शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेरि गौतमबुद्ध विमानस्थलको म्याद थप्ने तयारी, अझै के–के काम गर्न बाँकी छ ?

शनिबार, १२ पुस २०७६, १२ : ३८
शनिबार, १२ पुस २०७६

 बुटवल । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद फेरि थप गर्नेबारे छलफल भइरहेको छ । विमानस्थल स्तरोन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्यन प्राधिकरणलाई पत्र पठाएको हो । 

विमानस्थलको सबै काम सकिनुपर्ने अन्तिम मिति डिसेम्बर ३१ (पुस १५) सम्म रहेकोमा सो समयमा काम नसकिने देखिएपछि तीन महिनाको म्याद थप माग गरिएको हो । 

निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले तोकिएको समय डिसेम्बर ३१ भित्र निर्माणको काम नसकिने भएपछि १० दिन अघिनै म्याद थप माग गर्दै आयोजनाको कार्यालयमा पत्र दिएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका योजना प्रमुख प्रवेश अधिकारीले अन्तिम पटकका लागि म्याद थप गर्न छलफल तथा कागजी प्रक्रिया अघि बढाएको रातोपाटीलाई बताए ।

निर्माणाधीन कम्पनीले समयमा काम गर्न नसकेका कारणहरु प्रष्ट्याउँदै निवेदन दिएपछि प्राविधिक टोलीले अध्ययन गरेर म्यादको लागि प्राधिकरणले प्रकृया अघि बढाउने उनको भनाइ छ । 

 राष्ट्रिय गौरवको आयोजना मानिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमा सम्पन गर्नका लागि केन्द्र सरकारले उच्च चासो दिएको छ । केन्द्रीय नेतादेखि मन्त्रीसम्मले महत्व दिएको यो विमानस्थल निर्माणको काम अहिलेसम्म ८५ प्रतिशत सम्मन भएको योजना प्रमुख अधिकारीले रातोपाटीलाई बताए ।

यसअघि पनि तोकिएको समयमा काम नसकिए पछि ३ पटक समय थप भैसकेको छ । पहिलो पटक २०१८को १८ जनवरीदेखि जुन १५ सम्म, दोश्रो पटक २०१८ जुन १५ देखि जुन २८(२०१९) सम्म र तेश्रो पटक जुन २०१९को २८ देखि डिसेम्बर ३१ सम्म का लागि म्याद थप भएको थियो । 

अहिले फेरि अन्तिम अन्तिम पटक भन्दै म्याद थपका लागि प्रक्रिया थालिएको हो । 

निर्माण कम्पनीको पत्र आइसकेपछि हालसम्म सम्पन्न भएका कामहरु तथा अब बाँकी कामहरुको आधारमा ३ महिना भित्र (मार्च २०२०) निर्माणका सबै काम सकिने आधार देखिएकोले ३ महिना समय थप्न केन्द्रीय कार्यालयमा पत्राचार गरिएको अधिकारीको भनाइ छ ।

‘समयमै निर्माण नसकिएपछि म्याद थप्नुको विकल्प रहेन’, उनले भने । अहिले अन्य समस्याहरु जस्तै निर्माण सामग्री, आर्थिक अभावलगायतका समस्या नरहेको भन्दै पछिल्लो म्याद थप हुँदा पहिला भन्दा धेरै छिटो काम भएको उनले बताए । 

अधिकारीका अनुसार अब विमानस्थलका मुख्य टर्मिलन भवनको फिनिसिङ्ग, उपकरण जडान तथा लाइटिङको काम बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप