करण चौधरी नाडा कार्यसमितिको हालसम्मकै कान्छा उपाध्यक्ष

काठमाडौं– सीजी मोटोकर्प तथा सीजी होल्डिङ्स्का कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्षमा चुनिएका छन् ।
उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भएका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष समेत बनेका छन् ।
भर्खरै नाडाको अध्यक्षमा निर्वाचित कृष्ण प्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न प्रतिबद्ध नयाँ पुस्ताका अटोमोबाइल उद्यमीहरुको बाहुल्यता छ ।
उपाध्यक्षमा चयन भएपछि सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले भने, ‘अटोमोबाइल व्यवसाय संकटग्रस्त रहेको अवस्थामा पाएको नयाँ जिम्मेबारी चुनौतीपूर्ण छ तर यसलाई म सहर्ष स्वीकार्छु । अटोमोबाइल व्यवसायले गुमाएको गौरवलाई फर्काउन म सम्बन्धित सबै पक्ष र निकायसँग सहकार्य गर्नेछु,।’
नाडामा उनीसहित सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुनेछ ।