बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आशा भोस्लेको व्यङ्ग्य : नेपालले मलाई किन यति चाँडो बोलाएको ?

भनिन्, ‘नेपालको माया देखेर आँशु आयो’
शनिबार, १२ पुस २०७६, २२ : ००
शनिबार, १२ पुस २०७६

काठमाडौँ । चर्चित भारतीय गायिका आशा भोस्लेले नेपालले आफूलाई यति ढिलो गरेर बोलाएकोमा गुनासो गरेकी छिन् । राजधानीमा आयोजित संगीतकार रञ्जित गजमेरसँगको साङ्गीतिक यात्रा नामक कार्यक्रममा बोल्दै गायिका भोस्लेले सो गुनासो गरेकी हुन् ।

‘काठमाडौँमा ओर्लदै गर्दा म सोच्दै थिएँ, नेपालले मलाई यति चाँडो किन बोलाएको होला ?,’ ८६ वर्ष पुगेकी गायिकाले भनिन्, ‘दुई चार वर्ष अझै ढिला गरेको भए त मलाई बोलाउन माथि नै आउनुपर्थ्यो ।’

आफूूलाई नेपाल औधी मनपर्ने बताउँदै भोस्लेले विमानस्थलमा आफूले पाएको आतिथ्य र माया देखेर आफ्नो आँखामा आँशुसमेत आएको बताइन् ।

नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानका लागि साधना कला केन्द्रद्वारा आयोजित आजको कार्यक्रममा भोस्लेसहित संगीतकार गजमेरलाई सम्मान पनि गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनले दुवैलाई ताम्रपत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए ।

काठमाडौँको चिसोका कारण अस्वस्थ रहेकी भोस्लेले पूर्व निर्धारित कार्यक्रम अनुसार प्रस्तुति दिन भने सकिनन् । कुर्सीको आड लिएर स्टेजमा उभिएकी भोस्लेले शुरुवातमा केही वटा गीतका अन्तरा मात्र गाउन सकिन् ।

अस्वस्थ भएपछि गजमेरले एउटा लाइन मात्र गाउन भए पनि भोस्लेलाई स्टेजमा बोलाएका थिए । तर, कलाकारको मन त हो, माइक पक्रेपछि कहाँ मान्थ्यो ? ‘झझल्को लिएर’ बाट गाउन सुरु गरेकी भोस्ले गायक रामकृष्ण ढकालसँग ‘मोहनी लाग्ला हे’ गीत गाइन् । त्यस्तै, चर्चित बलिउड अभिनेता डेनी डेन्जोङ्पासँग गाएको आगे आगे तोपैको गोला बोलको गीतले सबैलाई नचाइन् ।

अन्त्यमा कार्यक्रममा उपस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीका लागि उनले ‘दम मारो दम’ गीत गाएकी थिइन् । उनलाई स्टेजमा साथ दिन उनको नातिनी पनि आइपुगेकी थिइन् ।

कार्यक्रममा गजमेरले संगीत भरेका चर्चित गीतहरुलाई नेपाली कलाकारहरु प्रस्तुत गरेका थिए । करिब दुई दर्जन नेपाली कलाकारहरु साढे २ घण्टा दर्शकहरुलाई मन्त्रमुग्ध पारेका थिए ।

वीरताको चिनो, हेर न हेर न कान्छा, चिसो चिसो हावामा देखि पहाडको माथि माथि, टाढा नभइदेउ तिमी, पिरतीको मिठो तिर्सना, यो मुटुलाईसम्मका गीतहरुलाई नेपाली कलाकारहरुले प्रस्तुत गरेका थिए ।

दीप श्रेष्ठ, नेपाल आइडल बुद्ध लामा, विवेक श्रेष्ठ, अजर जंगम, मनोज राज, जीना रसाइली, सञ्जय तुम्रक, शिला विष्ट अली, तृसला गुरुङ, इन्द्रजीत मिजार, लबोनी प्रसाइ, रामकृष्ण ढकाल, भारती घिमिरे, सुरजकुमार थापा, किशोर शिवाकोटी, सम्झना ओलीलगायत कलाकारहरुले प्रस्तुति दिएका थिए ।

संगीतकार गजमेरले हरेक गीत पछाडिको रोचक कथा पनि सुनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप