शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखको टुङ्गो लगाउन ओली–प्रचण्डबीच छलफल

मङ्गलबार, १५ पुस २०७६, ११ : २५
मङ्गलबार, १५ पुस २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखबारे टुङगो लगाउन बालुवाटारमा छलफल भएको छ ।

सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

प्रतिनिधि सभाको बैठक भोलिलाई बोलाइएकाले उक्त बैठकमार्फत सभामुख निर्वाचन प्रकृया अघि बढाउने तयारी छ । त्यसअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई समेत उपसभामुख पदबाट राजीनामा गराएर सभामुख र उपसभामुख दुवैमा निर्वाचन गर्ने योजनाअनुसार दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ ।

सभामुखका लागि प्रधानमन्त्री केपी ओलीपक्षले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्व माओवादी पक्षबाट अग्नि सापकोटा र हालकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेको नाम चर्चामा आएको छ । नेम्वाङलाई ओली, सापकोटालाई प्रचण्ड र तुम्वाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख उम्मेदवारका रुपमा अघि सारेका छन् ।

तर संसदमा बहुमत रहेको नेकपाले संस्थागत रुपमा कसलाई सभामुख बनाउने भनेर निर्णय गरिसकेको छैन । दुई अध्यक्षबीचको छलफलमा नाम टुङगो लागेपछि सचिवालय बैठकमार्फत सभामुखको उम्मेदवार सार्वजनिक गर्ने नेकपाको उच्च स्रोतले जनाएको छ । दुई अध्यक्षबीच नाममा आज सहमति भए भोलि बिहान सचिवालय बैठक बस्ने र उम्मेदवारको घोषणा गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप