कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या

दाङको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताए । “कारागारमा स्वास्थ्यकर्मी हुनुहुन्न”, उनले भने, “कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ ।”
उनका अनुसार तुलसीपुर कारागारमा गत असोजमा दरबन्दीका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि उपचारमा समस्या भएको हो । तुलसीपुर कारागारमा वार्षिक उपचार खर्च रु छ लाख आउने गरेको छ । तुलसीपुर कारागारमा ३७६ कैदीबन्दी रहेका छन् ।
घोराही कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर गएपछि गएको असोजदेखि स्वास्थ्यकर्मीविहीन भएको जेलर विष्णु पाण्डेले जानकारी दिए । चिसोका कारण रुघाखोकी, हातखुट्टा दुख्ने, ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या कैदीबन्दीमा देखिएको उनको भनाइ छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी कारागारमा नआएको र बिरामीलाई अस्पताल ल्याउँदा लैजाँदा खर्च बढ्नुका साथ असहज भएको कारागार प्रशासनले जनाएको छ ।
चालू आर्थिक वर्षमा आएको रु एक लाख ८० हजार बजेटमा अहिलेसम्म रु साढे एक लाख उपचार खर्चमा सकिएको जेलर पाण्डेले जानकारी दिए । घोराही कारागारमा अहिले ३१५ कैदीबन्दी रहेका छन् ।
यस्तै दाङको घोराही कारागारका कैदीलाई शिक्षा दिन थालिएको छ । कारागारमा अहिले २० जना कैदीलाई शिक्षा दिन थालिएको जेलर पाण्डेले जानकारी दिए । कारागारलाई सुधारगृहका रूपमा विकास गर्न घोराही कारागारका कैदीबन्दीलाई शिक्षा दिन थालिएको छ । विभिन्न मुद्दामा कारागारको जीवन बिताइरहेका कैदीबन्दीलाई नैतिक र असल चालचलनसँगै सामाजिक शिक्षा दिन थालिएको कारागार प्रशासनले जनाएको छ ।
कारागारभित्रै ती कैदीबन्दीलाई ज्ञानज्योति स्कूल सञ्चालन गरेर शिक्षा दिन थालिएको घोराही कारागारका जेलर पाण्डेले जानकारी दिए । निरक्षर कैदीबन्दीलाई साक्षर बनाउने र सोचमा सुधार ल्याउनका लागि शिक्षा दिन थालिएको उनको भनाइ छ । कैदीबन्दीको मागअनुसार अङ्ग्रेजी भाषामा समेत कक्षा सञ्चालन थालिएको छ । कम्तीका कक्षा १२ पास गरेका र राम्रो आचारण भएका कैदीबाटै छनोट गरेर शिक्षा दिन थालिएको हो । पढाउने कैदी शिक्षकलाई पारिश्रमिक नभए पनि मासिक पाँच दिन कैद मिनाहको व्यवस्था रहेको जेलर पाण्डेले जानकारी दिए । कारागारमा करिब २० जना कैदीबन्दीले साँझ बिहान गरी चार घण्टा अध्ययन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’