मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

तीजका गीतमा बढ्दो विकृति

मङ्गलबार, ०६ भदौ २०७४, १४ : ००
मङ्गलबार, ०६ भदौ २०७४

–रमेश दवाडी 

हिन्दु महिलाहरूको महान् चाड तीज सँघारमै आइपुगेको छ । भाद्र शुक्ल तृतीयाको दिन शिवको पूजाआराधना गरेर हरितालिका देवीको व्रत बसेर तीज मनाउने गरिन्छ । तीज नेपाली नारीको महत्वपूर्ण चाड हो । जीवनका सुख, दुःखलाई गीतमार्फत् व्यक्त गर्ने अभिव्यक्तिकोे रूपमा तीजलाई लिइन्छ । शिव भगवानको उपासनाको महत्वपूर्ण चाडको रूपमा नेपालमा परापूर्वकालदेखि नै मनाइदै आइएको छ । सांस्कृतिक परम्परा बोकेको तीज मनाउने प्रचलनमा भने दिनप्रतिदिन परिवर्तन आएको छ ।

अहिले सहरबजार, गाउँघर र विदेशमा पनि तीज एक महत्वपूर्ण चाड रूपमा मनाइन्छ । तीज आउनुभन्दा लगभग एक महिना अघिदेखि यसको साङ्गीतिक माहोल पनि तयार भइसकेको हुन्छ । लोकदोहोरी गायक गायिकाहरुलाई त तीज आउनु भनेको दशैं आए जस्तो हुन्छ । उनीहरुको माग उच्च हुन्छ । कमाइ गर्ने राम्रो अवसर पनि हुन्छ । त्यसैले उनीहरुले गीत तयार गर्ने काम तीज आउनुभन्दा दुई तीन महिनाअगाडि नै सुरु गर्दछन् ।


 सामाजिक जनजीवनमा तीजले राम्ररी प्रभाव जमाएको देख्न सकिन्छ । तीजमा गाइने मीठा, सामाजिक सन्देश बोकेका गीतहरू सुन्न लगभग छोडेका छन् । चेलीका अनुभूतिको मर्म, मीठो लय, आफूले प्रत्यक्ष भोगेका पीडाको अभिव्यक्ति र तिनै अनुभूतिलाई सिर्जनामा उनेर श्रोतालाई जीवनका सुखदुःख, हर्ष, विस्मात तथा आशा र निराशाको अभिव्यक्ति गर्ने एउटा सरल माध्यमलाई अहिले हल्का र उत्ताउलो ढङ्गले प्रस्तुत गरिँदै आएको देखिन्छ । 


तीजका गीतमा प्रकट हुने सांस्कृतिक परम्पराहरू, चेलीका मर्महरू, समाजको प्रचलनहरू आजभोलि अत्यन्त कम सुन्न र देख्न पाइन्छ । नेपाली मौलिक संस्कृतिको पर्व तीजमा गाइने गीतको बेग्लै विशेषता छ ।  दशकअघिसम्म तीजका गीत सासू–बुहारी, नन्द–आमाजू, श्रीमान्–श्रीमतीको सम्बन्ध, रोचक घटना, वीरताजस्ता अनेकौँ विषयलाई केन्द्रमा राखेर गीत सिर्जना गरिन्थ्यो । हरिदेवी कोइराला, विष्णु माझी, लक्ष्मी न्यौपाने, सर्मिला गुरुङ आदिको स्वरमा गायिएका गीतहरू यसका उदाहरण हुन् । यस्ता परम्परागत महत्व बोकेका गीतहरू अहिले केवल युट्युवमा मात्रै सुन्न पाइन्छ, सिर्जना हुने भने छाडे । तर आधुनिक समय भन्दै यो सङ्गीत संस्कृति विस्तारै विकृत भन्दै गएको छ । कतिपय तीजका गीतहरू अब सांस्कृतिक, ऐतिहासिक, परम्पराको आँखाले हेर्नै नसकिने गरी विकृत भएका छन् । गीतको भिडियो परिवारसँगै बसेर हेर्न नमिल्ने धेरैको टिप्पणी छ । 


‘भिनाजु पल्केर’, ‘घुमर जुलफी’, ‘कन्याइदेऊ न बाई’ ‘ढाडे बिरालो’, ‘कोइका ब्वाइफ्रेन्ड कोइका पोइ’, ‘छोटा लुगा’ आदि जस्ता बजारमा आएका गीतको व्यापक आलोचना भएको युट्युवमा देख्न सकिन्छ । स्थापित हुने धोको बोकेका नयाँ गायक गायिकाले समयको माग भन्दै यस्ता गीत बजारमा ल्याएको देखिन्छ । केटा र केटी अमर्यादित पाराले नाचिरहेका दृश्यहरूले टेलिभिजनका पर्दाहरू रंगिएका छन् । सामाजिक सञ्जालका भित्तामा महँगा गहना र वेषभूषालाई प्राथमिकता दिएर रंगिएका देखिन्छन् । 


प्रविधिले अब तीजलाई चेलीको मर्म गीतमार्फत सुन्ने परम्पराबाट डिजिटल फड्को मारेर अभिनय हेर्न सकिने बनाएको छ । तीजको गीतमा गाइने ‘पोइल जान पाम’, ‘यो केटी मैले ल्याउन पाम’, ‘यसपालिको तीजमा रक्सी खाइन्छ’, जस्ता भड्किला थेगोहरूले तीजको गरिमालाई हलुका बनाएका छन् । उता तीजमा लगाइने भड्किला आभूषण, महँगा र धेरै झकिझकाउ परिधानहरूले तीज मध्यम र निम्नवर्गीय समाजमा बोझिलो पर्व बन्न पुगेको छ ।


आर्थिक हिसाबले पनि तीज झन् खर्चिलो र भड्किलो बन्दै गइरहेको छ । कहिले पार्टी प्यालेसको जमघट त कहिले नातेदारको घरमा दर खाने कार्यक्रमको होड चल्ने गरेको छ । यस्ता जमघट र तिनीहरूको खानपानमा हुने गरेको अनावश्यक र अनुपादक खर्चले समाज र राष्ट्रमा कुनै योगदान दिन सक्दैन । यसले सामाजिक जनजीवनमा नकारात्मक प्रभाव पार्छन् भने अर्कोतर्फ फजुल खर्च र उपभोग्य प्रवृत्तिको विकासलाई सहयोग पुर्याइरहेको छ ।

‘उही आयो रानी चरी बस्यो सेतो हिमालमा 
बुहारी भन्दा दाइजो प्यारो अहिले नेपालमा

मुखले त भन्छन् सबै दाइजो हाम्लाई चाहिन्न
साँच्चै दाइजो नलिने त कोही पाइन्न । 

बाबाले खेत बेची दाइजो हाम्लाई दिए नि
आफ्नो भन्ने स्वामी पनि पराई भए नि । 

बाबाले भन्नु हुन्छ दाइजो थोरै ल्याकी हो
सासूले भन्नुहुन्छ रित्तै आकी हो...।’


गायिका हरिदेवी कोइराला र शकुन्तला ज्ञवालीको शब्द तथा स्वर रहेको यस्ता मीठा सरल अनुभूतिहरू गीतका भाकामा पोख्ने र मधुर लयमा गाइने गीतहरू हिजोआज सुनिन छोडेका छन् । 


केही गायकगायिकाले गाएका महत्त्वपूर्ण भाव बोकेका र मीठो लय भएका गीन पनि छन् तर त्यस्ता गीतहरू भड्किला र चर्का गीतको बग्रेल्ती भीडबाट दूरबिन लगाएर खोज्नुपर्ने भएका छन् । 


राम्रा गीतलाई प्रोत्साहन गर्नसके भड्किला गीतहरू आफैं ओझेलमा पर्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप