शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस रिभ्यू : ६ वर्षमै सुरुङै सुरुङ पोखरा र लुम्बिनी पुग्न सकिने,  गम्भीर अपराध कर्ममा वकिल

शनिबार, १२ पुस २०७६, ०७ : १०
शनिबार, १२ पुस २०७६

आज पुस १२ गते शनिबार काठमाडौँ उपत्यकाबाट प्रकाशित मुख्य दैनिक पत्रिकाले पोखरा र लुम्बिनी रेल आयोजना निर्माणको लागत अनुमानक एवं समसामयिक राजनीतिक तथा सामाजिक विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको विवाद एवं पैदलयात्रीका लागि असुरक्षित बन्दै गएको काठमाडौँ उपत्यकाकाको सडकको विषयले आज प्राथमिकता पाएको छ । 

६ वर्षमा सुरुङ र आकाशे पुल हुँदै रेलमा पोखरा र लुम्बिनी

कान्तिपुरले ‘पोखरा र लुम्बिनी रेललाई ७ खर्ब’ शीर्षकमा मुख्य समाचार लेखेको छ । समाचारमा काठमाडौँ–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको उल्लेख गरिएको छ । त्यसअनुसार काठमाडौँ कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पु¥याइने रेलमार्ग बनाउन गरिक ७ खर्ब रुपैँया लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेखछ । 

चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत मंसिरमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएका थिए । अध्ययनपछि कार्य कसरी अगाडि बढाउने भन्ने विषय भने छलफलकै चरणमा रहेको विभागले जनाएको छ । चीनको रेलवे इन्जिनियरिङ डिजाइन एन्ड कन्सल्टिङ ग्रुपले काठमाडौँ–पोखरा र चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्ुटले कुरिनटार–भरतपुर–लुम्बिनीको अध्ययन गरेका हुन् । रेल विभागका महानिर्देशक बलराम मिश्रले चीन सरकारको खर्चमा पूर्व सम्भाव्यता अध्ययन भएको बताए । 

पोखरा र लुम्बिनीमा लैजाने रेलमार्ग केरुङ हुँदै काठमाडौँ ल्याउने र अर्को रेलमार्गसँग टोखामा जुड्नुपर्ने अध्ययनले देखाएको छ । यसकारण पोखरा र लुम्बिनी जाने रेलमार्गको सुरु विन्दु टोखा हुनेछ । टोखादेखि पोखराको लम्बाइ १६८ दशमलव ३३ किलोमिटर हुनेछ । यो रेलमार्ग निर्माणका लागि ३ खर्ब ९० रुपैयाँ लाग्नेछ । यस मार्गमा १३ वटा स्टेसन हुनेछन् । यस रेलमार्गमा रहने १० वटा सुरुङमार्गको लम्बाई ४९ किलोमिटर रहने अध्ययन देखाएको छ ।

त्यसैगरी कुरिनटार–भरतपुर–लुम्बिनी रेलमार्गको दुरी १५५ दशमलव ६६ किलोमिटर रहने र ३ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो मार्गमा १४ वटा स्टेसन रहने समाचारमा उल्लेख छ । यस खण्डमा सुरुङ र पुलको दुरी १३ किलोमिटर हुनेछ । त्यसमा ४६ पुल र ४ सुरुङमार्ग हुनेछ ।

गुटमै रमाए देउवा

अन्नपूर्ण पोस्टका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अगाडि बढेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिकै पुग्नै लाग्दा देउवा एक्लैले पार्टीका महत्वपूर्ण निर्णय लिएका हुन् । 

देउवाको सो निर्णयप्रति पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नो गुटको आधारमा निर्णय गराएर सभापतिले महाधिवेशन कब्जा गर्न खोज्नुभएको प्रतिक्रिया दिएका छन् भने वरिष्ठ नेता पौडेलले सभापतिले पार्टीलाई संकटतिर धकेलेको आरोप लगाएका छन् । 

कान्तिपुरले ‘एक्लै अघि बढे देउवा’ शीर्षकमा समाचार लेख्दै सिटौला र वरिष्ठ नेता पौडेलको भनाइलाई प्राथमिकता दिएको छ । समाचारमा सिटौलाले भनेका छन– यो निर्णयले गुटका सदस्यको अहंकार बढेको होला तर समग्र पार्टी कमजोर भएको छ । कांग्रेस कमजोर भएको हेर्न चाहनेलाई खुशी बनाएको छ । नयाँ पत्रिकाले कांग्रेसमा देखिएको विवादका विषयमा ‘निर्णय नसच्याए विद्रोह हुने चेतावनी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

गम्भीर अपराध कर्ममा कालाकोटे  

नयाँ पत्रिकाले न्यायका लागि बहस पैरवी गर्ने कानुन व्यवसायी नै पेसागत आचारसंहिता उल्लंघन गर्ने मात्र होइन, मिर्गौला तस्बरीजस्ता गम्भीर अपराधमा समेत मुछिन थालेका छन् । पछिल्लो एक वर्षमा १० अधिवक्ताविरुद्ध भ्रष्टाचार तथा फौजदारी मुद्दा चलेको छ । नैतिक आचरण र पेसागत मर्यादा उल्लंघन गरेको भन्दै ९९ अधिवक्तामाथि बार काउन्सिलले छानबिन गरिरहेको छ । वकालती पेसालाई माध्यम बनाएर अनुचित तरिकाबाट अकुत सम्पत्ति आर्जन गर्ने तथा अपराध कर्ममा लागेको भन्दै उनीहरुविरुद्ध काउन्सिलमा उजुरी परेको थियो । 

समाचारका अनुसार सरकारी जग्गा हाउजिङको नाममा गराउने तीन वकिलविरुद्ध मुद्दा दायर भएको छ भने १० अधिवक्ताको लाइसेन्स रद्ध गरिएको र १० अधिवक्ता विरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको र न्यायाशीश ठग्ने अधिवक्तालाई जेल चलान गरिएको छ । 

बटुवा ठक्कर दिँदै भाग्दै 

नागरिक दैनिकले ‘असुरक्षित पैदलयात्री, ठक्कर दिँदै भाग्दै’ शीर्षकमा आवरण समाचार लेखेको छ । समाचारमा मंसिर ७ गते मर्निङ वाकमा निस्केका सिभिल हस्पिटलका वरिष्ठ चिकित्सक प्रभु जोशीलाई काठमाडौँको वानेश्वरमा बसले ठक्कर दिएको, कात्तिक १२ गते काठमाडौँको तीनकुनेमा जेब्राक्रसबाट सडक पार गरिरहेका टोटेश्वरका सुजन केसीलाई ट्रकले हानेको र यही पुस ८ गते विहान गुर्जुधारा चोकमा ट्रकले चन्द्रागिरिका अर्जुनबहादुर केसीलाई ट्रकले ठक्कर दिएको लगायतका घटना प्रस्तुत गर्दै सडकमा बटुवा असुरक्षित भएको उल्लेख गरिको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप