शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा नमूना ट्रान्सपोर्ट भिलेजको गुरुयोजना

सोमबार, १४ पुस २०७६, १५ : ००
सोमबार, १४ पुस २०७६

बुटवल । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट) लाई एकै स्थानमा व्यवस्थित गर्ने काम सुरु गरेको छ । बुटवलमा अब अलग्गै ढुवानी ग्राम अर्थात् ट्रान्सपोर्ट भिलेज बन्नेछ ।  व्यस्त सहर क्षेत्रमा असहज भइरहेका बेलामा उपमहानगरपालिकाले ढुवानीका सबै व्यवसायहरुलाई एकै ठाउँमा व्यवस्थित गरेर सञ्चालन गर्न लागेको हो । यो उपमहानगरले गरेको अर्को महत्वपूर्ण कामको सुरुआत हो । ढुवानीग्रामको गुरुयोजना नै बनाएर काम अगाडि बढाइएको हो ।

प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापनका कामहरुमा चुनौती थपिँदै गइरहेका बेलामा बुटवल उपमहानगरपालिकाले सहरमा छरिएर रहेका ट्रान्सपोर्ट जति सबैलाई एकै ठाउँमा व्यवस्थित गर्ने भन्दै गत वर्ष माघमा नै कार्यपालिकामार्फत निर्णय गरेको प्रमुख शिवराज सुवेदीले जानकारी दिएका छन् ।

योसँगै अहिले निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढाइएको छ । सहरभरि छरिएर रहेका ट्रान्सपोर्ट भिलेजहरुलाई एकै ठाउँमा व्यवस्थित गर्ने भनि बुटवलले गरेको यो निर्णयको सबैले स्वागत गरेका छन् । ढुवानीका सवारी साधन, व्यवसायीका साथै शौचालय, अस्पताल, गेष्टहाउस, सुरक्षा चौकी, ग्यारेज र नापतौल एवम् गुणस्तर चेकजाँचका औजारहरुसमेत एकै ठाउँमा राख्नेगरी निर्माण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

नयाँ गाउँमा व्यवस्थित ढुवानीग्राम बन्दै

बुटवल उपमहानगरले वडा नं.१२ नयाँगाउँमा  बहुउद्देश्यीय ढुवानीग्राम निर्माणको काम सुरु गरेको छ । उक्त ढुवानीग्रामका लागि बुटवलमा रहेका व्यवसायीहरु समेत सुरुमै निरीक्षण गर्दै सहकार्यको प्रतिबद्धता जनाएका थिए ।

यसैबीच बुटवल उपमहानगरपालिकाले ढुवानी ग्राम निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता समेत गरिसकेको छ । बिओटी मोडलमा (बिल्ट, अपरेट र ट्रान्सफर्मर मोडल) निर्माण हुने उक्त ढुवानी ग्राम निर्माणका लागि वि.सं. २०७५ माघ २५ गते कार्यपालिकाले गरेको निर्णय गरेको र प्राथमिकताका साथ काम भइरहेको प्रमुख सुवेदीको भनाइ छ ।

ढुवानी ग्राम निर्माणका लागि बुटवल उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालिबीच हालै सम्झौता भएको हो । उपमहानगरपालिकाका तर्फबाट उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा, निर्माण कम्पनीका तर्फबाट रुपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरे र कार्यदलका सदस्य माधव नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा स्थानीय अगुवा तथा समाजसेवीहरुलाई पनि रोहबरमा राखिएको छ । रोहबरमा स्थानीय अगुवा तथा समाजसेवीका तर्फबाट टंकप्रसाद पोखरेल रहेका छन् ।

त्यसका लागि २०७६ असोज १८ मा मनसायपत्र आह्वान गरिएको थियो । जसमा बुटवल ४ स्थित रुपन्देही परिवहन प्रालि र रामपुर ढुवानी सेवा सूचिकरणमा परेका थिए । पछि प्रस्ताव मूल्याँकनका आधारमा परिवहन प्रालिसँग निर्माणका लागि सम्झौता भएको थियो । ढुवानीग्राममा जम्मा ४९ सेडहरु निर्माण हुनेछन् । ती सबै सेडहरु अन्तर्रािष्ट्रय मापदण्डका हुने जनाइएको छ ।

ढुवानीग्राम निमार्णपछि ब्यस्त बजारमा हुने ढुवानी सो क्षेत्रमा स्थान्तरण हुनेछ । जसले बुटवलको भीँडभाडलाई कम बनाउने र ढुवानीका सबै काम व्यवस्थित हुने अपेक्षा गरिएको छ । रुपन्देही परिवहन कम्पनीले एक वर्षको अवधिभित्र नै तोकिएका सेडहरु निर्माण गर्नेगरी सम्झौता गरेको छ भने १५ वर्षपछि उक्त ढुवानीग्राम उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ । 

गुरुयोजना नै बनाएर अगाडि बढाइएको सो आयोजनाको कूल अनुमानित लागत रु २३ करोड २४ लाख ७९ हजार ६ सय ७४ रहेको बुटवल महानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । सेड निर्माणको अनुमानित लागत प्रति सेड रु २६ लाख ३२ हजार ३ सय २० का दरले ४९ सेडको १२ करोड ८९ लाख ८३ हजार ६ सय ८० रहेको छ ।

एउटा सेड १ हजार ५ सय ५० वर्गफुट क्षेत्रफलको हुनेछ भने प्रति सेडको मासिक बहाल प्रति वर्गफुट दुई रुपैयाँका दरले ३ हजार १ सय हुने र बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने गरी सम्झौता भएको छ । सो क्षेत्रमा पहुँचमार्ग, ढल तथा नाली, बिजुली र खानेपानी, शौचालय, तारबार लगायत संरचनाहरु बुटवल उपमहानगरपालिकाले निर्माण गर्ने जनाइएको छ । ]

त्यस्तै बुटवल महानगरले निर्माण गरिरहेको चक्रपथले यहाँको ढुवानीग्रामलाई पनि जोड्ने गरी स्तरीय सडक निर्माण भइरहेको छ ।  ढुवानीग्राममा पार्किङ स्थल, व्यवसायिक भवन सहितको २ वटा होटल, मन्दिर, हेल्थपोष्ट, टायर मर्मत सम्भार पसल, प्रतिक्षालय, नुहाउने र युरिनल सहितका शौचालयहरु, अफिस र पुलिस चौकी निर्माण हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप