शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चिसोले राउटे बालबालिका बिरामी पर्न थाले

आइतबार, १३ पुस २०७६, १२ : ३७
आइतबार, १३ पुस २०७६

जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ । अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो । 

जकेट, कम्बल, हाइनेक, चामल, पीठो, घिउलगायतका सामग्री वितरण गरिएको राउटे उत्थान प्रतिष्ठान नेपालका अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिए । 

ती समुदायका मागअनुसार न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरिएको  उनले बताए । ‘राउटे अगुवाले चिसोले सतायो’ भनेर खबर पठाएपछि विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट  सहयोग जुटाइएको बताइएको छ । 

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको बताए । “चिसो ह्वात्तै बढेपछि बालबालिकालाई समस्या भएको छ, हामी त एकसरो कपडामै हिउँद कटाउँथ्यौँ”, उनले भने, “कपडा पाएपछि अलि राहत मिलेको छ ।” 

प्रतिष्ठानका अध्यक्ष खड्काले लोपोन्मुख समुदायको जीवन रक्षामा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ती समुदाय हाल दैलेखको गुराँस गाउँपालिकाको गुराँसे जङ्गल क्षेत्रमा बस्दै आएको छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप