मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मदिरा पिएर सडकमै होहल्ला गरेपछि मेयर फन्दामा, प्रहरीले मेयर भन्ने चिनेपछि सुटुक्क घर पठाइयो

सोमबार, १४ पुस २०७६, १६ : ५०
सोमबार, १४ पुस २०७६

काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई कञ्जनपुर प्रहरीले पक्राउ गरी कारवाही गरेको तथ्य खुलेको छ । 

आइतबार राती महेन्द्रनगरको एक दोहोरी साँझको बाहिर मदिरा पिएर होहल्ला गरेको पाइएपछि धामीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको थियो । 

नेपाली काँग्रेसबाट विजयी भएका मेयर धामीको कञ्चनपुरको भिमदत्तमा समेत घर रहेको छ । मेयर धामी घर नजिकैको एक दोहोरी साँझमा आइतबार साँझ पुगेका थिए । दोहोरी साँझमा नै मदिरा पिइ होहल्ला गरेपछि उनलाई त्यहाँबाट बाहिर निकालिएको थियो । दोहोरी साँझबाट बाहिर आएर पनि होहल्ला जारी राखेपछि स्थानीयले प्रहरीको कन्ट्रोलमा फोन गरी हल्ला भइरहेको जानकारी दिएका थिए । 

त्यसलगत्तै पुगेको प्रहरीले मेयर अमरसिंह धामीसहित अन्य दुई युवालाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरी मापसे चेकजाँच गरी मेडिकलसमेत गराइएको थियो । 

सुरुमा सामान्य मानिस होला भनी प्रहरीले धामीलाई पक्राउ गरेको थियो । पहिले आफ्नो परिचय लुकाएका धामीले प्रहरीले थुन्ने नै भएपछि मात्रै आफू मेयर भएको जानकारी दिएका थिए । त्यसपछि प्रहरीले मेयरसहित पक्राउ परेका अन्य दुई युवालाई पनि आइतबार राती नै घर पठाएको थियो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार सडकमा होहल्ला भएर ३ जना व्यक्तिलाई सोधपुछका लागि प्रहरी कार्यालय ल्याइएको थियो । तर बाहिर समाचार आएजस्तो डान्सबारबाट नै मेयरलाई पक्राउ गरिएको कुरा असत्य भएको मरासिनीले बताए । 

उनले भने, ‘एक दोहोरी साँझको अगाडि होहल्ला भइरहेको छ भनी स्थानीयले प्रहरीको कन्ट्रोलमा फोन गर्नुभयो । हामी त्यहाँ पुग्दा दुई जना युवाहरु चर्का स्वरमा कराइरहेका थिए । त्यहाँ अर्का एकजना अलि बढी उमेरका व्यक्ति पनि थिए । हामीले उनीहरु ३ जनालाई नै प्रहरी कार्यालयमा ल्यायौँ । उनीहरुको मेडिकल गरायौँ । तर उहाँहरुले हल्ला मात्रै गरेको र तोडफोड वा अन्य कुनै क्षति नपुर्याएको तथा उजुरी पनि नआएको भएपछि सम्झाई बुझाई गरी घर पठाइएको हो । खासमा मेयरसा’बले ती दुई युवालाई सम्झाउनुभएको भन्ने कुरा आएको छ । दुई युवाहरु मेयरसा’बकै चिनजानका मान्छे रहेछन् । तर मेयरसाबले पनि अलिकति खानुभएको रहेछ । हामीले प्रक्रियाअनुसार नै गरेर उहाँहरुलाई राति नै घर पठाएका हौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप