शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विरोध प्रदर्शनको ज्वारभाटामा बित्यो सन् २०१९

१५ देशमा व्यापक बन्यो सरकारविरोधी प्रदर्शन, केहीमा सत्ता परिवर्तन
आइतबार, १३ पुस २०७६, १७ : ३६
आइतबार, १३ पुस २०७६

काठमाडौँ । सन् २०२० को स्वागत र सन् २०१९ को बिदाइको तयारी भइरहँदा विश्वमा पछिल्लो एक वर्षको समीक्षा पनि भइरहेको छ ।

सन् २०१९ लाई ‘दशककै सबैभन्दा ठूलो विरोध प्रदर्शनको वर्ष’ भनेर व्याख्या गर्न थालिएको छ । सन् २०११÷०१२ मा अरब मुलुकमा सरकारविरोधी प्रदर्शनको लहर चलेको थियो । त्यसयता सन् २०१९ नै यस्तो वर्ष रह्यो जसले विभिन्न मुलुकमा सरकारविरोधी प्रदर्शनको लहर ल्यायो । एकपछि अर्को गर्दै १५ देशमा सरकार विरोधी प्रदर्शन भए । त्यहाँका सरकारका नीति, योजनाहरुमाथि प्रश्न उठाउँदै जनताले व्यापक प्रदर्शन गरे ।

सबैजसो प्रदर्शनका मुद्दा अलगअलग थिए । इक्वेडर र बोलिभियामा भएका विरोध प्रदर्शनको मुद्दा त्यहाँ व्याप्त असमानताविरुद्ध केन्द्रित थियो भने लेबनान, इराकमा सरकारीस्तरमा फैलिएको भ्रष्टाचारको विरोधमा जनता एकजुट भए । यस अतिरिक्त हङकङ र स्पेनमा राजनीतिक स्वतन्त्रताका मुद्दामा प्रदर्शन भए ।

त्यसो त विभिन्न मुलुकमा सन् २०१८ को अन्त्यतिरै विरोध प्रदर्शन भइरहेको थियो । सन् २०१९ मा विरोध प्रदर्शनले रफ्तार लिँदै त्यहाँका सरकारलाई दबाबमा पारेको हो ।

विभिन्न मुलुकका सञ्चारमाध्यमले वर्ष समीक्षा गर्ने क्रममा सन् २०१९ लाई ‘सरकारविरोधी प्रदर्शनको वर्ष’का रुपमा चित्रण गरेका छन् ।

फ्रान्सको एक विश्वविद्यालयले गरेको अध्ययनअनुसार सन् २०१९ मा भएका अधिकांश विरोध प्रदर्शन एक अर्कासँग सम्बन्धित छन् । एउटा मुलुकमा भएको विरोध प्रदर्शनले अन्य मुलुकका जनतालाई पनि विरोध प्रदर्शनका लागि प्रेरित गरेको उक्त अध्ययनको निष्कर्ष छ ।

सन् २०१९ मा गणना गर्न लायक विरोध प्रदर्शन १५ मुलुकमा भए पनि अन्य केही मुलुकमा भएका साना प्रदर्शनलाई समेत गणना गर्ने हो भने २० भन्दा बढी मुलुकका सरकारले विरोध प्रदर्शनको सामना गरेको उक्त अध्ययनले देखाएको छ । विभिन्न पाँच मुलुकमा विरोध प्रदर्शनकै कारण सन् २०१९ मा ती मुलुकका राष्ट्रप्रमुखले राजीनामा दिएका छन् ।

कहाँ–कहाँ भए विरोध प्रदर्शन ?
१. फ्रान्स 


फ्रान्समा पेट्रोलियम उत्पादनमा कर वृद्धि गर्ने सरकारको निर्णयले सन् २०१८ को नोभेम्बरमा व्यापक विरोध निम्त्यायो । १० दिनभित्र सोशल मिडियामार्फत विरोध प्रदर्शनको ज्वारभाटा देशको आधा हिस्सामा फैलियो । अत्यावश्यक वस्तुमा सरकारले कर बढाउन थालेको भन्दै जनता विरोध प्रदर्शनमा उत्रिए । प्रदर्शनकारीहरुले पहेँलो पोशाक लगाएर सरकारको विरोध गरे । सामान्यतया, पहेँलो पोशाक त्यहाँ सवारी चालक र आपतकालीन सेवामा काम गर्ने कर्मचारीहरुले लगाउने गर्दछन् । प्रदर्शनकारीहरुले देशमा सरकारका कारण आपतकालीन स्थिति सिर्जना भएको भन्दै प्रतीकात्मक रुपमा पहेँलो पोशाक लगाएर विरोध प्रदर्शन उग्र बनाए । सन् २०१९ मा पनि वृद्धवृद्धाको पेन्सनमा कर लगाइएको भन्दै व्यापक विरोध प्रदर्शन भयो । सन् २०१९ को अन्त्यमा आइपुग्दासमेत फ्रान्समा देशव्यापी हड्तालसहितका विरोध प्रदर्शन भएका छन् । मजदूर तथा कर्मचारीहरुसमेत सरकारको पेन्सन सुधार योजनाबाट असन्तुष्ट बनेका छन् । निर्धारित समयावधिभन्दा अघि अवकाश लिने कर्मचारीलाई पेन्सनबापत दिइने रकम कटौतिको विरोधमा भएको प्रदर्शनमा शिक्षक, परिवहन कर्मचारी, प्रहरी, अस्पतालका कर्मचारी लगायत सहभागी भएका छन् ।

२. उत्तरी सुडान 


उत्तरी सुडानमा पनि सन् २०१९मा सरकारविरोधी प्रदर्शनको ज्वारभाटा फैलियो । सन् २०१८ देखि नै विरोध प्रदर्शन हुँदै आएको उक्त मुलुकमा सन् २०१९ मा सरकारविरोधी प्रदर्शन उग्र बन्यो । जनता सडकमा उत्रिएर सरकारविरुद्ध असहयोग आन्दोलन गरे । चार महिनासम्म चलेको आन्दोलनले तीन दशकसम्म राज्य गर्दै आएका राष्ट्रपति ओमार अल बशीरलाई पदच्यूत गरिदियो । यद्यपि त्यहाँ विरोध प्रदर्शन रोकिएन । जुन २०१९ मा खारतुममा भएको नरसंहारमा १२८ प्रदर्शनकारी मारिएपछि सेना प्रमुखविरुद्ध आन्दोलन तीव्र भयो । करिब अढाइ लाख प्रदर्शनकारी सडकमा एकसाथ उत्रिएर सैन्य शासनको विरोधमा प्रदर्शन गरे । उत्तरी सुडान अहिले पनि विरोध प्रदर्शनबाट मुक्त भइसकेको छैन ।
 

३. अल्जेरिया 


सन् २०१९ को फेब्रुअरीमा अल्जेरियाका राष्ट्रपति अब्देल अजीज बोटलिकले पाँचौं पटक राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा गरे । यसको विरोधमा लाखौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिए । दुई दशकसम्म शासन गरेका बोटलिकको शासनलाई त्यहाँका जनताले कठिन समयका रुपमा व्याख्या गरे । सरकारमाथि भ्रष्टाचारको आरोप लगाइयो । त्यहाँको सरकारी मिडियाका अनुसार १ मार्चमा भएको विरोध प्रदर्शनमा करिब ३० लाख जनता सहभागी भएका थिए । विरोधका कारण बोटलिकले अप्रिलमा राष्ट्रपति पदबाट राजीनामा दिए । तर, अन्य केही नेताले राजीनामा नदिएको तथा विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएकाहरुलाई रिहा नगरिएको भन्दै वर्षको अन्त्यसम्म पनि त्यहाँ विरोध प्रदर्शन भइरहेको छ ।

४. हङकङ 


हङकङमा सन् २०१९ को जुन महिनामा विरोध प्रदर्शन चर्किएको हो । हङकङ सरकारले चीनको दबाबमा प्रत्यर्पण विधेयक ल्याएपछि सरकारविरोधी प्रदर्शन सुरु भएको हो । उक्त विधेयक अन्तर्गत हङकङमा गिरफ्तार गरिएका अपराधीलाई अनुसन्धान तथा कारवाहीका लागि चीन पठाउन सकिने व्यवस्था भएकै कारण विरोध भएको हो । प्रस्तावित विधेयकका विरुद्ध हङकङका नागरिक सडकमा निस्किए । दुई महिनासम्म भएको विरोध प्रदर्शनपछि हङकङ सरकारले उक्त विधेयक फिर्ता लियो । तर पनि हङकङमा विरोध प्रदर्शन रोकिएन । प्रदर्शनकारीहरुले लोकतन्त्र बहालीको माग गर्दै विरोध प्रदर्शन गरिरहे । जुन महिनामा त्यहाँ सबैभन्दा ठूलो विरोध प्रदर्शन भयो । करिब १० लाख प्रदर्शनकारी एकसाथ सडकमा निस्किएर सरकारविरुद्ध प्रदर्शन गरे ।

५. रुस 


रुसको मस्कोमा जुलाई २०१९ मा विरोध प्रदर्शन सुरु भयो । भ्लादिमिर पुटिन नेतृत्वको सरकारमाथि चुनावमा विपक्षी उम्मेदवारलाई प्रतिबन्ध लगाएको आरोपमा विपक्षीहरु विरोध प्रदर्शनमा उत्रिए । अगस्ट महिनामा निष्पक्ष चुनावको माग गर्दै ६० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा निस्किए । यस क्रममा एक हजार पाँच सयभन्दा बढी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । तीमध्ये केहीलाई दुई वर्षभन्दा बढी जेल सजाय तोकिएको छ । उल्लेखनीय छ, रुपमा विरोध प्रदर्शनमा उत्रिएकाहरुलाई लखेट्न आएका सुरक्षाकर्मीलाई ओल्गा मिशिक नाम गरेकी एक युवतीले संविधानको धारा पढेर सुनाएको तस्वीर अन्तर्राष्ट्रियस्तरमै भाइरल बनेको थियो ।

६. इजिप्ट


इजिप्टको कायरो, एलेक्जेन्ड्रियासहित केही शहरमा सेप्टेम्बरमा विशाल विरोध प्रदर्शन भयो । प्रदर्शनकारीले सरकारी अधिकारीहरुमाथि सार्वजनिक सम्पत्तिलाई निजी प्रयोजनमा प्रयोग गरेको आरोप लगाए । प्रदर्शनका क्रममा प्रहरीले ४ हजारभन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको थियो । तीमध्ये ११ जना सञ्चारकर्मी थिए । यस अतिरिक्त एक सयभन्दा बढी बालबालिका र विदेशी नागरिकलाई समेत पक्राउ गरिएको थियो ।

७. इराक


इराकमा लामो समयदेखि जारी भ्रष्टाचार र राजनीतिमा छिमेकी मुलुक इरानको हस्तक्षेपविरुद्ध १ अक्टोबर २०१९ मा पहिलोपटक विरोध प्रदर्शन भयो । यसलाई ‘तिशरीन रिभोल्युसन’ नाम दिइयो । पहिलो दिन नै प्रदर्शनकारीको ठूलो संख्या देखेर प्रधानमन्त्री अदिल अब्दुल महदीले संकटकाल घोषणा गरे । लाखौंको संख्यामा मानिसहरु सरकारविरोधी प्रदर्शनमा जुटे । प्रहरी र सेनाले प्रदर्शनकारीमाथि चलाएको गोलीबाट हालसम्म ३ सय ५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । एक हजारभन्दा बढी संख्यामा प्रदर्शनकारीहरु घाइते भएका छन् । २९ नोभेम्बरमा प्रधानमन्त्री महदीले राजीनामा दिए यद्यपि विरोध प्रदर्शन रोकिएन । अन्ततः २६ डिसेम्बरमा राष्ट्रपति बरहम सलीहले पनि राजीनामा दिए ।

८. बोलिभिया


बोलिभियामा यसै वर्ष अक्टोबरमा निर्वाचन भएको थियो । उक्त निर्वाचनमा व्यापक धाँधली भएको आरोप लाग्यो । प्रदर्शनकारीले राष्ट्रपति इभो मोरालेसको सरकारविरुद्ध आन्दोलन सुरु गरे । विरोधीहरुले लगाएको आरोपमाथि राष्ट्रपति मोरालेसले अमेरिकाबाट जाँच गराए र पुनः निर्वाचन गराउने प्रस्ताव राखे । तर प्रहरी र सेनाले उनको राजीनामाको माग गरे । मोरालेस राष्ट्रपति पदबाट राजीनामा दिएर मेक्सिको गए । तर पनि त्यहाँ विरोध प्रदर्शन रोकिएन । सरकारको दमनकारी नीतिको विरोधमा प्रदर्शन चर्कियो । यसबीचमै मोरालेसका समर्थकहरु उनलाई स्वदेश फर्काउने माग गर्दै सडकमा निस्किए । हालसम्म जारी प्रदर्शनका क्रममा त्यहाँ ३१ जनाको मृत्यु भइसकेको छ ।

९. स्पेन


स्पेनबाट अलग हुन तथा क्याटेलेनिया (हालको बार्सिलोना) लाई अलग राज्य बनाउन माग गर्दै आएका ९ पृथकतावादी नेतालाई सन् २०१७ मा हिंस्रक प्रदर्शन गरेको आरोपमा गत अक्टोबरमा जेल सजाय सुनाइयो । उक्त फैसलाको विरोधमा अलग राज्यका पक्षधरहरु अनलाइन मिडियासँग मिलेर सरकारविरुद्ध प्रदर्शनको तयारीमा जुटे । १८ अक्टोबरमा करिब ५ लाख प्रदर्शनकारी सडकमा निस्किएका कारण कयौं दिनसम्म सहरमा सार्वजनिक सेवामा अवरोध भयो भने पसलहरु बन्द रहे । सहरको जनजीवन ठप्प भएको थियो ।

१०. चिली


चिलीमा मेट्रोको भाडा वृद्धिपछि अक्टोबरमा जनता विरोध प्रदर्शनमा उत्रिए । बढ्दो नीजिकरण र देशमा फैलिएको असमानताको विरोधमा विस्तारै उक्त प्रदर्शन मोडियो । विरोध प्रदर्शनका दृष्टिले १८ अक्टोबर खास दिन रह्यो । यस दिन प्रदर्शनकारीले राजधानी सान्टियागोका सबै ८१ मेट्रो स्टेशनमा तोडफोड गरे । यीमध्ये १७ वटामा आगजनी भएको थियो । एक साताभित्रै विरोध प्रदर्शन उग्र बन्यो । २५ अक्टोबरमा करिब १२ लाख नागरिक सडकमा उत्रिएका थिए । प्रदर्शनकारीमाथि भएको प्रहरी कारवाहीमा २६ जनाको मृत्यु भएको छ । यस्तै १२ हजार भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने करिब ७ हजार जनालाई जेलमा राखिएको छ ।
११. लेबनान


लेबनानमा गत अक्टोबरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भयो । प्रदर्शनकारीहरुले रोजगारीका अवसर कम हुनु, विद्युत, पानी, स्वास्थ्य व्यवस्थाबाट जनताले राम्रो सेवा–सुविधा पाउन नसकेको भन्दै सरकारको आलोचना गरे । सरकारका तर्फबाट सूर्ति, पेट्रोल, ह्वाट्सएपमाथि कर लगाउने घोषणा भएपछि प्रदर्शनकारीले प्रधानमन्त्री साद हरिरीको राजीनामा माग गरे । २१ अक्टोबरमा देशव्यापी हड्ताल भयो भने करिब १२ लाख मानिस सडकमा ओर्लिए । २९ अक्टोबरमा प्रधानमन्त्री हरिरीले राजीनामा दिए पनि विरोध प्रदर्शन रोकिएन । प्रदर्शनकारीले प्राविधिक विज्ञ र गैर राजनीतिक व्यक्तिहरु सम्मिलित सरकार गठनको माग गर्दै आएका छन् ।

१२. इरान


अमेरिकाले लगाएको आर्थिक प्रतिवन्धका कारण इरान सरकारले आफ्नो आम्दानी वृद्धि गर्नका लागि नोभेम्बरमा इन्धनमा ५० प्रतिशत कर लगाउने घोषणा ग¥यो । सरकारको उक्त घोषणालगत्तै नागरिक तहमा असन्तुष्टि प्रकट हुन थाल्यो । सरकारी तथ्यांकअनुसार २७ नोभेम्बरमा भएको विरोध प्रदर्शनमा दुई लाख नागरिक सडकमा ओर्लिएका थिए । एमनेस्टि इन्टरनेशनलका अनुसार प्रहरीको कारवाहीमा इरानमा अहिलेसम्म ३०० भन्दा बढी नागरिक मारिएका छन् भने एक हजारभन्दा बढीलाई गिरफ्तार गरिएको छ ।

१३. इटली


इटलीमा गत नोभेम्बरमा ‘सार्डाइन्स मुभमेन्ट’ सुरु भयो । यो अभियान देशका दक्षिणपन्थी नेता मेटियो साल्भिनीको विरोधमा सुरु भएको हो । प्रदर्शनकारीले राजनीतिमा पूर्व सरकारको ‘हेट स्पिच’ र आप्रवासी नीतिको विरोधमा प्रदर्शन गरे । विरोध प्रदर्शनमा ५० हजारदेखि एक लाखसम्म जनसहभागिता हुने गरेको छ ।

१४. कोलम्बिया


कोलम्बियामा राष्ट्रपति इभान दुक मार्केज नेतृत्वको सरकारमा फैलिएको भ्रष्टाचार र मानवअधिकार कार्यकर्तामाथिको कडाइको विरोधमा प्रदर्शन सुरु भएको हो । २१ नोभेम्बरमा भएको विरोध प्रदर्शनमा दुई लाख ५० हजारभन्दा बढी प्रदर्शनकारी सहभागी थिए । प्रदर्शनकारीले रेलवे स्टेशनमा तोडफोड गरेका थिए । सरकारले विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन एक लाख ७० हजार सेनालाई सडकमा परिचालन गरेको थियो । प्रदर्शनको पहिलो दिन नै तीन जनाको मृत्यु भएको थियो भने हालसम्म ९८ जनालाई सरकारले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।

१५. चेक रिपब्लिक


चेक रिपब्लिकका प्रधानमन्त्री आन्द्रेज बाबिसविरुद्ध गत नोभेम्बरमा ठगीको आरोपमा राजधानी प्रागमा विशाल प्रदर्शन भयो । प्रधानमन्त्री बाबिसमाथि युरोपेली युनियनबाट पाउने अनुदानलाई उनले आफ्नो निजी व्यवसायमा लगानी गरेको अरोप लागेको हो । १६ नोभेम्बरमा करिब दुई लाख जनता एक साथ भेला भएर राजधानी प्रागमा विरोध प्रदर्शनमा सामेल भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप