शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्ष: उपर्दाङगढी र चेपाङ जीवन शैली हेर्न जाऔं

शुक्रबार, ११ पुस २०७६, १६ : ०८
शुक्रबार, ११ पुस २०७६

मुग्लिन । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन चितवनको इच्छाकामना  गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको छ । पर्यटकीय दृष्टिले प्रचूर सम्भावना बोकेको धार्मिक सांस्कृतिक तथा प्राकृतिक सम्पदा भए पनि प्रचारप्रसारको अभाव रहेको छ । 
  
समितिमा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार पर्यटन व्यवसायी, लगायतलाई समेटिएको उनले जानकारी दिए । भ्रमण वर्षलाई सफल बनाउन यहाँका पहिचान भएका पर्यटकीयस्थलको प्रचारप्रसार तथा नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्ने विषयमा समेत छलफल गरिएको छ । 

इच्छाकामनामा चितवन जिल्लाकै अग्लो भूमि सिराइचुली, जिल्लाको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङगढी, ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर, बालगौरी मन्दिर, लामो झरना त्रिशूलीमा ¥याफ्टिङ, काउलेमा चेपाङ बस्ती, याकराङमा गुरुङ बस्तीलगायत महत्वपूर्ण पर्यकटीयस्थल छन् । 
 
गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलसम्म पुग्नका लागि सडक तथा गोरेटो बाटोलाई स्तरोन्नति कार्यलाई तीव्र गतिमा अघि बढाइएको जनाइएको छ । साथै जनजाति बस्तीमा घरबास (होमस्टे) सञ्चालनका लागि गाउँपालिकाले आर्थिक सहयोग गरिरहेका छन् । 
 
साविकको दारेचोक, चण्डिभञ्ज्याङ, काउले र दाहाखानी गाउँ विकास समिति मिलेर बनेको इच्छाकामना गाउँपालिकामा पाँच हजार बढी घरधुरी छन् । पछिल्लो जनगणनाअनुसार २५ हजार जनसङ्ख्या छ ।  नौ हजारभन्दा बढी चेपाङ समुदाय रहेका छन् । यहाँ आउने पर्यटकका लागि चेपाङ समुदायको जीवनशैली अध्ययन गर्ने अवसर मिल्नेछ जसले फरक अनुभूति दिलाउनेछन् ।

गोरखाको शहीद लखन गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जानका लागि सञ्चालन गरिएको मनकामना केबलकारको प्रवेशद्वार बटम स्टेशन पनि इच्छाकामना गाउँपालिकामा नै पर्दछ । मनकामना मन्दिर जाने पर्यटकलाई मनकामना माताको दिदीबहिनीमध्ये एक मानिने इच्छाकामना मन्दिरसम्म आउन प्रेरित गरिने अध्यक्ष गुरुङले बताए । केबलकार चढेर दैनिक तीन हजार ५०० को हाराहारीमा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् । 
  
प्रचारप्रसारका लागि पछिल्लो समय गाउँपालिकाले भिजिट इच्छाकामना अभियानसमेत सञ्चालन गरेको छ । जिल्लाका अन्य स्थानीय तह प्रायः समथर भू–भाग पर्छन् । आम मानिसले चितवन भन्नेबित्तिकै समथर भू–भाग भन्ने बुझ्छन् । तर इच्छाकामना पहाडी भूगोल भएको  गाउँपालिका हो । पहाडी भूगोल भए पनि निकै सुन्दर यहाँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गएको छ । 
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप