शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिजिट नेपाल २०२० : कस्तो छ नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी ?

२० लाख पर्यटकलाई सेवा दिन हामी तयार छौं: नेपाल नागरिक उड्डयन प्राधिकरण
मङ्गलबार, १५ पुस २०७६, १० : ०७
मङ्गलबार, १५ पुस २०७६

काठमाडौं । मुलुक यतिखेर सरकारले अघिसारेको महत्वाकांक्षी ‘नेपाल भ्रमण वर्ष २०२०’ उद्घाटनको पूर्वसन्ध्यामा छ । सरकारी दावीअनुसार भ्रमण वर्ष उद्घाटनको सम्पूर्ण तयारी पनि पूरा गरिसकेको छ ।

भ्रमण वर्षसँगै २०२० देखि २०३० सम्मलाई पर्यटन दशकको रुपमा मनाउने तयारीमा जुटेको नेपाल सरकारले पर्यटकलाई आकर्षित गर्न कत्तिको सक्ला ? समग्र बहसको विषय बनेको छ ।

पर्यटकहरु प्रवेश गर्ने मूल ढोका मानिएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल’को हवाई तथा यात्रु चाप व्यवस्थापन गर्न के नेपाल नागरिक उड्डयन प्राधिकरण तयार छ ?

‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल’, हवाइ यात्रामार्फत नेपाल यात्रा गर्ने विदेशी पर्यटकहरुका लागि नेपाल प्रवेशको मुल ढोका (प्रवेश द्वार) हो । मूल ढोका नै अव्यवस्थित भएको र यात्रुले आवागमनमा सास्ती भोग्नुपरेका खवर बारम्बार सुनिरहेका नेपाली तथा विदेशी यात्रुले भ्रमण वर्षमा नेपाल भ्रमण गर्लान् ?

यता, भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । जसमा १५ लाखको हाराहारीमा त हवाइ मार्गबाट यात्रु भित्रिने आँकलन गरिएको छ । के नेपालकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले यो यात्रु चापलाई थेग्न सक्ला त ? समग्र चासोको विषय हो । यस्ता प्रश्न उव्जिरहेको बेला नागरिक उड्डय प्राधिकरणले भने भ्रमण वर्षसँगै पर्यटन दशकको लागि तयार रहेको बताएको छ ।

भ्रमण वर्षका लागि प्राधिकरणको तयारी

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल’ नेपाल प्रवेश गर्ने पहिलो ढोका हो । यही ढोका अव्यवस्थित भएमा ‘नेपालः लाइफटाइम एक्सपिरियन्सेस्’ को नाराको सार्थकतामाथि प्रश्न चिन्ह खडा हुने पक्का छ । त्यसैले, पहिलो ढोकालाई नेपाल प्रवेशको चित्रण गर्ने गरी ‘बुटिक एयरपोर्ट’ मा विकास गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलको मुख्य दुई पक्ष ग्राउण्ड कन्जेसन र एयर कन्जेसनमा विशेष ध्यान दिइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । एयर कन्जेसनलाई कम गर्नको लागि लुक्लाका लागि हुने सम्पूर्ण उडान रामेछाप सारिएको छ । सिजनमा लुक्ला उडान धेरै हुने भएकाले रामेछापबाट लुक्ला उडान भर्न थालिएको र जसले गर्दा ग्राउण्ड र एयर कन्जेसनमा केही मात्रामा भएपनि कमी आएको प्रवक्ता क्षेत्रीले बताए ।

अर्को, दिनको समय (पिक आवर)मा धेरै भिडभाड हुने भएकाले स्लड (उडान तालिका) बेलुका र रातिको समयमा बढाइएको छ । खालि समय (लिन आवर)मा थपिएको छ । नयाँ नयाँ जहाजहरुलाई लिन आवरको तालिका दिएको छ । भर्खरै कुवेतबाट नेपाल उडान सुरु गरेको जन्जिर एयरलाइन्स, भारतबाट आउने तयारीमा रहेको भी स्टार, गो एयरलाई पनि रातिको समय तालिका दिइएको छ । प्राधिकरणले अब आउने नयाँ एयरलाइन्स र थपिने उडानलाई पनि साँझको र रातिको समय दिने जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा आएसँगै एयर कन्जेसन र ग्राउण्ड कन्जेसन निकै घटेको प्राधिकरणको दावी छ ।

त्यसैगरी, पुरानो रिमोट ‘पार्किङ बे’लाई पुराना जहाज पार्किङका लागि प्रयोग गरिएको छ । विमानस्थलका खालि ठाउँको सदुपयोग गरिएको छ । चार घण्टाभन्दा बढी समय कुनै जहाज पार्किङमा बस्छ भने पूर्व पट्टिको रिमोट पार्किङमा राख्ने व्यवस्था मिलाइएको छ । यसले पार्किङ बे को चाप कम भएको छ ।

त्यसैगरी विमानस्थलको दक्षिण पट्टि भिजिट नेपाल २०२० लाई मध्यनजर गरेर दुई वटा पार्किङ बे बनाइएको छ यो लगभग १ महिनाभित्र काम सकेर संचालनमा आउने छ । यो पार्किङ बे मा ठूला जहाजहरु (एयर वस ३३०) पार्किङ गर्न मिल्छ भने साना जहाज तीन वटासम्म पार्किङ गर्न मिल्छ ।

विमानस्थलको अध्यागमनमा यात्रुले भोग्नुपरेको समस्याबारे ‘सरकारी निकाय जानकार रहे पनि केही पहल नभएको’ भन्ने आरोपको खण्डन गर्दै प्राधिकरण भन्छ, ‘प्राधिकरणको सहकार्यमा अध्यागमनको समस्या समाधानको लागि काउन्टर परिमार्जनको काम भएको छ । यो काम लगभग सकिनै लागेको छ । काउन्टर परिमार्जन भएसँगै काम छिटो छरितो हुने र यात्रुको विवरण वैज्ञानिक तवरले राखिन्छ । पहिले स्क्यानको भरमा यात्रु पठाउनु पर्ने अवस्था थियो भने अव आई कन्ट्याक्टले रेकर्ड राख्छ । पासपोर्ट स्क्यानिङ पनि हुन्छ । यसले यात्रुको रेकर्ड वैज्ञानिक तवरले सुरक्षित राख्न सकिन्छ । यात्रु जाँचपास डिजिटल हुने वित्तिकै घण्टौं लाइन लागेर जाँचपास गर्नुपर्ने समस्याको अन्त्य हुने भो र छिटो छरितो पनि हुने प्राधिकरणको दावी छ ।

विमानस्थल भित्र घण्टौं कुरेर व्यागेज लिनुपर्ने समस्याको अन्त्यका लागि प्राधिकरणकै पहलमा थप दुई वटा कन्भेयर वेल्ट थप्ने काम भइरहेको छ । संचालनमा रहेका चार वटा कन्भेयर वेल्टमा पनि एउटा विग्रिएको अवस्थामा छ र जम्मा तीन वटाले व्यागेजको चाप धान्नुपर्ने अवस्था छ, जसले गर्दा पनि व्यागेजको लागि घण्टौं कुर्नुपर्ने बाध्यता छ । अहिले, थप दुईवटा कन्भेयर वेल्ट निर्माणको काम सुरु भएपनि प्राविधिक समस्याले गर्दा पूरा हुन सकेको छैन । फ्याट (फ्याक्ट एसेप्टेन्स टेष्ट) नहुँदा समस्या ज्यूँ का त्यूँ छ । कन्भेयर वेल्टका लागि विमानस्थलले टेन्डर गरे पनि फ्याक्ट टेष्ट नहुँदा यो अड्एिको छ । यता प्राधिकरणले भने तीन चार महिनाभित्रमा कन्भेयर वेल्ट तयार हुने बताएको छ ।

विमानस्थलको बाहिर प्रस्थान मार्ग (डिपार्चर)मा केनोपी बन्ने भनिए पनि ढिलाई भएको प्रवक्ता क्षेत्रीले स्वीकारे । केनोपी निर्माण भएसँगै धेरै यात्रु अट्ने र यात्रुलाई आवत जावतमा पनि सहज हुने थियो । उनले  त्यसमा पनि काम भइरहेको र छिटै नै तयार हुने बताए । आगमन मार्ग (एराइभल वे) रसुवा केडीको सहकार्यमा निर्माण भइरहेको छ । रसुवा केडीले डिसेम्बरमै उद्घाटन गर्ने भने पनि काम अझै सकेको छैन । यो आगमन मार्ग बनेपछि यात्रु सिधै तलको पार्किङ स्थलमा निक्किने छन् जसले माथिको विमानस्थलमा आगमनको चापलाई कम गर्न सहयोग गर्नेछ ।

उता डोमेस्टिकको भवनमा पनि कन्भेयर वेल्ट राखिएको छ जसले यात्रु आवागमनलाई छिटो छरितो बनाएको छ । डोमेस्टिकको टर्मिनल पनि थपिने भएको छ । र, सुरक्षा जाँचपासका लागि एक्स रे मेसिनहरु थप्ने तयारीमा रहेकाले यात्रु आवागमन सहज हुने र भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने आशा प्राधिकरणले राखेको देखिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता

नेपालकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा प्रति घण्टा १७ सय यात्रु आवतजावत गर्न सक्ने क्षमता निर्धारण भएको थियो । तर अहिले विमानस्थलको क्षमतामा वृद्धि भएको छ । अहिले जाँचपास सहज, काउन्टर थप, अनि इमिग्रेसन डिजिटल भएसँगै दुई हजार यात्रु आवज आवत गर्न सक्ने क्षमता राख्ने प्राधिकरणको दावी छ ।

प्राधिकरण भन्छ, ‘भिजिट नेपाल २०२० मा प्रति घण्टा २५ सय यात्रुलाई आवत जावत गराउन सक्ने गरी क्षमता विकासमा लागेका छौं । अलिकति भिडभाड त हुन्छ तर पनि प्रति घण्टा २५ सय यात्रुलाई जाँचपास, इमिग्रेसन, काउन्टर क्लियरेन्स गर्न सक्छौं ।’

विमानस्थलमा टर्मिनल सानो भए पनि अन्य सुविधाहरु बढेको छ । पहिले एयरलाइन्सको काउन्टरमा हातले लेखेर यात्रुको क्लियरेन्स गर्नुपर्ने अवस्था थियो भने अहिले एयरलाइन्स काउन्टरहरु डिजिटल प्रविधिमा गइसकेको छ । सफ्टवेयरबाट छिटो छरितो काम हुन्छ, आई कन्ट्याक्ट, पासपोर्ट स्क्यानिङ, सुरक्षा जाँचमा चार वटा एक्स रे मेसिन छन्, कन्भेयर वेल्ट थपिँदै छन् । विमानस्थलमा प्रविधि भित्रिएसँगै र समसामयिक सुधार भएकाले २५ सय यात्रु थेग्न सक्ने क्षमतामा विमानस्थल भएको प्राधिकरणका पदाधिकारीहरु बताउँछन् ।

विमानस्थलले एक वर्षमा १५ लाख पर्यटकलाई सेवा दिन सक्ला ?

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्य पुरा हुन विमानस्थलको अवस्थाबारे चासो हुने गरे पनि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भने विमानस्थल र उडानमा कुनै समस्या नहुने बताएको छ । २० लाख पर्यटकमा १५ लाख हवाई मार्गबाट र पाँच लाख सडकमार्गबाट ल्याउने सरकारको तयारी छ ।

विमानस्थलको धावन मार्ग स्तरोन्नति (रनवे रिह्याब)को काम सकिएको छ । त्यसैगरी, ड्रेन वर्क, ट्याक्सी वे, सेन्टर लाइन लाईटको काम सकेर निर्माणको जिम्मा लिएको चाइनाको चाइना एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनले नेपाल नागरिक उड्डय प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ ।

विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु आवागमनको तथ्याङ्क हेर्दा २०१८ मा आन्तरिक र बाह्य गरि ७२ लाखले आवागमन गरेका थिए । जसमा नौं लाख ६९ हजार त पर्यटक मात्रै थिए ।

त्यसैगरी, विमानस्थलको २०१९ जनवरी देखि नोभेम्वर सम्मको तथ्याङमा भने बाह्य ३७ लाख ६७ हजार सात सय १२ ले आवागमन गरेका छन् । २०१९ नोभेम्बरसम्म २९ हजार पाँच सय ९३ अन्तर्राष्ट्रिय फ्लाईटहरु भएको टिआइएको तथ्याङ्कमा उल्लेख छ ।

२०१९ को जनवरी देखि नोभेम्वरसम्म आन्तरिक तर्फको तथ्याङमा २९ लाख २१ हजार पाँच सय १६ले आवागनम गरेका छन् भने  ८४ हजार पाँच सय ५६ आन्तरिक उडान भएको तथ्याङ्क छ ।

२०१८ को तथ्याङ्क हेर्दा २०१९ मा यात्रु आवागमन घटेको देखिन्छ । यसको पनि कारण छ २०१९ मा विमानस्थलको स्तरोन्नतीका लागि विमानस्थलको धावनमार्ग पूननिर्माण भयो, जुन समय विमानस्थल दैनिक आठ घण्टा बन्द नै भयो । त्यसैगरी, पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनले पर्यटन मन्त्रालय तथा पर्यटन क्षेत्रमा नै असर गर्यो ।

मलेसियाको क्वालालम्पुर–काठमाडौं, काठमाडौं–क्वावालालम्पुर हवाई सेवा दिइरहेको एयर एसियाले पनि उडान बन्द गर्यो । त्यसैगरी, नियमित उडान गरिरहेको भारतको जेट एयरले पनि आफ्नो उडान बन्द गर्यो, जसका कारण पर्यटक आवागमन २०१९ मा केही घट्न गयो ।

अहिले विमानस्थल दैनिक २१ घण्टा संचालनमा आइसकेको छ र विमानस्थल २४ सैं घण्टा संचालनको लागि तयार भएको विमानस्थलले जनाएको छ । विमानस्थलको क्षमता अभिवृद्धि भएसँगै एयर ट्राफिक कन्जेसनका कारण जहाजले आकाशमै घन्टौं फन्को मार्नु पर्ने अवस्थाको अन्त्य भएको प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए ।

उनले भ्रमण वर्षको तयारी तिव्र पारिएको र यात्रु आवागमनलाई कसरी सहज बनाउनेमा प्राधिकरण केन्द्रित रहेको बताए । यस अघि टिआइएका महाप्रबन्धकसमेत रहेका क्षेत्रीले विमानस्थल रनवेको स्तरोन्नती, विमानस्थलको आन्तरिक व्यवस्थापन, साज सज्जा, ट्याक्सी पार्किङलगायतलाई व्यवस्थित गर्दै विमानस्थललाई बुटिक शैलीमा परिवर्तन गराएका थिए ।

प्राधिकरणका प्रवक्ता क्षेत्री भन्छन्, ‘अहिले विमानस्थलको क्षमता बढिसकेको छ, ग्राउन्ड कन्जेसनको समस्या छैन र २४सैं घण्टा संचालन गर्न सकिने भएकाले १५ लाख भन्दा धेरै पर्यटकलाई सेवा दिन हामी तयार छौं ।’

भ्रमण वर्षमा नयाँ विमान भित्रिदै

भ्रमण वर्षलाई मध्यनजर गरेर सरकारले विमान थप्ने योजना बनाएको छ । केही नयाँ एयरलाइन्सहरुले अहिले दिल्ली–काठमाडौं, काठमाडौं दिल्ली उडान थपेका छन् । एयर एसियालाई पनि उडान अगाडि बढाउन सरकारले आग्रह गरेको छ । भारतको स्टार एयर, गो एयर पाइप लाइनमा छन् । त्यसैगरी फिनल्याण्डबाट फिनिस एयर, श्रीलंकाबाट श्रीलंकन एयरलाइन्सले नेपाल आउन रुचि देखाएको प्राधिकरणले जनाएको छ ।

नेपाल वायु सेवा निगम पनि बाह्य तथा आन्तरिक उडान थप्ने क्रममा छ । चीनका विभिन्न सहरमा पनि उडान थपिएका छन् । नेपालको हिमालयन एयरलाइन्सले चीनको बेइजिङलगायतका विभिन्न सहरमा उडान सुरु गरेको छ । हिमालयन एयरले अझै तीन वटा जहाज थपेर उडान बढाउने योजना अगाडि सारेको छ । त्यसैगरी, बुद्ध एयरले पनि भारतका विभिन्न सहरमा उडान भरिरहेको छ ।

नयाँ विमान कम्पनी भित्रिने र उडान संख्या बढ्दा विमानस्थललाई समस्या नहुने प्राधिकरण बताउँछ । प्राधिकरण भन्छ, ‘अहिले दिनको समयमा उडानका लागि समय दिन नसकिने तर रातिको समयमा अनुमति दिन सकिन्छ ।

एयर ट्राफिकको अवस्था

विमानस्थलबाट अहिले दैनिक २८ वटा एयरलाइन्सले सेवा दिइरहेका छन् । सिजनको समयमा बाह्य मात्र एक सय १० वटा सम्म उडान तथा अवतरण हुने गरेका छन् । त्यसैगरी, आन्तरिक उडान तथा अवतरण तीन सयको हाराहारीमा हुन्छ । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य गरी चार सय उडान तथा अवतरण हुने गरेका छन् ।

लुक्ला उडानलाई रामेछापबाट गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप केही कम भएको छ । त्यसैगरी, ट्रङ्क रुटको एयरपोर्टहरु भैरहवा, धनगडी, नेपालगंज, विराटनगर, चन्द्रगढी, जनकपुर, पोखरा आदि स्थानमा रात्रि उडानलाई प्राथमिकता दिन प्राधिकरणले आग्रह गरेको छ । र आन्तरिक उडानहरु काठमाडौंबाट मात्रै हुँदै आएकोमा अहिले आएर पोखराबाट भैरहवा अनि पोखराबाट भरतपुर सिधै उडान हुन थालेको छ । यसले काठमाडौंको एयर कन्जेसन कम गराएको छ । अव विराटनगरबाट पोखरा र पोखराबाट नेपालगञ्ज उडान हुँदैछ, यसले काठमाडौंको एयर कन्जेसनमा अझै कमि ल्याउने प्राधिकरणले बताएको छ ।

त्यसैगरी प्राधिकरणले आकासमा जहाज होल्ड हुन नदिन र एयर ट्राफिक व्यवस्थापनका लागि एयर ट्राफिक कन्ट्रोलमा कार्यरत कर्मचारीहरुलाई विशेष चनाखो राख्न तालिम तथा मोटिभेसनको जरुरत महसुस गरेको छ । वैज्ञानिक तरिकाले एयर ट्राफिक कन्ट्रोल गर्न अनुभवी र दक्ष कर्मचारी व्यवस्थापनमा पनि प्राधिकरण केन्द्रित भएको जनाएको छ ।

उता, २०२०को मध्यतिरदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि संचालनमा आउने पर्यटनमन्त्री योगेश भट्टराईले बताउँदै आएका छन्,  यता, प्राधिकरण पनि भैरहवा विमानस्थल संचालनमा आएपछि एयर ट्राफिक व्यवस्थापनमा कुनै पनि समस्या नहुने बताउँछ । 

त्यसैले, प्राधिकरणले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल आउने पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि समस्या नहुने र पर्यटकहरुलाई ढुक्क भएर नेपाल भ्रमण गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप