शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको तेस्रो अन्तरपार्टी निर्देशिका : १५ दिनभित्र पार्टी एकता सक्ने, उपनिर्वाचनमा बेहोरेको हार गम्भीर समीक्षाको विषय

घात–अन्तर्घात र अराजकताको प्रवृत्तिलाई परास्त गर्ने, आलोचना–आत्मालोचनालाई प्रोत्साहन गर्ने
आइतबार, १३ पुस २०७६, १८ : ००
आइतबार, १३ पुस २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका बाँकी काम १५ दिनभित्र सम्पन्न गरिसक्ने गरी अन्तरपार्टी निर्देशन जारी गरेको छ । स्थायी कमिटी बैठकपछि नेकपाले अन्तरपार्टी निर्देशन जारी गरेको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरसहित जारी निर्देशिकामा पार्टीको प्रकाशन, प्रचार र प्रशिक्षणलाई व्यवस्थित गर्ने, संस्थागत निर्णय, वैधानिक व्यवस्था र अनुशासनलाई कडाईका साथ कार्यान्वयन गर्ने, गुटबन्दी, घात–अन्तर्घात र अराजकताको प्रवृत्तिलाई परास्त गर्ने, आलोचना–आत्मालोचनालाई प्रोत्साहन गर्ने र पार्टीलाई सजिव र गतिशील तुल्याउने उल्लेख छ ।

यस्तै, पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्नेगरी अनुशासन र पद्धतिविपरित बोल्ने, लेख्ने, पार्टी नीतिविपरीत भेला, बैठक गर्ने काम बन्द गर्नुपर्ने, पार्टीलाई विधि र अनुशासनमा चल्ने शक्तिका रुपमा विकास गर्नुपर्ने र अनुशासनहीन काम गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

अन्तरपार्टी निर्देशिकामा हालै सम्पन्न उपनिर्वाचनका क्रममा धरान, भक्तपुर, भरतपुर लगायतका कतिपय स्थानको परिणामलाई गम्भीर समीक्षा र शिक्षाको विषय बनाउन जरुरी रहेको उल्लेख छ । ‘यी ठाउँहरुको पराजयको कारण राम्ररी खोज्न र त्यसबाट शिक्षा लिन जरुरी छ,’ निर्देशिकामा भनिएको छ, ‘सामान्यतया पार्टी एकतामा भएको ढिलाइ, संस्थागत एवं व्यवस्थित रुपमा जनपरिचालनको अभाव र हाम्रो पार्टीका उम्मेदवारविरुद्ध अरु पार्टीको घोषित वा अघोषित गठबन्धनजस्ता कारणहरुले गर्दा ती स्थानहरुमा पराजित हुनु परेको हो ।’

यस्तै, अमेरिकी सरकारको एमसीसी इन्डोप्यासिफिक स्ट्राटेजीको अधिनस्थ छ कि छैन र एमसीसी अन्तर्गतको ५०० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग नेपालले लिन हुन्छ वा हुँदैन भन्ने विषयमा स्थायी कमिटी बैठकमा गम्भीरतापूर्वक छलफल भएको अन्तरपार्टी निर्देशिकामा उल्लेख छ । निर्देशिकामा भनिएको छ, ‘हालसम्म प्राप्त तथ्यहरुले एमसीसी इन्डोप्यासिफिक स्ट्राटेजीको अधिनस्थ छैन भन्ने नै देखिएको छ, तथापि बैठकले समग्र पक्षलाई बुझेर उपयुक्त निर्णय गर्ने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।’

यस्तै, भारतले सन् २०१९, नोभेम्बर २ मा जारी गरेको राजनीतिक नक्सालाई नेकपाले अमान्य ठहर गरेको छ । नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारतले समेटेर प्रकाशित गरेको राजनीतिक नक्सा नेकपाले अमान्य घोषणा गरेको हो ।

‘ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरुका आधारमा ती भूभागहरु एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने यथार्थ पुष्टि भएको कुरामा हाम्रो पार्टी स्पष्ट छ,’ अन्तरपार्टी निर्देशिकामा भनिएको छ, ‘यस समस्याको समाधानका लागि नेपाल र भारतका परराष्ट्र सचिवहरुको संयन्त्रबाट समाधान गर्ने दुवै देशबीच यसअघि नै भइसकेको निर्णय विपरीत भारतले गरेको एक पक्षीय निर्णय नेपालका लागि मान्य नहुने कुरा पार्टी स्पष्ट पार्न चाहन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप