बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको ‘किचलो’ र शिवमायाको ‘जब्बर’ अडान !

शिवमायाले राजीनामा दिने कि नेकपाले निर्णय फेर्ने ?
शुक्रबार, ११ पुस २०७६, १७ : ०९
शुक्रबार, ११ पुस २०७६

काठमाडौँ । सत्तारुढ दल (नेकपा)भित्रको आन्तरिक ‘किचलो’ र उपसभामुख शिवमाया तुम्बाहाङ्फेको ‘जब्बर’ अडानका कारण प्रतिनिधिसभा सभामुखविहीन बनेको तीन महिना बित्न लागेको छ ।

शुक्रबारका लागि बोलाइएको संसद बैठकमा सभामुख चयन प्रक्रिया अगाडि बढाउने तयारी भएपनि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले राजीनामा नगरेपछि सूचना टाँसेर ५ दिनको लागि स्थगित गरिएको छ ।

जसका कारण जनप्रतिनिधिहरुको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय संसद् नै लामो समय बन्धक जस्तै बन्न पुगेको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै एक महिला कर्मचारीमाथि दुव्र्यवहार प्रयासमा मुछिएपछि गत असोज १४ यता प्रतिनिधिसभा नेतृत्वविहिन छ ।

जतिबेला संसद नबसेको अवस्था थियो । जब पुस ४ गतेबाट संसद बैठक सुरु भयो, तब सभामुख चयनको विषय पहिलो प्राथमिकतामा पर्न गयो । 

यो बीचमा उपसभामुख शिवमायालाई राजीनामा गर्न लगाउने र सभामुख÷उपसभामुख दुवैको निर्वाचन गर्ने तयारी भएको थियो । उक्त तयारी अनुसार सभामुख पद सत्तारुढ दल नेकपाले लिने र उपसभामुख अन्य दललाई दिने आन्तरिक सहमति समेत भएको थियो ।

नेकापाका नेता तथा प्रमुख सचेतक देव गुरुङका अनुसार सोही अनुरुप पुस ४ गते ११ पुसमा बस्ने गरी संसद बैठक स्थगित गरिएको हो ।

यसबीचमा उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गर्ने र सभामुख तथा उपसभामुख दुवै पदमा निर्वाचन गर्ने संसद सचिवालयले आफ्नो तयारी अगाडि बढाएको थियो । त्यसैअनुसार पुस ११ गतेका लागि बोलाइएको बैठकमा सम्भावित पहिलो कार्यसूची नै सभामुख चयन प्रक्रियालाई बनाइएको थियो ।

तर, नेकपा र संसद सचिवालयको योजना विपरित उपसभामुख तुम्वाहाङ्फेले राजीनामा नदिएपछि पुन ५ दिनपछि संसद बैठक बस्ने गरी स्थगित गरियो ।

‘शुक्रबारसम्म उपसभामुखको राजीनामा आउने अपेक्षा गरिएको थियो तर आएन । राजीनामा नआउँदा सभामुख तथा उपसभामुखको निर्वाचन कार्यक्रम अघि बढाउन संसद सचिवालयलाई अप्ठ्यारो भयो’, संसद सचिवालय स्रोतले भन्यो, ‘उहाँको राजीनामा आएपछि ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने र निर्वाचन प्रक्रियामा जाने तयारी अवरुद्ध हुन पुग्यो । जसले बैठक नै स्थगित गर्नुपर्यो ।’

शुक्रबार बिहानसम्म राजीनामा दिने ‘मुड’ बनाएकी उपसभामुख तुम्बाहाङ्फेले पार्टीको निर्णय नआएको भन्दै आफ्नो पूर्ववत निर्णय परिवर्तन गर्नुपरेको उनी निकट स्रोतले जनाएको छ । तुम्वाहाङ्फेले आफू नै सभामुखका लागि सक्षम र उपयुक्त पात्र  दाबी गर्दै आएकी छन् ।

उनले भन्ने गरेकी छन्, ‘कृष्णबहादुर महराले गल्ती गर्ने किन म त्यसको भागीदार बन्नुपर्ने ? कि मलाई सभामुखका लागि यो कारणले असक्षम भनिदिनुपर्यो ।’ ‘सभामुख चयनमा म बाधक छैन । राजीनामा दिन तयार भएर बसेको छु । आजको बैठक स्थगनमा मेरो राजीनामा कारक होइन,’ उपसभामुखले रातोपाटीसँगको कुराकानीमा भनिन् । 

तर, उनको दावीलाई नेकपाको शीर्ष नेतृत्वले स्वीकार गर्न सकेका छैनन् । सभामुखका लागि असक्षम भनेर कुनै कारण समेत प्रस्तुत गर्न सकेको छैनन् ।

खासगरी प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली शिवमायालाई सभामुख बनाउनुको साटो पूर्व संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई र अर्का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्नि सापकोटालाई सभामुख बनाउन चाहान्छन् । त्यसका लागि प्रधानमन्त्री ओली र प्रचण्डले तुम्वाहाङ्फेलाई राजीनामा गरेर सहज वाताबरण बनाउन आग्रह गरिसकेका छन् ।

तर, उनले त्यसको विकल्पमा कि आफूलाई नै सभामुखको उम्मेदवार बनाउनुपर्ने कि उपयुक्त स्थानमा व्यवस्थापन गर्नुपर्ने आशय व्यक्त गर्दै आएकी छन् ।

उपसभामुख तुम्बाहाङ्फेलाई नै सभामुख बनाउँदा राम्रो सन्देश जाने भन्दै राष्ट्रपति विद्या भण्डारीले नेताहरुलाई सन्देश पठाइसकेकी छन् । राष्ट्रपतिको समेत यस्तो ‘सिग्नल’ पाएपछि राजीनामा दिने तयारीमा रहेकी तुम्बाहाङ्फले एकाएक आफ्नो निर्णय नै परिवर्तन गरेको बताइन्छ ।

‘शिवमायाको आशयमा नेकपाका शीर्ष नेतृत्वले कुनै भरपर्दो सङ्केत दिन सकेको छैनन् । ‘राजीनामा दिन मात्र भनिएको छ । त्यसपछि के भन्ने निश्चित छैन । अनि कसरी दिने ?’ तुम्वाहाङफे निकट स्रोतले भन्यो । 

उता, उपसभामुख तुम्बाहाङ्फेलाई नै सभामुख बनाउँदा राम्रो सन्देश जाने भन्दै राष्ट्रपति विद्या भण्डारीले नेताहरुलाई सन्देश पठाइसकेकी छन् । राष्ट्रपतिको समेत यस्तो ‘सिग्नल’ पाएपछि राजीनामा दिने तयारीमा रहेकी तुम्बाहाङ्फले एकाएक आफ्नो निर्णय नै परिवर्तन गरेको बताइन्छ ।

पार्टीको ह्वीप पनि नलाग्ने

सभामुख चयन प्रक्रिया लम्बिँदै गएपछि थप जटिल पनि बन्दै गएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको सत्ता समीकरण अनुसार एमालेका तर्फबाट उपसभामुख बनेकी थिइन शिवमाया ।

तर, अहिले दुवै पार्टी एकता गरेर नेकपा भैसकेको छ । सभामुख र उपसभामुख कुनैपनि पार्टीको नहुने भएकाले उनलाई पार्टीको ह्वीप लगाउन पनि मिल्दैन । जसका कारण उनले अनेक बहाना देखाएर समय लम्ब्याउन सक्नेछिन् ।

यस्तो अवस्थामा उपाय के त ?

नेकपाका नेताहरुकाअनुसार अबको विकल्प भनेको नै कि उपसभामुख शिवमायाले राजीनामा गर्ने कि त नेकपाले निर्णय परिवर्तन गर्ने हो ।

शिवमायाले राजीनामा नगर्दा सभामुखको मात्रै निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसो गर्दा उपसभामुख शिवमाया नै भएर सभामुख अरु दललाई दिनुपर्ने हुन्छ । तर यो विकल्पमा नेताहरु जान तयार छैनन् ।

किनभने संसदको ठूलो दल नेकपाले सभामुख अरु दललाई दिन चाहेको छैन । त्यसमा पनि शीर्ष नेता अनुकुलको व्यक्ति नै सभामुखमा ल्याउनुपर्ने अडानमा नेताहरु छन् ।

महाअभियोगको सम्भावना कति ?

नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ

संसदमा नेकपाको स्पस्ट बहुमत छ । यस्तो बेलामा नेकपाले शिवमायालाई हटाउनै चाहे महाअभियोग लगाएर पनि हटाउन सक्छ । त्यसका लागि कुनै अभियोग लगाउनुपर्ने हुन्छ ।

तर, कार्यक्षमता अभाव देखाएर महाअभियोग लगाउन पनि नेकपालाई सजिलो छैन । यसअघि कार्यक्षमता सन्तोषजनक देखेको नेकपाले अहिले कार्यक्षमता कमजोर भनेर पुष्टि गर्न सक्ने आधार पनि छैन ।

यद्यपी, त्यो विकल्प नेकपाले सोचिनसकेको बताएको छ । नेकपाका नेता तथा प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ ‘ती कुनैपनि विकल्पमा जानु नपर्ने भन्दै शिवमायाले एकसय एक प्रतिशत राजीनामा दिने’ दावी गर्छन् ।

प्रवक्ता श्रेष्ठ भन्छन्, ‘उहाँ (उपसभामुख) ले एकसय एक प्रतिशत राजीनामा दिनुहुन्छ । अरु कुनै विकल्प र निर्णय गरिरहनुपर्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप