शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस विवादको निवारण : चुनाव हार्नेलाई पार्टीबाट ‘टाटा–बाईबाई’ गरौँ !

शुक्रबार, ११ पुस २०७६, १२ : ०७
शुक्रबार, ११ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेसभित्र प्रतिशतको भागबण्डामा कुरा नमिल्दा निर्णयहिनताले प्रसय पाएको छ । जसको पहिलो भागेदार सभापति शेरबहादुर देउवा र दोस्रो भागेदार वरिष्ठ नेता रामचन्द्र पौडेल नै हुन् । ०७२ फागुनमा पार्टी सभापतिमा निर्वाचित भएका देउवाले पार्टी विधान अनुसार विभाग र समितिहरू दुई महिनामै गठन गरिसक्नु पर्ने व्यवस्था थियो । उनी त्यो काममा चुके ।

यता विषम परिस्थिति देखाउँदै गएको आम चुनावको मुखमा देउवाले विधानविपरीत कार्यसम्पादन समिति र संसदीय बोर्ड गठन गरेका थिए । सो समयमा साक्षी बसेका पौडेलले पछि त्यसलाई भङ्ग गर्ने दबाब दिए । देउवाले पनि भङ्ग गरी दिए । त्यसपछि भने देउवाले पार्टी पदाधिकारी मनोयन गर्दा पौडेललाई बाइपास गरेर अघि बढे ।

देउवाले निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पौडेल पक्षकै सहमतिमा गठन गरेका थिए ।

त्यसपछि कार्यसम्पादन र संसदीय समिति गठनका लागि देउवाले प्रयास थालेका थिए । तर, प्रतिशतमा भागबण्डा नमिल्दा निर्णय लिन सकेनन् । यतिबेला महाधिवेशनको कार्यतालिका, विभाग र भ्रातृसंस्था गठनको विषयमा उत्पन्न कलहले केन्द्रीय समिति बैठकसमेत प्रभावित हुँदै आएको छ । मंसिर २६ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक संस्थापन इतर पक्षको बहिस्कारका बीच दुई पटक बसे पनि ४ पटक स्थगित भइसकेको छ । सहमति प्रयास जारी रहेको भन्दै बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार सोही समसका लागि सारिएको छ ।

कार्यसमितिको पहिलो बैठकमा देउवाले विभाग, नेविसंघ र तरुण दल गठनलगायत एजेन्डा प्रस्तुत गरेका थिए । राष्ट्रिय मुद्दामा भारतको अतिक्रमणमा परेको कालापानी र लिम्पियाधुराबारे छलफल गर्ने कार्यसूची छ । तर, सभापति देउवा नेतृत्वको कार्यसमितिको म्याद सकिन लाग्दा पनि महाधिवेशनको कार्यतालिका नल्याएको भन्दै पौडेल पक्षले बैठक बहिष्कारको गर्दै आएको छ ।

महाधिवेशनको कार्यतालिकासहित विभाग र पार्टीका भ्रातृसंस्थाको विषयमा सहमति गरेर बैठकको सहज सञ्चालनका लागि काँग्रेसमा वार्ता टोली बनाएर दुई सातादेखि निरन्तर छलफल हुँदै आएको छ ।

उक्त विषयमा प्याकेजमा सहमति जुटाउन देउवा पक्षले उसभापति विमलेन्द्र निधि र पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय हृदयराम थानी र दिलेन्द्र बडू सदस्य रहेको वार्ता टोली बनाएको छ । दुई सातासम्म पनि सहमतिको मिलन विन्दुमा पुग्न नसकेपछि गत सोमबारदेखि उक्त वार्ता टोलीबीच संवाद हुन छोडेको थियो । हिजो (विहीबार) वार्ता टोली छलफलमा बसे पनि सहमति हुन सकेन ।

काँग्रेसमा एक वर्ष अघिदेखि नै महाधिवेशनको जोडघटाउ हुन थालेपछि सहमतिको वातावरण टाढिएको देखिन्छ । नेताहरुले महाधिवेशनलाई केन्द्रमा राखेरअघि बढ्न खोज्दा विवाद ट्रयाक बाहिर पुगेको वार्ता टोलीका सदस्य नै स्वीकार गर्छन् ।

त्यही भएर महाधिवेशनमा शक्तिसञ्चय र परिचालनको प्रमुख मानिने नेविसंघ र तरुण दलमा कसले कति पदाधिकारी र सदस्य लिने भन्नेमा विवाद केन्द्रित छ । नेविसंघ तदर्थ समिति बनाउँदा पौडेल पक्षले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्षसहित १ सय १ सदस्यीय कार्यसमिति गठन गर्न माग गरेको छ ।

अध्यक्षसहित बहुमत सदस्य सभापतिलाई, महामन्त्रीसहित ४० प्रतिशत हिस्सा आफूहरूलाई, अन्य पदाधिकारीमध्ये उपाध्यक्ष सिटौला र कोषाध्यक्ष उपसभापति विजयकुमार गच्छदार पक्षलाई भागबन्डा गर्ने पौडेल पक्षको प्रस्ताव छ । तर सभापति देउवाले भने अध्यक्ष र चार महामन्त्रीसहित १ सय १ सदस्यीय कार्यसमितिको अडान राख्दै आएका छन् ।

नेविसंघको भागबन्डामा अहिलेसम्म दुवै पक्ष टसमस नभएपछि सिटौला पक्षले विधानमा टेकेर छलफलअघि बढाउन दबाब बढाएको छ । यता एक वर्षअघि पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले ३२ वर्ष उमेरहद कायम गर्दै नेविसंघको विधान पारित गरेको छ ।

काँग्रेसभित्रको कलहलाई राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने भागबण्डाको राजनीतिलाई संस्थागत गर्ने मानसिकता उपजका रुपमा अथ्र्याउँछन् ।

चुनाव हार्नेलाई पार्टीबाट टाटा–बाईबाई

‘काँग्रेसमा यसै गरी झगडा गरेर १४ औँ महाधिवेशनमा जाने, फेरि पनि भागबण्डाको राजनीतिलाई संस्थागत गर्ने मानसिकता हावी भएको देखिन्छ,’ उनले भने, ‘विगतदेखि आजसम्म पार्टी जसरी चलिरहेको छ, पार्टीलाई सञ्चालन गर्ने तरिकामा नै समस्या देख्छु ।’

काँग्रेसमा कलह कम गर्न काँग्रेस पार्टीमा वैधानिक रुपमा एउटा अध्यक्ष र अर्को कार्यकरणी अध्यक्ष विधानत व्यवस्था गर्नुपर्ने आचार्यको बुझाइ छ ।

‘जो महाधिवेशमा जितेर आउँछ, उसलाई सबै जिम्मेवारी सुम्पिदिने र महाधिवेशनमा हार्नेले पार्टीबाट रिटायर लिने व्यवस्था १४ औँ महाधिवेशनले गर्नुपर्छ,’ उनले भने, ‘यो गरियो भने काँग्रेसभित्रको विवाद समाप्त हुन्छ । होइन भने हारेकाले भागबण्डा खोज्ने गर्दा पार्टी अनिर्णयको बन्दी हुन्छ । अब आउने नेतृत्वले पनि शेरबहादुरको नियति भोग्नुपर्छ । नभए यसको उपाय छैन ।’

महाधिवेशन पराजित भएहरुले पार्टीमा कब्जा जमाउन खोज्नु समस्या मुख्य जड भएको आचार्य दाबी गर्छन् ।

‘चुनाव हरेकालाई पार्टीबाट टाटा बाईबाई गरिदिए हुन्छ । चुनाव पनि हार्ने अनि पार्टीमा अंश पनि खोजेर पार्टी कब्जाको नियत राख्दाको परिणाम हो यो,’ उनले भने, ‘मेरो विचारमा हारेकालाई पार्टीको साङ्गठनिक भूमिका केही पनि दिनुहुँदैन ।’

विगतमा गिरिजाप्रसाद र किसुनजीले एकले अर्कालाई दबाब दिए पनि पार्टीको साङ्गठनिक निर्णयमा बाधा हुने काम नगरेको उनले स्मरण गराए । आचार्यले भने, ‘उहाँहरुले जुन खालको सहमतिको राजनीति गर्नुभयो । त्यसबाट पाठ सिक्नुपर्छ ।’

काँग्रेस गुटबन्दीवादीको संस्था बनेको उनको जिकिर छ । उनका अनुसार त्यही गुटको व्यवस्थापन गर्ने नेताहरु मरिहत्ते गरिरहेका छन् । ‘गुटको व्यस्थापन पनि प्रतिशतमै देखिएको छ । कि यसलाई स्वीकार्नु प¥यो कि, यसलाई समाप्त गर्नु प-यो होइन भने सहमतिको बाटो खोज्नुप-यो । सहमति गर्ने कसरी भन्ने कुराको अब १४ औँ महाधिवेशनले बाटो देखाउने तिर लाग्नुपर्छ,’ उनले भने । 

यता गतवर्ष मंसिर–पुसमा सम्पन्न महासमिति बैठकबाट निर्मित काँग्रेसको नयाँ विधानले पनि सभापति र महामन्त्रीको उम्मेद्वारमा पराजितलाई मनोनित गरेर केन्द्रीय कार्य समितिमा ल्याउने अहिलेको परिपाटीको प्रक्रिया बन्द गरिदिएको छ ।

वार्ता टोलीका कारण विवाद बढ्यो

काँग्रेस विवादले निकास नपाउनुको कारण उनी वार्ता टोलीलाई देख्छन् । उनले भने, ‘समस्या नेताहरुमा छैन । यो वार्ता टोलीमा समस्या छ । वार्ता टोलीले गर्दा भागबण्डा नमिलेको हो । वार्ता टोलीमा बस्ने जति पनि हुनुहुन्छ ती आफ्नो स्वार्थ पूरा गर्ने बसेको देखियो । उनीहरुले नेताहरुलाई मिल्न दिँदैनन् ।’ आचार्यका अनुसार काँग्रेसमा सबैभन्दा ठूलो समस्या प्रभावशाली केन्द्रीय सदस्य, वार्ता टोली भन्नेहरुबाट उत्पन्न भएको छ ।

‘विगतमा गिरिजाप्रसाद र किसुनजीबीचको झगडाको कारक पनि यी कथाकथित वार्ता टोली थिए,’ उनले स्मरण गर्दै भने, ‘आज देउवा र पौडलबीचको झगडाको कारक पनि यी नै कथा–कथित वार्ता टोली नै हुन् ।’ अब वार्ता टोली भन्दामाथि उठेर देउवा र  पौडेलले बसेर निर्णय लिनुपर्नेमा उनी जोड दिन्छन् ।

यता काँग्रैसका युवा पुस्ताका नेताहरुमा पार्टीमा देखिएको विवाद समाधान गर्ने र नेताहरुलाई दबाब दिने हैसियत नदेखिएको पनि आचार्यले बताए । ‘उनीहरुमा दबाब दिने र नेतत्व लिने हैसियत नदेखिँदा काँग्रेसमा कलहले स्थान पाएको छ,’ उनले भने, ‘उनीहरुले त यी दुई नेतालाई लडाएर आफ्नो स्वार्थ पूरा गर्ने काम मात्र गरिरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप