कृषिलाई मुख्य आधार नमान्दा नेपालले १० देखि १५ प्रतिशत घाटा ब्यहोर्दै
वि.सं २०४७ सालसम्म नेपाल अन्य देशका लागि कृषिउपज निर्यात गर्ने देशको लिस्टमा थियो । ०४७ पछि नै नेपाल कृषिउपज आयात गर्ने देशमा पर्न थाल्यो । नेपाल कृषिको क्षेत्रमा अन्य देशको तुलनामा निकै सम्भावना रहेको देश हो । भौगोलिक आधार पनि मिलेको हुँदा कृषिमा ठाउँ अनुसार उत्पादन व्यवसाय गर्न सकिन्छ ।
तर विडम्बना के छ भने कृषि विषयलाई प्राथमिकताको साथ हेर्नेको सङ्ख्या निकै कम छ । अन्य विषयमा अध्ययन गरेर उच्च शिक्षा हासिलका लागि विदेशिन तयार छन् । बाहिर जना नसकेको खण्डमा बेरोजगार नै बस्नु नै किन नपरोस् तर कृषिमा चासो दिने कम छन् ।
नागरिकले मात्रै होइन, कृषि विषयमा नेपालका सरकारी निकायले खुलेर योजनाहरु अगाडि सार्न सकेको छैनन् भन्दा फरक पर्दैन । पछिल्लो समय आधुनिक कृषि व्यवसायमा लाग्ने व्यवसायीहरु पनि भेटिन थालेका छन् । यस्तै नेपाल सरकारले पनि कृषिको विषयमा अध्ययनका लागि कृषि शिक्षा नीति वि.सं २०७० सालबाट लागू गरिएको छ ।
०७० बाट सुरु गरेको सरकारको यो निर्देशिकाले काम भने वि.सं २०७१ बाट सुरु गरेको हो । अहिलेसम्म पनि कृषिको विषय अध्ययन गराउने विद्यालयको सङ्ख्या निकै कम रहेको छ । अन्य विषयको विद्यालयमा भन्दा कृषिको विद्यालयमा आउनुपूर्व धेरै सोचेर आउने गरेका छन् ।
कृषि विद्यालयका प्र.अ.
बालकृष्ण न्यौपाने सिन्धुपाल्चोकको चौतारासागा चौगढी नगरपालिका वडा नम्बर ४ सेतीदेवी माविका प्रधानाध्यापक हुन् । उनले नेपाल सरकारले कृषि शिक्षा नीति लागू गरेदेखि नै सेतीदेवीमा कृषि विषय अध्ययन गराउन थालेका हुन् । पहिलो वर्ष अविभावकलाई सम्झाउन बालकृष्णलाई निकै समय लाग्यो । कृषि विषय भनेपछि अविभावक अनकनिन्थे । हेरौँ सोच्नुपर्छ भन्ने गरेको उनी बताउँछन् ।
राम्रो र भरपर्दाे त कृषि विषय नै हो तर यही क्षेत्रलाई सबैले हेपाह प्रकृत्तिका रुपमा हेर्न थाले । त्यहाँका अविभावक बल्ल छोराछोरीलाई कृषि विषयमा अध्ययन गराउने निधोमा पुगे । कारण कृषि विषय अध्ययनपछि अन्य विषयमा पनि पढ्न पाइन्छ नै । अहिले उनको विद्यालयमा १२० जना विद्यार्थीले कृषि विषयमा अध्ययन गरिरहेका छन् । कृषि अध्ययनका लागि एक जना विद्यार्थी बरारब एक कठ्ठा जमिनको आवश्यकता पर्छ । शिक्षक, आवश्यक पर्ने समान सबै कुराको व्यवस्था सरकारले गरिदिएको छ । प्र.अ. बालकृष्ण भने कृषिको विषयमा अध्ययन गर्ने विद्यार्थीको परीक्षाफल प्रकाशित गर्दा अन्य शिक्षाको जस्तै छिटो भइदिए हुन्थ्यो भन्छन् । परीक्षाफल ढिला आउँदा विद्यार्थीहरु बीचको समय खाली बस्नुपर्दा कृषि विषय अध्ययन गरेकोमा खिन्न महशुस गर्छन् ।
कृषि विषय अध्ययन गर्ने विद्यालयलाई सरकारले उपलब्ध गराएको सेवा सुविधा
वि.सं २०७१ मा ३९, ०७२/०७३ मा ३९ र ०७३/०७४ को अहिलेसम्म १४ सरकारी र दुई निजी विद्यालयले बालीविज्ञान कृषि शिक्षाको विषयमा अध्ययन गराइरहेको छ ।
यस्तै वि.सं २०७०/०७१ मा १३, ०७२/०७३ मा १४ र ०७३/०७४ को अहिलेसम्म १ सरकारी र १ निजी विद्यालयले पशु विज्ञानको विषयमा अध्ययन गराइरहेको शिक्षा विभागले जनाएको छ । भूगोलअनुसार कृषिको विषयमा अध्ययन गराइदै आइरहेको विभागको भनाइ रहेको छ । कृषि विषय अध्ययनका लागि सरकारले सहिद परिवार, पिछडिएको क्षेत्र, गरिब परिवारलगायत प्रकार अनुसारको छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
हेपाहा प्रकृतिमा हेरिन्छ कृषि पेसालाई
नेपाल होस या अन्य जुनसुकै देश किन नहोस् सुरक्षित अनि मर्यादित पेसामा बढी मात्रमा नागरिकको सहभागिता पाइन्छ । तर कृषि पेसामा लागेपछि भविष्य राम्रो छ, समाजबाट सम्मान पाउँछु, समयअनुसार खर्च जुटाउन सक्छु भन्ने मानसिकता नागरिकमा हुनुपर्ने हो । कृषि पेसाबाट पाइन्न भन्ने सोचमा छन् । शिक्षाविभाग प्राविधिक शाखाका राजन पाण्डे भन्छन्, केही पनि गर्न नसकेको मान्छेले कृषि पेसा गर्ने भन्ने नागरिकमा सोच रहेको थियो । युवाले कृषि पेसाप्रति चासो नदिनुको मुख्य कारण उनले यसरी बताए । पढेलेखेको छैन्, हलो जोतेर खान्छन् भन्ने कुराले गर्दा कृषिप्रति युवाहरुको वितृष्णा जागेको हो । हलो जोतेर खान्छ भन्नुको मतलब कतै नबिक्ने, स्किललेस, बोल्न नसक्ने मान्छेले कृषि पेसा गर्ने हो भन्ने चलन रहेको छ । यस्तै कृषि पेसालाई व्यावसायीकरण, औद्योगिक करण, मर्यादित अनि बजार व्यवस्थापन गर्न सकेको खण्डमा कृषि पेसा राम्रो हुने पनि उनको भनाइ रहेको छ ।
कृषि पेसामा नागरिकको चासो
कुनै पनि कुराको विकल्प होला तर कृषि पेसामा कुनै भने विकल्प छैन । कृषि पेसा भनेको कहिले पनि स्कोप नमेटिने क्षेत्र हो । जो नागरिकको अनिवार्य आवश्यकताभित्र पर्छ । कृषि पेसालाई बिर्सेर कुनै पनि देश अगाडि बढ्न नसक्ने भएकाले बल्ल नागरिकले कृषिको महत्व बुझ्न थालेका छन् । पछिल्लो समय सरकारले पनि यो विषयलाई महत्वपूर्ण रुपमा हेर्दै आइरहेको छ ।
कृषिले १० देखि ११५ प्रतिशत घाटामा
नेपालको व्यापार घाटाको १० देखि १५ प्रतिशत घाटा कृषिजन्य सामानबाट नै हुनेगर्छ । कृषिजन्य उपजलाई आयात गर्नु नपरेको खण्डमा नेपालले घाटा ब्यहोर्नु पर्दैन थियो । यो घाटाको प्रतिशत अझै दिन प्रतिदिन बढ्दै गइरहेको छ । हिमाल, पाहाड र तराईमा कुन समयमा कुन कृषिउपज लगाउँदा राम्रो हुन्छ भन्ने विषयमा अध्ययन र अनुसन्धान गरेर विद्यार्थी अथाव व्यवसायीलाई क्रियाशील बनाउने हो भने नेपालले घाटा ब्यहोर्नु नपर्ने देखिन्छ । त्यही तरिकाको शिक्षा प्रणाली पनि हुन जरुरी रहेको छ ।