केन्द्रीय संस्करण

घुमघाम : बाक्लो हिमपातमा गोसाइकुण्ड यात्रा

person explore access_timeपुस १४, २०७६ chat_bubble_outline0

हिमाली जङ्गलबीच साँघुरो बाटो, झमक्कै साँझमा एक्कासि आमने सामने हुँदा खच्चड जस्तो लागेर हान्न खोज्दा त लाटो मान्छे रहेछ । ठूलो दुर्घटना हुनबाट जोगियो । काठमाडौँ फर्कंदा बाटोभरि यही पल सम्झेर अमृतलाई जिस्क्याउँदै रमाइलो यात्रा टुङ्गियो ।

यात्रा थियो गोसाइँकुण्डको । यही मङ्सिर २५ गते अमृत, कृष्ण, बाबुराम, नवराज लगायत म गोसाइँकुण्ड यात्राका लागि अफिसको एउटा स्कोरपियो लिएर बिहान करिब आठ बजे काठमाडौँबाट प्रस्थान गर्यौँ । खानीखोलामा चिया नास्ता गरेर गल्छी हुँदै बेत्रवती पुगेर पार्वती दिदीको होटेलमा मकैको ढिँडो र लोकल कुखुराको मासुसित खाना खायाँै । त्यो ठाउँमा त्रिशूली नदीमा तादी खोला मिसिएको त्रिवेणी जसलाई उत्तर गया भानिन्छ, आफैमा पवित्र धाम रहेछ ।

परिवारको सदस्यको मृत्यु भएमा एक पटक त्यहाँ गएर पितृको आत्माको शान्तिका लागि श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता रहेछ । मठ मन्दिर एवम् धामको दर्शन सकेर हामी कालिकास्थानको उकालो हुँदै राम्छेको ठूलो पहिरो छिचोलेर करिब छ बजे धुन्चे पुग्यौँ । धुन्चे नेसनल होटेलमा बास बस्यौँ । बेलुका खानपिनसँगै भोलिदेखि सुरु गरिने पदयात्राको लागि जति उत्साहित थियौ । इरानबाट आउने निम्न चापीय वायुका कारण हिमाली क्षेत्रमा हुने व्यापक हिमपातको मौसम पूर्वानुमान एवम् मौसम विभागको सतर्क रहन जारी चेतावनीको कारण केही चिन्तित पनि थियौँ । तर सतर्क हुँदै यात्रा जारी राख्ने निर्णय गर्यांै ।

मङ्सिर २६ गते बिहानै ६ः३० बजे तयार भर पदयात्रा सुरु गयौँ । घोडेटो बाटोमा खच्चडको ताँती, खोलाको कलकल, चराको चिरबिर, लङ्गुरको उफ्रीपाप्री बीच रमाउँदै ठाडै उकालो चढ्यौँ । यस्तो बाटोमा पदयात्रा गर्दै करिब ८ः३० बजे देउराली पुगेर मैले र कृष्णले चिया खाएर बस्दै गर्दा आधा घण्टापछि बाँकी साथी आइपुगे । खासमा अमृतलाई उकालो हिँड्न खुब गाह्रो परेछ । झन्डै यात्रा स्थगित गरेछ । त्यहाँ आएपछि मैले प्रेरित गरेपछि यात्रा जारी राख्न ऊ तयार भयो । बाबुराम र म छिटो हिँड्न सक्ने कारण हामी अगाडि लाग्यौँ । ठाडो उकालो जङ्गली बाटो पार गरी ३२५० मि. उचाइमा रहेको चन्दनबारी पुगेर शेर्पेनी दिदीको होटेलमा खाना अडर गर्यौँ । चन्दनबारी याक चिज उत्पादनका लागि प्रख्यात छ । 

एक घण्टापछि आगो तापेर बस्दै गर्दा बाँकी साथीहरु आइपुगे । अनि खाना खाएर अगाडिको यात्राका लागि हिँड्यौँ । अमृतले धेरै गाह्रो भयो, आज यही बसौँ भने । तर मौसम चिसो, बादल लागेकाले सम्भावित हिमपातको जोखिमबाट बच्न त्यस दिन लौरीविनायकसम्म पुग्ने वाचा गर्यौँ । ठाडै उकालो जङ्गलको बाटो, धुम्म मौसम, चराचुरुङ्गीको चिरबिरको मजा लिँदै चोलापाती पुगेर चिया खायाँै । त्यहाँ पुग्दा मौसम पूरै खुलेर लाङटाङ हिमाल हासेको थियो ।

औँलाले नै चुचुरो छोऊँ जस्तो लाग्ने नजिकको दृश्यले हाम्रो पनि मनै प्रफुल्ल भयो र भगवान शिवले हामीलाई दर्शनका लागि बोलाएको महसुस गरी पुनः ठाडै उकालो यात्रा गरी ४ः३० बजे लौरीविनायक पुगेर माया होटेलमा बास बस्याँै । यो मौसम विदेशी पर्यटकको अफ सिजन भएकाले हरेक ठाउँमा १, १ होटेल मात्रै पालो अनुसार खुला हुँदोरैछन् । बाँकी होटेल बन्द हुने रहेछन् । त्यहाँ आगो ताप्दै कसैले बियर कसैले रक्सी पिउँदै केही विदेशी र केही स्वदेशी यात्रीसँग रमाइलो गर्यौँ । होटल साहुले सोधेको प्रश्नमा आजै धुन्चेबाट हिँडेको भनेपछि सबै पर्यटकले जिब्रो टोके । साहुले तपाईंहरु त घोडा हो कि के हो ? भन्दा साहासी सम्झिएर मनै फुरुङ्ग भयो । अमृतलाई टाउको दुखेर गारो भइरहेको थियो । किनभने हामी धुन्चेको २ हजार मिटर उचाइबाट लौरीविनायकको ३९८० मि. उचाइमा पुगेको थियौँ । एक दिनमै ८०० मि. भन्दा बढी पदयात्रा गर्दा लेक लाग्ने जोखिम उच्च हुन्छ । तर हामीले करिब २ हजार मि.को पदयात्रा एकै दिनमै पूरा गरेका थियौँ । 

मङ्सिर २६ गते उठ्दा जता ततै सेताम्मे हिउँ नै हिउँ थियो । रातिदेखि परेको हिमपात अहिले पनि जारी थियो र हिउँको सतह बढ्दै थियो । त्यो होटेलमा बस्ने सबैजनाले एक साथ यात्रा गर्ने निधो गरे । करिब ६ बजे यात्रा सुरु गर्यौँ । त्यहाँबाट बुद्ध मन्दिर हुँदै उकालो यात्रा गर्दा ठूलो हिमपात भइरहेको थियो र जोड जोडसँग हावा पनि चलिरहेको र निकै चिसो थियो । ‘अघिल्लो दिन घोडाजस्तै हिँड्ने’ उपाधि पाएको मेरो गोडा थर थर काप्दै थियो । ठूलो हिमपातको जोखिमबीच हाम्रो यात्रा गोसाइँकुण्डका लागि जारी थियो । सानो पत्थारे बाटो, ठूलो हिमपात, जोडले चलेको हावा र अक्करे भीरमा यात्रा गर्दै हामी करिब ३ घण्टा पछि सरस्वती कुँड, भैरव कुँड हुँदै अन्ततः शिव भगवानले घटीमा अड्केको कालकुट विषको डाहा शान्त पार्न आफ्नो त्रिशूलले हानेर पानी निकालेको पवित्र भूमि गोसाइँकुण्ड पुगिछाड्यौँ ।

४३८० मि.को उचाइमा रहेको त्रिशूली नदीको शिर पुगेर पूजा आजा, जल शेचन गर्दा भगवानको आशीर्वाद महसुस गर्यौँ । त्यत्रो जोखिमका बीच दर्शन पाएकामा आफूलाई भाग्यमानी सम्झियौँ । करिब २ घण्टापछि हिमपातबीच २ घन्टाको चिप्लो र ओरालो यात्रा गरी लौरीविनायक पुगी आफ्नो समान लिएर चोलापाती हुँदै चन्दनबारी पुगेर खाना खायौँ ।

दिनैभरि परेको भारी हिमपात, २ फिटसम्म जमेको हिउँमा अगाडि जानेको पाइला पच्छ्याउँदै हिउँमा लड्दै र पड्दै हाम्रो यात्रा जारी थियो । यात्रा सफल भएकोमा मनभरी खुसी नै खुसी थियो । अमृतलाई अझै गाह्रो भइरहेको थियो । त्यस दिन चन्दनबारी नै बस्न अनुरोध गर्दै थियो । तर लगातार हिमपातले भोलिपल्ट बाटो नदेख्ने र केही दिन अवरोध हुनसक्ने भएकाले ओरालो यात्रा गरेर देउराली पुगी चिया खायौँ । देउरालीभन्दा तल फुस फुस मात्रै हिमपात थियो । घट्टेखोला किनारको होटेलमा बास बस्ने तय गरी आउँदै गर्दा झमक्कै साँझ पर्यो । अमृत एक्कासि साँगुरो बाटोमा जाम्का भेट भएको आकृति खच्चड जस्तो लागेर लौरोले हान्न खोज्दा त लाटो मान्छे पो रहेछ । 
होटेलमा पुगेर लोकल भाले काट्न लगायौँ । जोखिमबीच हिमपातको रोमाञ्चकतासँगै यात्रा सफल भएकोमा आनन्दसँग सुत्यौँ ।

मङ्सिर २८ गते बिहान १ घण्टाको पैदल यात्रा गरी धुञ्चे पुगेर गाडीमा देवीघाट आएर लन्च गर्यौँ । अमृतलाई लौरो कान्डमा जिस्क्याउँदै बेलुका काठमाडौँ आएर यात्रा टुङ्ग्यायौँ । नवराज पेसाले एक पथ प्रदर्शक भएकाले उनले हिमपात हाम्रा लागि भगवान शिवको प्रसाद भनेकाले आफूहरुलाई धन्य महसुस गरी गर्वले छाती ढक्क फुल्यो ।


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...