मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धमाधम बन्दै धरहरा, तेस्रो तला बन्दा यस्तो देखियो (फोटो/भिडियो)

शनिबार, १२ पुस २०७६, १७ : २३
शनिबार, १२ पुस २०७६

काठमाडौँ । एकबर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहरा निर्माणको शिल्यान्यास गरेका थिए । एक बर्षको अवधीमा जमिनमुनी २ तलासहित धरहराको तेस्रो तलाको निर्माण सकिएको छ । अहिले चौथो तलाका लागि धमाधम काम भइरहेको छ ।  

भूकम्प प्रतिरोधी नयाँ धराहरा निर्माणको काम ३३ प्रतिशत सकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । आगामी एक बर्षभित्रमा धरहराको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कूल ३ अर्ब ४८ करोडमा  निर्माण सम्झौता भएकोमा हालसम्म प्राधिकरणले निर्माण व्यवसायी रमन कन्स्ट्रक्सनलाई मोबिलाइजेसन खर्चसचित डेढ अर्ब भूक्तानी भइसकेको छ । ‘म बनाउँछु’ मेरो धरहरा अभियान अन्र्तगत सर्वसाधारण तथा विभिन्न स्रोतबाट चन्दा स्वरुप प्राप्त २४ करोड बैंकमा मौज्दात रहेको छ ।

निर्माणाधीन धरहरा २२ तलाको भएपनि पहिलेकै उचाईमा बाहिरबाट हेर्दा ९ तलाको देखिनेछ । हेर्दा पुरानो स्वरुपको देखिने भएपनि सिमेन्ट रडसहित आधुनिक निर्माण सामग्रीले धरहराको निर्माण भइरहेको हो । अहिले हरेक १५ दिनमा एउटा तला ढलान हुनेगरी काम भइरहेको छ । साथै प्रधानमन्त्रीले धरहरा निर्माणको काम प्रत्यक्ष हेर्न सक्ने प्रविधि राखिएको छ ।

पुरानो धरहरामा घुमाउरो भ¥याङ्ग थियो भने नयाँमा भ¥याङ्गसहित लिफ्टको व्यवस्था गरिने भएका कारण बालकबृद्ध सबै माथिल्लो तलामा पुग्नेछन् । धरहराको माथिल्लो भागमा पुग्न दुईवटा लिफ्ट रहनेछ । टुप्पोमा पहिलेजस्तै गजुर राखिनेछ भने माथिल्लो मागमा बार्दली रहनेछ । धरहराको उचाई ७२ मिटर र यसको आधार ४८ फिटको हुनेछ ।

यस्तै ४ सय गाडी र ७ सय वटा मोटरसाइकल अट्ने क्षमताकोे जमिनमुनी ३ तलाका पार्किङस्थल पनि निर्माण गरिँदैछ । भत्किएको पुरानो धरहराको भागलाई सिसाभित्र राखिने योजना छ ।

यसअघिको धरहरा साढे ४ रोपनी क्षेत्रफलमा रहेको थियो भने नयाँ धरहरा क्षेत्र ४२ रोपनीमा फैलिनेछ । धरहरा क्षेत्रफल बढाउनका लागि केन्द्रीय हुलाक कार्यालयको भवन भत्काइएको छ भने काठमाडौं मलको पछाडिको भाग पनि भत्काउने तयारी गरिएको छ । धरहरा अगाडि रमणीय पार्क निर्माण गरिनेछ भने पुरानो सुन्धाराबाट पानी झर्ने व्यवस्था मिलाइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

वि.सं. १८८२ मा भीमसेन थापाको पालमा निर्माण भएको धरहरा १९९० सालको भूकम्पका बेला पनि क्षति पुगेको थियो । २०७२ सालको भूकम्पमा पूर्ण रुपमा क्षति भएपछि धरहरा निर्माणको काम अन्यौलमा परेपनि गतबर्षदेखि पुरानो धरहराको छेउमा नयाँ धरहरा निर्माण थालिएको हो । 

हेर्नुहोस भिडियो :-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप