान
२०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दुले छपक्कै छोपेको थियो । उनी एउटा आँखा मात्र देख्थे । २०२२ सालमा उनी तीर्थ गर्न बनारस लागे । तर भारतको रक्सौलमा पुगेपछि उनी थला परे र उनलाई रातारात नारायणगढको नारायणीनदीमा ल्याइपुर्याइयो । अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते ८२ वर्षको उमेरमा चितवनको भरतपुरस्थित देवघाटमा कविशिरोमणि लेखनाथ पौड्याल यस संसारबाट बिदा लिए ।
लेखनाथले नेपाली भाषा–साहित्यमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई विसं २०२६ मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा मरणोपरान्त सम्मान गरेको छ । उनको स्मृतिमा सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ ।
परिष्कारवादी कवि लेखनाथ पौड्याल हामीमाझ छैनन् तर उनका कृति भने अविस्मरणीय र युगौँ युगसम्म जीवित रहने छन् ।
कविशिरोमणि लेखनाथ पौड्यालप्रति श्रद्धासुमन !
(विकिपिडियाको सहयोगमा/ मोहन दाहाल)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियङ्का गान्धीसामु आफूलाई साबित गर्ने चुनौती
-
राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सेवा ठप्प
-
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
-
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
-
कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो
-
सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाव