शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आग लागी झुपडी, डेढ घडी भद्रा !

आइतबार, १३ पुस २०७६, ११ : ५४
आइतबार, १३ पुस २०७६

 

‘झुप्रामा आगो लाग्यो । भद्रा डेढ घडी बाँकी छ । भद्रा हुँदाका समयमा कुनै पनि शुभ कार्य गर्न हुँदैन । भद्रा सकिन्छ अनि पानी जुटाएर आगो निभाउन शुरु गरौला भनेर पर्खनु मूर्खताको पराकाष्टा हो ।’ यस अभिप्रायको यो उखान ‘आग लागी झुपडी, डेढ घडी भद्रा’ नेपाली जनजीवनमा धेरै पुरानो हो । नेपालका गाउँबस्तीमा प्रशस्त  चल्थ्यो यो उखान । बुढापाकाहरु उखानको व्याख्या गर्दै भन्थे, ‘घरमा आगो लागिसक्यो । निभाउन पानी छैन । नजिकपुँडो बनिबनाउ कुवा छैन । पानी जुटाएर निभाउन कुवा खन्नुपर्ने छ । कुवा खन्न डेढ घडी पर्खनुपर्छ । किन भने त्यति वेला भद्रा छ । भद्रामा कुवा खन्न ज्योतिषीले दिँदैन । पुरेतले पनि दिँदैन । भद्रा जाला र कुवा खनौंला भनेर हेर्दाहेर्दै खरको झुप्रो डढेर खरानीको थुप्रो बन्छ । कस्तो विडम्बना !?।’

संस्कृत भाषामा एक कविले उहिल्यै लेखेका थिए, “न कूप खननं युक्तम् प्रदीप्ते वन्हिना गृहे । अर्थात् घरमा आगो लागिसकेपछि कुवा खन्नतिर लाग्नु उपयुक्त कदम होइन । भएका कुवाबाट पानी जुटाएर आगो निभाउन पहल गर्नु नै उपयुक्त कदम हो ।”

खरका घर भएका जमानामा घरमा आगो लाग्नु भयङ्कर आपद् विपद् मानिन्थ्यो । अन्नपात लुगाफाटो धनमाल सवै डढेर भष्म खरानी बन्थ्यो । घरपरिवार केही घडीमै अकिन्चन तन्नम गरीबमा फेरिन्थ्यो । गाँस बास कपासविहीन बन्थ्यो मानिस । यसै भएर गाउँबस्तीमा उल्लिखित उखानहरुले महत्व पाएका थिए । गाउँका बासिन्दाहरु आकस्मिक आगलागी नियन्त्रणका लागि गाउँबस्तीका पायकमा ठुला ठुला कुवा तथा अहाल खनेर पानीको जोहो गरिराख्थे ।

छिमेकी मुलुक भारतले नेपालको जमीन कब्जा गरेको र नेपाल सरकार किंकर्तव्यविमूढ देखिएको आजको सन्दर्भमा हामी नेपालीहरुले यो उखान सम्झेका छौं । नेपालका प्रायः गाउँबस्तीहरुमा अहिले यसै उखानको चर्चा छ ।

भारतले नेपालको सीमा मिचेर खपिनसक्नु छ । दिनदिनै मिचिरहेको छ । सुस्ताको कथा गम्भीर छँदैछ । उता पश्चिममा लिम्पियाधुरा, लिपुलेख कालापानी सबै कब्जा गरेर उसको आफ्नो नक्सामा छापिसकेको छ । आफ्नो मुलुकको जमीन अर्काले मिच्नु, कब्जा गर्नु भनेको घरमा आगो लाग्नुजस्तै हो । यस्तोमा हाम्रो दुइतिहाइको नेकपा सरकार तत्काल आवश्यक कदम नचालेर भद्रो हेरिबसेको छ । हामी जनताका लागि यो भयङ्कर चिन्ताको विषय हो ।

भारतले नेपालको जमीन उसको आफ्नो नक्सामा छाप्योे । नेपालका कर्मचारी कसैले कुनै समय नेपालको नक्सा बनाउँदा छाप्दा आफ्नो जमीन छुटाएर नक्सा बनायो, छाप्यो । यो राष्टघाती करतूत थियो । अक्षम्य अपराध थियो । कुन नरपशुले कसको के खाएर यो नकाम ग¥यो त्यो खोजीको विषय छँदैछ । यो खोजीको काम अनुसन्धान–निकायलाई जिम्मा दिएर नेपाल सरकारले  तत्काल तदारुकताका साथ नेपालको आफ्नो समग्र जमीन सम्मिलित गरेर यथाशीघ्र संशोधित नक्सा प्रकाशित गर्नु पर्ने थियो । निशानाछाप विधिवत् संशोधन गर्नु पर्ने थियो । तत्काल गर्नु पर्ने यी काम गर्न नेपालसरकारलाई कसले रोक्यो ? हामी नेपाली जनतालाई आज थाहा चाहिएको छ ।

स्वनाम साथीको संयोजनमा क्रियाशील प्रबुद्ध सीमाविद् र विशेषज्ञहरु सम्मिलित ‘सीमा बचाऔँ अभियान नेपाल’ले जनस्तरमा पहल गरेर २४घण्टाभित्र लिम्पियाधुरा लगायत नेपालको पश्चिमी भूभाग सम्मिलित नक्सा प्रकाशित गरेर जनसमक्ष ल्याइसकेको देखिएको छ । देशभरी कति ठाउँमा सीमा मिचिएको छ, कति क्षेत्रफल नेपाली जमीन लुटिएको छ सबै समावेश गरेर अर्को नक्सा पनि सीमा बचाऔँ अभियानले जनस्तरबाटै प्रकाशित गर्दै छ भन्ने पनि सुनिएको छ । जनताका तहबाट यति काम भइसक्दा पनि यत्रो देश र जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारी पाएको दुइतिहाइको सरकारले दुई महिना बित्न लाग्दासम्म मुलुकको संशोधित नक्सा प्रकाशित गर्न र सम्विधानमा आवश्यक संशोधन गर्न किन सकिरहेको छैन ? आफ्नो मुलुकको जमीन छिमेकी मुलुकले कब्जामा लिँदा पनि तत्काल आवश्यक कदम चाल्न नसकेर दशथरी बहाना बनाइबस्ने यो सरकार कसको सरकार ? नेपाली जनता आज प्रश्नमय छ ।

हामी भन्छौं– सरकारले रातारात खटेर पनि सार्वभौम नेपालको सबै जमीन समाविष्ट हुने गरी संशोधित नक्सा छापोस् । सम्विधानको निसानाछापमा रहेको अपुरो नक्सा संशोधन गरेर त्यसलाई पूर्णरुपमा प्रकाशित गरोस् । आफ्ना नक्सा र तमाम प्रमाणका साथ दह्रो रुपमा भारतसित कुरा राखोस् । राजनीतिक तहबाटै कुरा राखोस् । आँखा नझुकाओस् । जिभ्रो नचपाओस् । भारतले कब्जा गरेको हाम्रो जमीन यथाशीघ्र छुटाओस् । आवश्यक परेमा अन्तर्राष्ट्रिय तहसम्म पुगेर पनि सार्वभौम नेपालका जमीनमाथिको भारतीय कब्जा छुटाओस् भन्ने नै हामी नेपाली जनताको चाहना हो । नेपाल सरकार बहादूर नेपाली जनताको यति ठूलो अभिमत उर्जा पाएर पनि यो काम किन गर्दैन ? सगरमाथा जत्तिकै अग्लिएर उभिएको आजको यक्षप्रश्न हो यो ।
आफ्नो मुलुकको सार्वभौमिकताको रक्षा गर्ने हुति गति मति छैन भने यस सरकारले जनताको अभिमत विपरीत जनताका रगतपसिनाबाट जागीर भत्ता खाएर कुर्सीमा बसिरहनु अन्तरराष्टिय लज्जाको विषय हो । हैन र ? संसारले सुनेको छ । बुझेको छ । संसारभरिका नेपालीले सुनेकाछन् । बुझेकाछन् । लोकतन्त्रमा निर्लज्जता कुनै अलङ्कार पनि त  होइन ।

‘एउटा चिठी गएको छ जवाफ आएको छैन....।  जवाफ आएपछि कुरा अगाडि बढ्छ.....। अँ जवाफ त आयो । भारतमा आन्दोलन छ अरे । अहिले कुरा गर्ने फुर्सद् छैन अरे....।’ यी सबै पुरेतपन्थी कुरा हुन् । बहाना हुन् । आग लागी झोपडी डेढ घडी भद्रा भन्ने उखान यिनै  पुरेतपन्थी बहानामा चरितार्थ भएको छ ।
सरकार पुरेतपन्थी छ, जनता र देशसँग सम्बद्ध सबैजसो महत्वपूर्ण कुरामा बहाना बनाएर पन्छन रुचाउँछ भनेर देशप्रेमी नेपाली जनता सधैँ चुपो लागेर बस्न त सक्दैन । छिमेकी अतिक्रामक र आक्रामकहरुप्रति त नेपाली जनतामा रोष उर्लेकोउर्लेकै छ । नेकपाको नेतृत्वमा रहेको आजको नेपालसरकार यसरी नै हुतिहारा बनिरहन्छ भने उपयुक्त विकल्प खोज्न नेपाली जनता वाध्य पनि हुन्छ । पुरेतले भन्यो भन्दैमा जनता सधैं भद्रो हेरेर बस्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप