मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनको आँपटारीमा ‘जीप लाइन’ सरर...

शनिबार, १२ पुस २०७६, ११ : ५४
शनिबार, १२ पुस २०७६

नेपाल साहसिक खेलका लागि विश्वमै प्रख्यात छ । बन्जी, क्यानोनिङ, ज्याकब्स ल्याडर, एब्सेलिङ, प्याराग्लाइडिङ, र्याफ्टिङ, जीप लाइन, माउन्टेनिङ, माउन्टेन बाइकिङ, रक क्लाइम्बिङलगायतका साहसिक खेलका लागि नेपाल विश्व पर्यटकको रोजाइमा पर्छ । 

एकातिर ‘नेपाल भ्रमण वर्ष २०२०’ स्वागतको तयारीमा सरकार जुटेको छ भने अर्कोतर्फ पर्यटकलाई आकर्षित गर्न स्थानीय तह र निजी क्षेत्र विभिन्न उपायको खोजीमा छ । 

यस्तै साहसिक खेलमा अहिले रुचाइएको खेल हो ‘जीप लाइन’ । पोखराबाट सुरु भएको जीप लाइन काभ्रेको धुलिखेलमा संचालनमा आयो । र, अहिले चितवनको भरतपुरस्थित आँपटारीमा संचालित जीप लाइन सफारीले सवैको ध्यान खिचेको छ । 

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१, आँपटारीमा रहेको सामुदायिक वनमा २०७६ असोजबाट जीप लाइन संचालनमा आएको हो ।  

वनले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी दुई रुटको ६ सय ७० मिटर लामो जीप लाइन निर्माण गरेको छ । जलदेवी सामुदायिक वनका रुखहरुमै जीप लाइन संचालनमा ल्याइएको छ ।   

धार्मिक तथा पर्यटकीय क्षेत्र देवघाट प्रवेशद्वारसँगै रहेको ‘जीप लाइन’ ईको टुरिजमको अवधारणामा वाइल्ड वन्डर्स प्रालिको परिकल्पना र प्राविधिक सहयोगमा सामुदायिक वनभित्र सञ्चालनमा आएको हो । 

यो जीप लाइन नेपालकै प्रमुख पर्यटकीय गन्तब्य मध्येको एक चितवनमा पर्यटकहरुको बसाई लम्ब्याउँदै पर्यटन गतिविधि बढाउनका लागि र ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न पनि मद्दत पुग्ने उद्देश्यले निर्माण गरिएको जीप लाइनका संयोजक माधव देवकोटाले बताए ।

त्यसैगरी, नेपालका विभिन्न ठाउँमा जीप लाइन सञ्चालनमा आइसके पनि सामुदायिक वनभित्र निर्माण गरिएको भने यो नै पहिलो भएको वनका अध्यक्ष केशब बहादुर थापाले बताए । 

सामुदायिक वनका अध्यक्ष थापा भन्छन्, ‘जीप लाइन संचालनमा आएसँगै पर्यटकीय क्षेत्रमा नेपालका सामुदायिक वनको सदुपयोग हुनका साथै पर्यटन प्रदवर्द्धनमा यसले टेवा पुर्याउनेछ ।’ 

नेपालमा रहेका यस्ता वन क्षेत्रको सदुपयोग गर्न सक्ने हो भने आर्थिक विकासमा राष्ट्रलाई थप टेवा पुग्ने व्यवसायीहरु बताउँछन् । सँगै रोजगारी सिर्जना गर्न, साहसिक खेलबाट मनोवल बढाउन, आन्तरिक र वाह्य पर्यटक भित्र्याउन, राजस्व वृद्धिमा टेवा पुर्याउन र वन विनाश नियन्त्रण गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने थापाको विश्वास छ ।

आँपटारीमा निर्माण गरिएको जीप लाइनको विशेषता भनेको जंगलका रुखबाट अर्को रुखमा फलामको डोरी टाँगिएको छ । वनभित्रका ठूला सालका एक रुखबाट अर्को रुखसम्म चार वटा ‘जीप लाइन’ निर्माण गरिएको छ । पाँच वटा स्टेशन पार गरेर जीप लाइन सफारी सकिन्छ । 

डोरीमा एक प्रकारको घिर्नी जोडिएको हुन्छ । त्यही घिर्नीमा सुरक्षा सतर्कतासहितको फितावाल डोरीमा झुन्डिएर माथिबाट तल झरिन्छ । जंगलभित्र प्राकृतिक आनन्द लिन पनि यो जीप लाइन सफारी धेरैको रोजाइमा पर्ने संचालकको भनाइ छ । जीप लाइन सफारी गर्दा एक्लै र जोडी भएर पनि गर्न सकिन्छ ।

स्टेशन ‘ए’ ‘बी’ र ‘सी’ सम्म जंगल क्षेत्र पर्छ भने स्टेशन ‘सी’, ‘डी’ र ‘ई’सम्म ताल क्षेत्र पर्छ । निकै रोमाञ्चकारी खेलमा पर्ने जीप लाइन सफारीसँगै प्राकृतिको आनन्द लिन पाउँदा यहाँ आउने पर्यटक पनि दंग छन् ।
त्यसैगरी, यहाँ बालबालिकाका लागि पनि ५० मिटरको डोरीमा सफारी गर्ने गरी जीप लाइन निर्माण गरिएको छ । सँगै बाल उद्यान पनि रहेको आँपटारी जीप लाइन सफारीमा बालबालिकाको आकर्षण बढ्दै गएको जीप लाइनका संयोजक देवकोटा बताउँछन् ।

 

१० रोपनी क्षेत्रफलमा फैलिएको जीप लाइन, सामुदायिक वनको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत लगानीमा निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष थापाले बताए । एक सय ९९ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनका १ हजार ३ सय ५० उपभोक्ता छन् । जीप लाइनबाट हुने आम्दानीको १० प्रतिशत रकम सामुदायिक वन संरक्षणको क्षेत्रमा खर्च हुने सामुदायिक वनका अध्यक्ष थापाले बताए ।

७५ लाखको लागतमा निर्माण भएको जीप लाइन सफारी गर्न हाल दैनिकजसो नेपाली र विदेशी गरी २० देखि ३० जना आउने गरेका छन् । शनिवार अनि बिदाको दिन भने थेग्न नसकिने गरी भीड लाग्ने गरेको अध्यक्ष थापा बताउँछन् । थापाका अनुसार दिनमा ३ सय जनालाई सफारी गराउन सक्ने क्षमता यो जीप लाइनको छ ।

जीप लाइन सफारीका लागि लम्बाइ अनुसारको शुल्क तय गरिएको छ । विदेशी पर्यटकलाई आकर्षित गर्नकै लागि नेपाली र विदेशी पर्यटकलाई समान दर तोकिएको छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरेर शुल्क निर्धारण गरिएको छ । जीप संचालक समितिले पहिला संचालनमा आउँदाको समयको भन्दा मूल्य घटाएको हो । जसअनुसार रुट नम्बर १ मा स्टेशन ‘ए’ देखि ‘सी’ सम्म २२० मिटर रहेको छ जसको शुल्क ४ सय रुपैयाँ तोकिएको छ । फोटो भिडियो चाहनेले थप २ सय रुपैयाँ तिर्नु पर्छ । 

रुट नम्बर २ मा रहेको स्टेसन ‘सी’ देखि ‘ई’ सम्मको दुरी ४ सय ५० मिटर रहेको र यसको शुल्क ६ सय रुपैयाँ तोकिएको छ जसमा फोटो र भिडियो प्रयोग गर्न चाहनेले थप २ सय रुपैयाँ तिर्नु पर्छ । दुवै रुटको सफारी गर्न चाहनेले ९ सय तिर्नु पर्नेछ । जसमा फोटो भिडियो प्रयोग गर्नेले थप ३ सय तिर्नु पर्छ । 

बालबालिकाको सफारीका लागि भने १ सय रुपैयाँमात्रै तोकिएको छ । सँगसँगै जीप लाइन सफारी गर्ने सबैको सात लाखको जीवन बिमाको व्यवस्था गरिने पनि सामुदायिक वन व्यवस्थापन समितिले जनाएको छ । 

जीप लाइनमा कार्यरत कर्मचारीलाई विशेष तालिम दिइएको छ । र यहाँ स्थानीय युवाहरुलाई रोजगारीमा विशेष प्राथमिकता दिइएको छ । हालसम्म स्थानीय १० जना युवालाई तालिमसहित रोजगारी प्रदान गरिएको छ । 
यो जीप लाइन संचालनमा आएसँगै रोजगारी, वन क्षेत्रको सदुपयोग र आन्तरिक अनि वाह्य पर्यटकलाई खेलबाट मनोरञ्जन मिलेको छ । नेपालका अन्य वन क्षेत्रलाई पनि यसैगरी सदुपयोग गर्न सकेमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सहज हुने थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप