आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल फकाउन जुटे देउवा : निधि पुगे बोहोराटार

सोमबार, १४ पुस २०७६, १५ : ४०
सोमबार, १४ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पछिल्लो निर्णयमा असहमत पक्षसँग संवादअघि बढाएका छन् । 

संस्थापन इतर पक्षको उपस्थिति बिना सभापति देउवाले गत शुक्रबारको केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने र विधानका धारा निलम्बन गर्ने जस्ता निर्णय गरेका थिए ।

उनको उक्त निर्णयप्रति आपत्ति जनाउँदै आएको इतर पक्षले निर्णय सच्याउन माग गर्दै आएको छ ।

पार्टीमा विवाद चर्किदै गएपछि सोमबार बिहान उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा पुगेका  हुन् ।

आइतबार संस्थापन पक्षका नेताहरु पार्टीमा पछिल्लो समय उत्पन्न विवाद समाधानमा लागि देउवा निवास बूढानीलकण्ठमा भेला भएका थिए ।  

देउवा पक्षीय नेताहरूबीच भएको भेलाले पार्टीको विभाग र नेविसंघ गठन तथा तरुण दलको कार्यसमिति विस्तार गर्दा सबै पक्षलाई समेटेर जानुपर्नेमा जोड दिएको थियो । सोही अनुसार बैठकले इतर पक्षसँग वार्ता गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयअनुसार उपसभापति निधि पौडेल निवास पुगेका हुन् । सो छलफलमा दुबै पक्ष मिलेर जाने विषयमा छलफल भएको निधिले बताए । 

निधिले भने, ‘वरिष्ठ नेताजीको निवासमा पुगेको थिएँ । पार्टीभित्रको गतिविधिसँगै राष्ट्रिय राजनीतिका विषयमा कुरा भयो । सबै मिलेर जानुपर्छ, सहमतिबाटको विकल्प छैन भन्ने कुरा राखेँ । उहाँले  शुक्रबार गरिएका निर्णय सच्याउनु । त्यसपछि कसरी अगाडि जाने भन्ने कुरा गरौँला भन्नुभयो ।’ 

राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी छलफलका  र सभामुख चयनका विषयमा आन्तरिक छलफलको तयारीका लागि पनि पौडेललाई फकाउन देउवाले लागि परेका छन् । 

त्यसका लागि केही दिनभित्र पदाधिकारी र केन्द्रीय समिति बैठक बोलाउने देउवाको सोच छ ।

यता पौडेल पक्षले शुक्रबारको निर्णय नसच्याए आगामी बैठकमा उपस्थित नहुने बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप