शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीका संरचना विघटन गरेर नेतृत्वले अपराध गर्‍यो : झलनाथ खनाल

शुक्रबार, ११ पुस २०७६, १९ : ३६
शुक्रबार, ११ पुस २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी एकीकरणको सम्पूर्ण काम नसकिँदै पार्टीका संरचना विघटन गरेर नेतृत्वले अपराध गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा विश्व ट्रेड युनियन महासंघले गरेको कार्यक्रममा बोल्दै नेता खनालले पूर्व नेकपा एमालेको सबै कमिटीहरुको विघटन गरेर नेतृत्वले अपराध गरेको भन्दै आक्रोश पोखेका हुन् ।

उनले माओवादीसँगको एकीकरणलगत्तै पार्टीका सम्पूर्ण संरचना विघटन गरेकाले संगठन विस्तार हुन नसकेको, ८ लाख बढी कार्यकर्ताहरु २० महिनामासम्म चुप लागेर बस्नुपरेको, गतिविधि हुन नसक्दा पार्टीभित्र धमिरा लाग्दै गएको दाबी गरे । उनले भने,  ‘खुसीको क्षणमा हामीले अर्को अपराध गर्यौ पार्टी विघटन गरेर । के जरुरी थियो विघटन गर्नु ? के जरुरी थियो पार्टीका सारा कमिटीहरु विघटन गर्नुपर्ने ? त्यो ब्लन्डर हो । तर त्यो ब्लन्डर भएकाले हामीले २० महिनासम्म चुपचाप बस्नुपर्यो । ८ लाख सदस्यहरु चुपचाप बस्नुपर्ने बाध्यता खडा भयो । क्रियाशील भएको भए पार्टीको क्रियाशीलता रहिरहन्थ्यो । पार्टी भित्र धमिरा लाग्ने थिएन । पार्टीभित्रै हिलो जम्ने थिएन । धुलो जम्ने थिएन । फोहर मैला जम्ने थिएन । निस्क्रियता धुलो मैलो जम्ने प्रक्रियाको अंग हुन्छ ।’

उनले पार्टीले सरकारलाई ठोस निर्देशन दिन नसकेको तर्क गरे । सरकारले पार्टी सञ्चालन गर्ने काम भएमा उल्टो दिशामा अघि बढिने भन्दै उनले ‘टाउकोले पुच्छर हल्लाउनुपर्ने’ भन्दै टिप्पणी गरे । उनले भने, ‘पार्टीले ठोस दिशा दिनुपर्यो । निर्देशन दिनुपर्यो । भिजन दिनुपर्यो । सरकार त्यही ढंगले सञ्चालित हुनुपर्यो । सरकारबाट पार्टी सञ्चालित हुने होइन । पार्टीबाट सरकार सञ्चालित हुनुपर्यो । टाउकोले पूच्छर हल्लाउनुपर्यो । पूच्छरले टाउको होइन । यदि पुच्छरले टाउको हल्लाउन थाल्यो भने हामी उल्टो दिशातर्फ जान्छौ । सरकारले पार्टी सञ्चालन गर्न थाल्यो भने उही उल्टो दिशामा जान्छौ ।’

उनले यथास्थितिबाट माथि उठ्न पनि सरकारलाई सुझाव दिए । उनले यथास्थितिबाट माथि नउठ्ने हो भने शुसासन कायम हुन नसक्ने र जनताले व्यवस्था परिर्वतनको महसुस गर्न नसक्ने तर्क गरे । लोकतन्त्रलाई सम्मुन्नत गर्ने अभिभारा वर्तमान सरकारको काँधमा रहेको भन्दै उनले रुपान्तरणलाई आत्मसात गर्दै व्यवहारमा परिर्वतन ल्याउनु आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप