मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

फेसन बनेको तीज

मङ्गलबार, ०६ भदौ २०७४, १३ : ४९
मङ्गलबार, ०६ भदौ २०७४

अनिता गिरी
 
 अहिले सहरलाई तीजले छपक्कै छोपेको छ । राजधानीलगायतका प्रमुख सहरका होटलदेखि ब्याङ्क्वेटहरूमा तीजका गीत घन्किरहेका छन् । तीज नेपाली महिलाहरूले धेरै पहिलादेखि मनाउँदै आएका हुन् । यो पर्व अहिले झन् फेसन नै बनेको छ ।

समयसँगै अहिले चाडवाड पनि परिवर्तन भएका छन् । भन्नुको तात्पर्य  चाडवाड मान्छेको अहिले सामाथ्र्य देखाउने माध्यम बनेका छन् । तीज त झन् पछिल्लो समयमा विकृत बन्दै गएको छ । यसलाई अहिले महिलाहरूले आफ्नो सामथ्र्यका रुपमा मनाउन थालेका छन् । यसको चर्चा दुई किसमले गर्न सकिन्छ ।
एउटा परम्परालाई निरन्तरता दिने कि यसलाई बदल्ने । माक्र्सवादी वृत्तमा अथवा द्वन्द्ववादीहरूले यसलाई निरन्तरता दिने कि यसलाई परिवर्तन गर्ने ? बहसको आवश्यकता भएको छ ।

कम्युनिस्टहरूले परम्परा धान्ने नाममा जस्ता पनि परम्परा र संस्कृति अँगाल्नुपर्छ भन्ने छैन । कम्युनिस्ट र यसका भातृसङ्गठन पनि पुँजीवादी र परम्परावादी, रुढीवादीभन्दा कम भएका छैनौँ । अहिले हामीमाझ बढ्दै गएको उपभोक्तावादले पनि यस्तो भएको हो । हामी विचारमा भन्दा पनि बजारको पछि लागेका छाँै । बजारले त झन् अहिले सबै कुरा बेच्छ । चाडवाड बजारको कब्जामा छन् । हामीहरू त्यसै बजारको पछि दगुरी रहेका छौँ ।
अहिले नेपालको करिब ६४ प्रतिशतभन्दा बढी कम्युनिस्ट जनमत छ । तर विडम्बना नै मान्नु पर्छ, नेपालमा चल्दै आएका धर्मसंस्कृति र रुढीवादका अनुयायी नै हामी भएका छौँ । के साच्चै कम्युनिस्ट हामी समाज परिवर्तन गर्नलाई होइनौँ र ? यदि हामी पनि पुरानै समाजको निरन्तरता हो भने हामी कसरी नयाँ विचारका अनुयायी भयौँ ?

के तीज हाम्रो दृष्टिकोणमा प्रगतिशील हो ? हो भने कुन दृष्टिकोणमा हो । होइन भने किन यसको बारेमा बहस गर्दैनाँै । यसलाई परिवर्तन गर्न किन अहिलेसम्म हामी तयार भएनौँ ? किन हामीहरू नै दर खाने नाममा महँगो महँगो होटलमा पार्टी प्यालेसमा फजुल खर्चमा सहभागी हँुदै गएका छौँ । साथीहरूले बोलाइहाले गएँ । समाजमा मान्दैनन् के गर्नु ? नगए रिसाउँछन् आदि आदि कुरा गरेर हामी कहिलेसम्म परम्पराको निरन्तरता दिने ।
कम्युनिस्टका नाममा हामी कहिलेसम्म परम्पारका मलामी बन्ने ? होइन भने आफूहरूबाट नै परिवर्तनको यात्रा सुरु गर्नुको विकल्प छैन । तीजको महत्व कुन अर्थमा सुरु भएको हो । यसलाई हामीहरूले बुझ्नु नै पर्छ । के साच्चै तीज हामी महिलाहरूको पक्षमा छ ? के तीज अहिलेको सन्दर्भमा पनि मान्नै पर्ने हो ? के संसार शिवजीले धानेका छन् ? के तीजले महिलालाई स्वतन्त्र हुने बाटो देखाउँछ ? यसमा भएका सबै कुरीतिको किन हामी अनुयायी बन्दै समाजलाई १७आँै शताब्दीतर्फ धकेलिरहेका छौँ ।

के अहिले पनि व्रत बसेको आधारमा राम्रा श्रीमान पाइन्छन् ? के महिला भोका बसेर श्रीमानको आयु लामो हुन्छ । हुने भए अकालमा मर्नेहरूका श्रीमती व्रत नबसेर मरेका हुन् त ? के दाइजो न ल्याएको निहुँमा दिनहुँ जलाइएकी महिलाहरू व्रत नै नबसेकी हुन्  त ? बोक्सीको आरोपमा दिसा खुवाइइका महिलाहरू कहिल्यै व्रत बसेनन् होला त ? के व्रत नबसेको भएर नै श्रीमानबाट प्रताडित हुनुपरेको हो ? अहिले पनि महिलाहरू समाजमा अपहेलित, शोषित छन् । यो तीज पनि महिला लैङगिक विभेदको एउटा नमुना हो । तीजले महिलामाथि पितृसत्ताको निरन्तरता दिएको छ । यो निरन्तरता हामी कम्युनिष्ट महिलाले बोक्नु कतिको सान्दर्भिक हो ? एक पटक सोच्ने समय आएको छ ।

के अहिले पनि पानी नखाएर श्रीमानको आयुको कामना गर्ने हो कि यो सबै कुरीतिलाई हटाउन लाग्ने हो । अहिले पनि यो संस्कृतिको निरन्तरता दिनु भनेको हामी अहिले पनि परिवर्तन हुन चाहेका छैनौँ । अहिले पनि हामी जुन विचारधारा माने पनि विचारभन्दा पनि संस्कार र संस्कृतिको माखे साङ्गलोमा अल्झेका छौँ ।

हाम्रो देश भौगोलिक विविधतामा अडेको छ । यहाँ भूगोलै पिच्छे संस्कृति पनि फरक छन् । तर अहिले पनि हाम्रो समाजमा महिलाहरू सहज रुपमा सुत्केरी हुन नसकेर ज्यान गुमाउन बाध्य छन् । तर सहरमा भने चाडवाड र तीजको नाममा फजुल खर्च गर्नेको प्रतिस्पर्धा नै चल्न थालेको छ । यसमा हामीहरू पनि लहैलहैमा लागेका छौँ । तीजको समयमा नै सही केही नयाँ काम गर्न सक्छौँ । यसले समाज परिवर्तनमा एउटा इँटासम्म थप्न सकोस् । जुन कामले कैयौँ महिलाले नयाँ जीवन पाऊन् ।

श्रीमानको आयुका लागि महिलाको नै उत्तरदायी ठान्ने चिन्तनमा नै समस्या छ । यो सरासर गलत छ । यो चाँडो भेदभावको निरन्तरता दिने चाड हो । यो चाड महिलाका लागि रमाइलो गर्ने चाड हो । वर्षभरि काम गरेर थाकेका हुन्छन् । महिलाई नाच्न, गाउन त्यति राम्रो मानिदैन थियो । त्यही भएर पनि वर्षमा एक दिन साथीभाइसँग भेट भएर नाच्नु गाउनु रमाइलो गर्नु ठीक हो । माइती गएकी चेली सबै माइतीसँग भेट हुँदा खुशी हुनु स्वभाविक हो । यही खुशीमा नाच्छन् गाउँछन् । गीतका माध्यमबाट आफूभित्र गुम्सिएर रहेका पीडा पोख्छन् । यो कुरा पनि महिलाले धेरै ठूलो मूल्य चुकाएर पाएका हुन् । यो पनि पुरुषहरूले सहज रुपामा दिएका होइनन् ।

यत्रो बलिदानी दिएर ल्याएको कुरा अहिले उपभोगवादी भएको छ । एक महिना पहिलाबाट नै दर खाने कार्यक्रम राख्नु गलत छ । किनकि गाउँमा महिलाहरू एक दिनको पनि छ्ट्टी पाउन गाह्रो छ । तर सहरले तीजलाई विकृत बनाएको छ ।
के हामी साँच्चै यति नै निष्ठुर भएका हाँै । यो वर्ष तराईमा बाढी आएको छ । त्यहाँ अहिले गाउँबासको समस्या भएको छ । तर सहरमा भने महिलाहरू तडकभडमको तीज मनाउँदै छन् । के हामीलाई अब कसैको आँसुले दुःखले छुन छोडेको हो ? पक्कै होइन । हामीले यो वर्ष सबै तीजहरूलाई नमनाउने र त्यो खर्च बाढी पीडितलाई राहत दिन सकेनौँ । राहत सङ्कलन भयो, दिइयो तर महिलाहरू तीजका लागि भन्दै रात दिन जसरी खटिएका छन् त्यसरी नै राहतका लागि खटिएका भेटिएनन् ।

माक्र्सवादीले अब पनि यही परम्पराको पछि दगुर्ने हो भने समाज कसरी प्रगतिमा जान्छ । यतिको फजुल खर्चले के साच्चै हामी नयाँ समाज बनाउन सक्छौ । नयाँ नेपाल समृद्ध नेपाल बनाउन सक्छौँ । त्यस कारण आजैबाट यसको विकल्पमा वर्षमा एक पटक भए पनि कुनै समाज परिवर्तनको काममा लागौँ । हामीले गर्ने खर्च कुनै स्कुल, स्वास्थ्य चौकीमा दिन सकिन्छ । यहीँबाट नयाँ यात्रा सुरु गराँै । पुरानो परम्पराको साङ्लो चुँडाल्नै पर्छ । समाज परितर्वन गर्ने हो भने अब महिलाहरू नै अगाडि आउनुको विकल्प छैन ।
 
यसर्थ भोको बसेर श्रीमानको आयु बढ्दैन । भोको बसेर राम्रो श्रीमान पाइँदैन । यो सबै आर्थिक समानतासँग जोडिएको छ । आज पनि महिलामाथि हुने हत्या हिंसाका सबै घटना आर्थिक सरोकारसँग जोडिएका छन् । यसमा समानता नआउन्जेलसम्म जति ब्रत बसे पनि समाजमा अन्याय अत्याचार हट्ने छैन । हामी समानताको पक्षधरहरू समानता ल्याउने बाटोमा हिँडौँ, अबको बाटो यही हो ।
 
लेखक :  अनेरास्ववियु, विदेश विभाग सचिव हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप