बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

कानून र कार्यविधि स्पस्ट नभए विकास सम्भव छैन: प्रधानन्यायाधीश जबरा

शुक्रबार, ११ पुस २०७६, १९ : २७
शुक्रबार, ११ पुस २०७६

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले कानून र कार्यविधि स्पस्ट नभए विकास सम्भव नभएको बताएका छन् । नेपाल बार एशोसिएशनले आयोजना गरेको ‘कानून र विकास सम्मेलन’ लाई शुक्रबार सम्बोधन गर्दै प्रधानन्यायाधीश जबराले कानूनले विकासको लागि उपयुक्त वातावरण निर्माण र सहजीकरण गर्ने भएकाले कानून र कार्यविधि स्पस्ट हुनुपर्ने बताएका हुन् ।

उनले कानून र विकासको उचित सम्बन्ध र सन्तुलन स्थापित गर्न सरकारका सबै निकायहरुले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । उनले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहले विकास र आर्थिक समृद्धिका लागि आवस्यक नीतिगत तथा कानूनी संरचना र कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कानून कुनैपनि मुलुकको राजनीतिक, आर्थिक सामाजिक विकासको आधार भएको बताए । उनले परम्परागत रुपमा कानूनलाई विकास र समृद्धिको आधारको रुपमा लिएपनि पछिल्लो समय विकास र समृद्धिको आधारको रुपमा लिइने गरेको बताए । नेपालको संविधानले पनि विकासकालाई संस्थागत प्रबन्ध गरेकाले सबै तहका सरकारहरुले स्रोत साधानको अधिकतम उपयोग गरी विकासका कार्यहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून, विकास, न्यायालय र राजनीति सँगसँगै जान नसके विकास सम्भव नभएको बताए । उनले राजनीतिकर्मीहरुले आफ्नो अनुकूलको विकास मात्र गर्न खोजे सम्भव नभएको बताए ।

सम्मेलनमा विकास र कानूनबीचको अन्तरसम्बन्धको खोजि गरिने बताइएको छ । सम्मेलन शनिबारसम्म चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप